काठमाडौं- लडाइँ भन्नेबित्तिकै हरेकका आँखामा सिपाहीको तस्विर नाँच्छ। आँखामा तस्बिर त उसले निसाना साँधिरहेको हतियारको पनि आउँछ तर एकैछिनमा त्यो छायाँमा पर्छ। त्यो हतियारको बन्दोबस्त गर्ने बारे सोधखोज त झन् गर्दैगर्दैन।
कोभिड–१९ विरुद्धको लडाइँमा हतियार बन्दोबस्ति महत्वपूर्ण प्रश्न थियो। जसको अभावमा सिपाही (उपचारकर्र्मी)को डेग चल्न सक्ने अवस्था थिएन। त्यस्तो समयमा सिपाहीका लागि लड्नका लागि बन्दोबस्तिका सामान जुटाउने मात्रै होइन, जित्ने आँट दिलाउने व्यक्ति हुन् जनस्वास्थ्यकर्मी दिनेश चापागाईं। उनै चापागाईंलाई यस वर्षको जनस्वास्थ्यकर्मी तर्फ स्वास्थ्यखबर युनाइटेड इमेजिङ हेल्थ अवार्ड प्रदान गरिएको छ।
००
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर काम गरिरहेका उनको निर्दिष्ट जिम्मेवारी स्वास्थ्य सामाग्री व्यवस्थापन तथा वितरण थियो। उनको विशेषज्ञता भने जनस्वास्थ्य हो। जिम्मेवारी निर्वाह गर्नुका साथै विशेषज्ञताको समेत उनले कोभिडकालमा खूब उपयोग गरे।
सामाग्री व्यवस्थापन गर्ने समय आउनुअघि नै उनी र उनको समूह जनचेतनाका लागि समुदायस्तरमा पुगिसकेको थियो। उनी भन्छन्, ‘कोरोना भाइरसका बारेमा धेरै जानककारी थिएन। चीनको अनुभव र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाइडलाइनल अनुसार हामीले पहिचान, जनचेतना र रोकथामको पाटोमा काम गर्न थालिसकेका थियौं।’
जनस्वास्थ्य पढेका कारण महामारीको आसन्न संकटको सामान्य पूर्वज्ञान उनलाई थियो। संस्थागत र व्यक्तिगत तयारीमा उनी सुरुदेखि नै सक्रिय भए। त्यसैगरी आफूले जानेका कुरा बताउँदै गाउँगाउँ पुगे। रोक्नका लागि आफूले बन्दोबस्त गर्न सक्ने मास्क र सेनिटाइजर उनले स्वास्थ्य संस्थादेखि स्थानीय बासिन्दाहरुसम्म लैजाने काम गरे।
वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईँ सम्झिन्छन्, ‘प्रदेशमा जनचेतना अभियान अगाडि बढाएका थियौँ। त्यसपछि नेपालमा सङ्क्रमितहरू देखिन थाले।’
लुम्बिनी प्रदेशमा पहिलो कोरोना संक्रमित रुपन्देहीको मर्चवारबाट ल्याइएका युवक थिए कृष्ण पासी। जो क्वारेन्टाइनमा नाचेको भिडियोका कारण चर्चित भएका थिए। पछि अरु संक्रमितलाई पनि उनले नँचाएर हिम्मत बढाए।
संक्रमितहरु देखिन थालेपछि त्रास त बढेकै थियो। त्रासलाई सचेतनामा बदल्न कोशिस गर्नुका साथै अर्को प्रश्न सँगै आयो, उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित राख्ने?
रोग नयाँ थियो। त्यसविरुद्ध लड्नका लागि आवश्यक सामाग्री उत्पादन गर्ने संयन्त्र विश्वमै कमजोर थियो। बजारमा मास्क समेत सजिलै पाउन नसक्ने अवस्था थियो। बलिया देशहरुबीच नै मास्क, पीपीई र सेनिटाइजरका लागि हानथाप थियो। त्यस्तो बेला नेपालले सिमित सामाग्री पाउँथ्यो। प्रदेशलाई झन् चुनौतिपूर्ण थियो। त्यस्तो अवस्थामा प्रदेशभरिको स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यवस्थापन पक्कै पनि सजिलो काम थिएन।
‘हामीसँग २०१९ मा विपद् व्यवस्थापनको लागि खरिद गरेको केही सामाग्रीहरू रहेको थियो। ती सामाग्रीहरू सबैभन्दा पहिलो आधार बन्यो,’ उनले सम्झिए, ‘सो समय स्वास्थ्यकर्मी, सर्वसाधारण, राजनीतिक नेतृत्व, समुदाय, पालिकाहरू सबैबाट आवश्यक सामग्री प्राप्त भयो भने कोभिड व्यवस्थापन गर्न सहज हुनेछ भन्ने खालका कुराहरू आएका थिए। तर उहाँहरूले भने जस्तो दिन सक्ने अवस्था राष्ट्रियस्तरमै थिएन भने प्रदेशमा त हुने कुरै भएन।’
पहिलो चरणमा तिनै केही थान मास्क, पीपीई सेट र स्यानिटाइजर जस्ता सामानहरू स्वास्थ्यकर्मीलाई दिए। ‘हामी तपाईँहरूलाई स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराउँछौँ भन्ने वातावरण त्यसैले बनायो’ उनी भन्छन्।
महामारीको समयमा परिवारबाट टाढा बसेर २४ घण्टा नै खटिरहनु सामान्य कुरा थिएन। सो समयमा निकै भ्रमपूर्ण समाचारहरूसमेत आउँथे तर उनी कहिले पनि आत्तिएनन् बरु निरन्तर सहकर्मीहरूलाई प्रोत्साहन गरिरहे।
‘केही समय केन्द्रमा बसेको आधारमा मैले केन्द्रसँग र राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाहरू जो त्यो क्षेत्रमा काम गर्नुहुन्थ्यो, उहाँहरूसँग समन्वय गरेर काठमाडौँदेखि सामग्री ल्याउने प्रयास गरेँ। तर त्यति गर्दागर्दै पनि चाहे जति सामग्री हामीसँग थिएन’ उनले भने।
सो समयमा व्यवस्थित तरिकाले सामग्रीहरू वितरण गर्न निकै कष्टपूर्ण काम थियो। राजनीतिक नेतृत्वको सिफारिस, भनसुनको आधारमा सामग्री माग्न खोज्नेहरूको निकै ठुलो संख्या थियो।
‘भएका सामग्रीहरू व्यवस्थित तरिकाले वितरण गर्न कसलाई कति दिने भन्ने मापदण्ड बनाएको र कसैको भनसुनको आधारमा सामग्री वितरण नगरेको हुनाले सामग्री दिने र लिने कामलाई व्यवस्थित गर्न सफल भयौं’ उनले भने।
देशभर लकडाउन थियो। उनीहरूसँग पर्याप्त सवारी साधन थिएन। तर उनको टिमले जसोतसो व्यवस्थापन गरेर दुर्गम जिल्लामा समेत पठाउन सफल भयो। ‘हामीले सरकारी निकाय, सरकारी कार्यालय, संघसंस्था, अनुमति पाएका सबै गाडीमा हाम्रा सामग्री पठायौँ। सोहि कारण बिकट क्षेत्रहरू पूर्वी रुकुम, रोल्पासम्म सामाग्री पठाउन सफल भयौँ’ उनी सम्झन्छन्।
उनीहरूले पठाएको सामाग्री अस्पताल र स्वास्थ्य कार्यालयमा जान्थ्यो। अस्पतालमा गएको सामग्री अस्पतालको लागी प्रयोग हुन्थ्यो भने स्वास्थ्य कार्यालयबाट पालिकामा जान्थ्यो।
सामग्री व्यवस्थापनको लागि गुगल सिट
उनीहरूले आफूले पठाएको सामग्रीको गुगल सिट तयार गरेका थिए। गुगल सिटमा हरेक संस्थाले कति सामग्री प्राप्त भयो, कहाँबाट प्राप्त भयो र कति खर्च भयो सबै रेकर्ड अपडेट गर्नुपर्ने हुन्थ्यो। गुगल सिटमा राखेपछि सामग्रीको गलत प्रयोग हुन पाएन। उद्देश्य अनुरूप प्रयोग भयो।
‘अभावको समयमा एउटा–दुईवटा सामग्री पनि गलत प्रयोग भयो भने त्यो राम्रो हुँदैन। त्यो समय हामी एक अर्कामा पारदर्शी र सजक भयौँ। त्यो कारणले हामीलाई सजिलो भयो। र हामीले यसरी सानो स्केल बाट आएको समानलाई व्यवस्थित गर्दै वितरण गरेर वितरणलाई पनि व्यवस्थित गर्दै प्रदेशका १२ वटै जिल्लामा सामग्री वितरण गर्न सफल भयौँ’ उनी सम्झिन्छन्।
उनी दिनमा मात्रै होइन रातमा पनि सामग्री वितरण गर्ने काममा खटिएका थिए। त्यो समयमा उनलाई जनताको लागि केही गर्दैछौं भन्ने अनुभूति भएको बताउँछन्। आफूहरूले कोभिडको समयमा त्यसरी काम गरेको कारण कुनै स्वास्थ्यकर्मीले र कुनै सेवाग्राही जनताले सामग्री अभावमा काम गर्नु नपरेकोमा उनी खुसी छन्।
पहिलो लकडाउनमा उनीहरूसँग पर्याप्त सामाग्री थिएन, जेनतेन व्यवस्थापन गरी रहेका थिए। दोस्रो चरणमा भने सामग्री प्रशस्त थियो तर अक्सिजनको अभाव भयो।
‘दोस्रो चरणमा अक्सिजन चाहिने केसहरू बढेर गयो र धेरै अक्सिजन चाहिने अवस्था आयो। तर हामीले विभिन्न निकाय, संघसंस्थाहरू, अक्सिजन प्लान्ट लगायत सबैको सहयोगमा अक्सिजन लैजाँदा पनि केही अस्पतालमा अक्सिजन अभावमा मृत्यु भएको खबर बाहिर आयो जुन दुखलाग्दो क्षण रह्यो’ उनले भने।
आफूहरूले प्रयास गर्दागर्दै पनि कहिले यातायातको कारणले, कहिले अक्सिजन प्लान्टहरूले माग अनुसारको उत्पादन गर्न नसक्दा एक दुई ठाउँमा त्यस्ता घटनाहरू सुनिए जसले गर्दा दुख सँगसँगै अझै मेहनत गर्नुपर्छ भन्ने भावना आएको उनले बताए।
कोभिडको बेलामा सिमानामा क्वारेन्टाइन विकास गर्ने देखी लिएर, कोभिड परीक्षण, पछि आएर कोभिड भ्याक्सिनेसनको लागी सामग्रीको पाटोमा काम गरेका उनी आजका दिनसम्म पनि भ्याक्सिन आउने र लाउने काम निरन्तर चलिरहेको बताउँछन्।
कोरोना संक्रमित नेपालमा भेटिएदेखि आजसम्म निरन्तर खटिईरहेका दिनेश त्यस्तो महामारीमा जनताको सेवा गर्न पाउँदा निकै खुसी छन्।