नेपालगन्ज - स्वास्थ्यखबर 'दशौँ युनाइटेड इमेजिङ स्वास्थ्यखबर हेल्थ अवार्ड' नर्स तर्फ भेरी अस्पतालमा कार्यरत नर्स अश्विनी गुरुङले पाएकी छिन्। कोरोना महामारीमा गरेको योगदानको कदर गर्दै गुरुङलाई हेल्थ अवार्ड प्रदान गरिएको हो।
यस्तो छ नर्स गुरुङको यात्रा
कोरोना संक्रमणबाट दिनहुँ ज्यान जान थालेपछि बाँकेमा झन्–झन् त्रास बढ्न थाल्यो। प्लाज्मा थेरापी र रेम्डेसिभिर औषधि चलाउँदा समेत निको हुनुको सट्टा बिरामीको मृत्यु हुन थालेपछि संत्रासले सबैलाई विक्षप्त बनाएको थियो।
कोरोना महामारी चरम उत्कर्षमा पुग्दा राजधानी बाहिर संक्रमणबाट मृत्यु हुनेमा बाँके जिल्ला एक नम्बरमा रहेको तथ्यांकले देखाइरहेका थिए भने कम उमेर र कुनै दीर्घ रोग नलागेकाहरुको पनि कोरोनाबाट मृत्यु भइरहेको थियो।
हरेक दिन भेरी अस्पतालबाट कोरोनाले मृत्यु भएकाहरुको लाश निस्किरहेको थियो। यो मृत्युको दृश्यले उपचारमा संलग्न स्वास्थ्यकर्मी विक्षिप्त थिए। अधिकांशको मृत्यु कोरोना लागेर निमोनियाले भइरहेको थियो।
स्वास्थ्य कार्यालयको तथ्यांकले पनि कोरोनाबाट युवा–युवतीको समेत मृत्यु भइरहेको देखाइरहेको थियो।
भेरी अस्पतालको आइसोलेसन वार्डमा दैनिक मृत्यु हुन थालेपछि उपचारका लागि भर्ना भएका बिरामीहरु झनै त्रसित थिए। अस्पतालको अवस्था दयनीय र भयावह बन्दै गएको थियो।
यस्तो अवस्थामा लक्षण देखिएकाहरु नमुना जचाँउन डराइरहेका थिए भने समस्या लुकाएर बस्ने संक्रमितको संख्या पनि उत्तिकै थियो।
प्रशासनले जिल्लामा लकडाउन गरेको थियो। मानिसको दैनिकी फेरिएको थियो। नेपालगन्जका मुख्य तथा भित्री सडक सुनसान थिए। दैनिकी कष्टकर र भयावह बन्दै गएको थियो।
भेरी अस्पतालमा क्याथ ल्याबको स्टाफका रुपमा प्रवेश गरेकी स्टाफ नर्स अश्विनी गुरुङ आइसियु वार्डमा कार्यरत थिइन्। कोरोना कहर उत्कर्षमा पुगेका बेला भेरीमा कोभिड वार्ड खोलियो। यसका लागि कर्मचारी मागियो। महामारीका कारण अपेक्षा अनुसार आवेदन परेन। अन्ततः अस्पताल प्रशासनले अस्पतालमा कार्यरत सबै वार्डबाट केही कर्मचारीलाई कोभिड वार्डमा खटायो।
देशकै अत्यधिक गर्मी हुने स्थान नेपालगन्ज। त्यसमा पनि ६–७ घण्टा, कहिलेकाहीँ त दिनभर लगातार पीपीई लगाएर बिरामीको उपचारमा खटिनुपर्ने बाध्यता। संक्रमित बढेर कोभिड वार्ड भरिभराउ थिए। इमरजेन्सीदेखि लिएर अस्पतालको पेटीमा समेत बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था थियो।
अधिकांश बिरामीलाई अक्सिजन र भेन्टिलेटरको आवश्यक थियो। सीमित स्रोत–साधन र दक्ष जनशक्ति अभावले अस्पताल ‘आउट अफ कन्ट्रोल’को अवस्थामा पुगेको थियो। खाना खान, पानी पिउन र आराम गर्न त परको कुरा, आफ्नो ड्यूटी सकिएको समेत थाहा पाउँदैनथे स्वास्थ्यकर्मीले। कोभिडको त्यो महामारीलाई कहिल्यै भुल्न सक्दिनन्, २५ वर्षीया स्टाफ नर्स अश्विनी।
कोभिडको पहिलो फेजबाट संक्रमितको उपचारमा खटिएकी अश्विनी विगत सम्झिँदै भन्छिन्, ‘वातावरण सामान्य थिएन। को कतिबेला बिरामी पर्छ र मृत्यु हुन्छ अनुमान नै लगाउन नसकिने अवस्था थियो। आफ्ना बिरामी भेट्न समेत परिवारकै सदस्य आउँदैनथे। कतिपयले बहाना बनाउँथे, कतिलाई हामीले फोन गरेर बोलाउनु पथ्र्यो।’
संक्रमितको संख्या बढ्दै गएपछि कोभिड वार्डमा आफ्नो पूरै शक्ति लगाएर बिरामीको उपचारमा अहोरात्र खटिएकी अश्विनी घरदेखि टाढा नेपालगञ्ज डेरामा बस्थिन्। अस्पतालको ड्युटी सकेर कोठामा पुग्दा मृत्युका खबरले झनै त्रसित हुन्थिन्।
‘एक त घरदेखि टाढा डेरामा बसेकी छु, त्यसमा पनि उपचार र औषधि समेत पत्ता नलागेको भाइरसबाट संक्रमित बिरामीको उपचारमा खटिँदा म पनि संक्रमित हुन्छु भन्ने डरले सधैं पिरोलिरहन्थ्यो,’ अश्विनीले त्यो अवस्था सम्झिइन्, ‘म बस्ने डेरामा सानो बच्चा सहितको एउटा परिवार थियो। मेरा कारणले उहाँहरु संक्रमित नहुनुहोस् भनेर डेरा नै छाडेर अस्पतालमा बस्न थालें।’
सुरक्षा कवच (पीपीई) लगाएर काम गर्दा केही राहत भए पनि मनमा भने सधैं डर र त्रास रहने गरेको उनको अनुभव छ। ‘नेपालगञ्जको गर्मीमा शरीर निथ्रुक्कै भिजेको हुन्थ्यो, गलेको हुन्थ्यो। दिसा–पिसाब रोकेरै खटिनु पथ्र्यो, ‘उनले थपिन्, ‘परिवारबाट टाढा अस्पतालमा अहोरात्र खटेर काम गर्दा मानसिक र शारीरिक रुपमा विक्षिप्त थियौं। संक्रमितको उपचारमा खटिँदा जुनसुकै बेला म संक्रमित हुन सक्छु भय त थियो तर आफूले आफैंलाई सान्त्वना दिन्थें।’
‘छतबाट हाम फालेर ज्यान जोगायौं’
कोडिभ आइसियुको बेड नम्बर १३ का बिरामीको बिहानैदेखि स्याचुरेसन ‘अप एन्ड डाउन’ भइरहेको थियो। २÷३ दिनअघि नै डाक्टरहरुले बिरामीका आफन्तलाई काउसिलिङ गरिसकेका थिए। अश्विनीको नाइट ड्यिुटी सुरु भएपछि बेड नम्बर १३ का ती बिरामीको स्वास्थ्य जटिल हुँदै गयो। डाक्टरको टिमले बिरामीलाई भेन्टिलेटरमा राख्यो।
भेन्टिलेटरमा राखेपछि बिरामीका आफन्तले त उल्टै मेरो मान्छेलाई मार्न लाग्यो भन्दै धम्की दिन थालेको उनले सुनाइन्। अश्विनीले भनिन्, ‘भेन्टिलेटरमा राखे पनि उहाँको स्याचुरेसन मेन्टेन्ट भएन। हामीले दिनुपर्ने सम्पूर्ण औषधि दियौं। तर पनि बिरामीको स्वास्थ्यमा सुधार आएन। अन्ततः उहाँको मृत्यु भयो।’
त्यो सिफ्टको सिनियर अश्विनी नै थिइन्। बिरामीलाई अक्सिजन चलाउने, औषधि दिने, बिपी, हर्ट एन्ड पल्स रेट मेजर गर्ने लगायतका काम उनकै जिम्मामा बढी थियो। किनकी, अरु सबै न्यू कमर थिए।
‘बिरामीको मृत्यु भएपछि आक्रोसित बनेका बिरामीका आफन्तले हामीलाई लखेटी–लखेटी कुटपिट गरे। अश्लिल गालीगलोज र होहल्लाको वातावरणले हामी त्रसित बनेका थियौं,’ अश्विनीले घटना सुनाइन्, ‘उनीहरु क्याबिन भित्रै पसेर हामीमाथि आक्रमण गर्न थाले। क्याबिनको ढोका फोडे। आक्रमणबाट बच्न हामी क्याबिनमा रहेको अट्याच ट्वाइलेट भित्र पस्यौं र ढोका लगायौं। उनीहरुले बाहिरबाट ट्वाइलेटको ढोकामा लगातार प्रहार गरिरहे। भित्र रुवाबासी नै थियो। हामी हतास थियौं। हामीसँग के गर्ने, कसो गर्ने कुनै विकल्प नै थिए।’
घटना भइरहँदा चकमन्न रात थियो। अँध्यारोले बाहिर केही देखिँदैनथ्यो। यस्तो अवस्थामा उनीहरुले हाम फालेर ज्यान बचाउने निधो गरे। ‘कुनै विकल्प नभएपछि पालैपालो हाम फालेर ज्यान बचायौं,’ उनले भनिन्।
भेरी अस्पतालमा रहेको कोभिड वार्डमा उपचाररत एक बिरामीको मृत्युपछि सिर्जित घटनालाई स्मरण गर्दै स्टाफ नर्स अश्विनीले थपिन्, ‘उसै पनि उनीहरुले हामीलाई मारिहाल्छन् भन्ने तनाव थियो। बरु हात–खुट्टा भाँचिए पनि छतबाट हाम फालेर बाँच्नुपर्छ भन्ने सोचेर ‘डु अर डाई’को स्थितिमा त्यो निर्णय लिएका हौं।’
अश्विनीको टिम त्यहाँबाट भागेर अस्पताल परिसर भित्रकै एउटा भवनको कोठामा लुक्यो। एक घण्टा लुकेपछि उनीहरुले अस्पतालकै एक जना दिदीलाई फोन गरे। ‘त्यसपछि हामीलाई लिन सरहरु आउनुभयो। त्यो एक घण्टा हामी रोएर बस्यौं। त्रासदीपूर्ण त्यो रात हामी कहिल्यै बिर्सने छैनौं,’ उनले भनिन्, ‘उचाइदेखि डराउने म ज्यान बचाउनकै लागि हाम फालें। त्यो घटना भएलगत्तै आमा–बुवालाई आफू र साथीहरु सुरक्षित भएको जानकारी गराएँ।’
२०७८ जेठ १३ गते भएको उक्त घटनामा ज्यान बचाउन भेरी अस्पतालका डा चन्द्रप्रकाश साहु, स्टाफ नर्स अश्विनीसँगै सदीक्षा गैरे, रीता भण्डारी, भावना श्रेष्ठ र अस्पतालका कर्मचारी अब्दुल एक तले भवनबाट हाम फालेर बाँचेका थिए।
आमाको चाहना पूरा गर्न आफ्नो इच्छा दबाएकी अश्विनी
बर्दियाको राजापुर नगरपालिका–४, राजापुर स्थायी घर भएकी अश्विनी मध्यम परिवारकी हुन्। उनले २०६९ मा जनज्योति सेकेण्डरी स्कुल गुलरियाबाट एसएलसी (एसईई) पास गरिन्। पढाइमा अब्बल उनी भविष्यमा शिक्षक बन्ने सपना देख्थिन्।
आमा–बुवा र एक दिदीसहित चार जनाको परिवारमा नपुग्दो केही थिएन। उनकी आमा गृहणी हुन् भने बुवा राजापुरको श्री दशरथ चन्द उमाविका प्रधानाध्यापक। दिदी पनि सोही विद्यालयकी शिक्षक हुन्।
सानैदेखि शिक्षक बन्ने रहर गरेकी अश्विनीको भविष्यमा सफल बनेर देखाउने अठोट थियो। अनुशासनमा हुर्केकी अश्विनी बुवाको पदचाप पछ्याउँदै गर्दा आमाको चाहनाका अगाडि आफ्नो इच्छा दबाउन बाध्य भइन्।
‘म बुवाको प्रेरणाबाट अघि बढिरहेकी थिएँ। तर आमाको भने दुई छोरीमध्ये एक जना मेडिकल क्षेत्रमा गए हुन्थ्यो भन्ने चाहना थियो। दिदी शिक्षक भइहाल्नुभयो। म भने आमाको चाहना अनुसार स्टाफ नर्स बने,’ आफ्नो नर्सिङ करियर सम्झँदै अश्विनीले भनिन्, ‘आमाको इच्छाका अगाडि मैले आफ्नो रहरलाई दबाएँ। मैले आमाको इच्छा पूरा गरें।’
राजापुरबाट स्टाफ नर्स अध्ययनका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिएल अध्ययन गरेकी अश्विनी २०७३ मा पास आउट भइन्।
विद्यालयस्तरदेखि नर्सिङ अध्ययन गर्दासम्म पढाइमा अब्बल नै रहेकी अश्विनी रोजगारीका लागि भने धेरै अस्पतालमा धाइन्। त्यसो त, आफू अध्ययनरत मेडिकल कलेजबाट उनलाई रोजगारीको अफर नआएको होइन। तर उनी सरकारी अस्पतालमा काम गर्न चाहन्थिन्। र, भयो पनि त्यस्तै।
भेरी अस्पतालमा पहिलो पटक सञ्चालनमा आएको क्याथ ल्याबका लागि कर्मचारी आह्वान भयो। उनले आवेदन दिइन् र २०७४ साउन पहिलो सातादेखि उनको रोजगारी सुरु भयो।
लगत्तै गंगालाल हृदय अस्पतालमा दुई महिनाको तालिम लिएर आएकी अश्विनीले कोभिडको पहिलो फेजसम्म आइसियुमा काम गरिन्।
२०७४ मा नर्सिङको लाइसेन्स प्राप्त गरेकी अश्विनीले यही वर्ष (२०७९)भेरी नर्सिङ कलेजबाट बिएन पास गरेकी हुन्।
‘नर्सिङ अध्ययनले मलाई धेरै कुरा सिकायो। होस्टेलमा बस्नुपर्ने, घरपरिवारबाट टाढा हुनुपर्ने, मेडिकल शब्द नै बुझ्न गाह्रो हुने हुँदा पहिलो वर्ष केही असहज भयो। तर धैर्यता भनेको के हो मैले यहीँ सिकें,’ उनले भनिन्, ‘लगनशीलता र धैर्यताका कारण नै मैले यो शैक्षिक सफलता प्राप्त गर्न सकें। म सुरुदेखि नै विदेश जानु हुँदैन, जे गर्न सकिन्छ आफ्नै देशमा गर्नुपर्छ भन्ने मान्यता बोकेकी मान्छे हुँ।’
मास्टर इन पब्लिक हेल्थ अध्ययन वा नर्सिङ अफिसरमा नाम निकाल्ने आफ्नो योजना रहेको अश्विनी बताउँछिन्।