काठमाडौं- स्वास्थ्यखबर 'दशौँ युनाइटेड इमेजिङ स्वास्थ्यखबर हेल्थ अवार्ड' स्वास्थ्यकर्मी तर्फ हेल्थ असिस्टेन्ट (एचए) लालबहादुर रोकायले पाएका छन्। रोकायाले कोरोना महामारीमा गरेको योगदानको कदर गर्दै हेल्थ अवार्ड प्रदान गरिएको हो।
रोकाय मुस्तङमा कार्यरत रहँदा खोलाबाट कोभिडविरुद्धको भ्याक्सिन तारिरहेको भिडियो भाइरल भएको थियो। उनलाई विश्व स्वास्थ्य संगठनका (डब्लुएचओ)का प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयसले भ्याक्सिन हिरो भन्दै प्रशंसा गरेका थिए।
को हुन् रोकाया?
रुकुम पश्चिमको मध्यमवर्गीय परिवारमा जन्मिएका लालबहादुर रोकायालाई स्कुले जीवनदेखि नै आफैंले कमाउनुपर्छ भन्ने लाग्थ्यो। एसएलसी पास गरेपछि क्याम्पस पढ्न घरको आर्थिक अवस्थाले नधान्ने भएपछि उनले खरिदारको तयारी गर्ने विचार गरे।
सोही समयमा गाउँकै एक जना शिक्षकले उनलाई हेल्थ असिस्टेन्ट (एचए) पढ्न सुझाव दिए। नाम निकाल्न सके छात्रावृत्तिमा पढ्न पाइने पनि ती शिक्षकले बताए। नाम निस्कियो भने पढौंला नि त भन्ने सोचेर उनले एचएको परीक्षा दिए।
नभन्दै लालबहादुरको छात्रावृत्तिमा नाम निस्कियो। पढ्न छात्रावृत्ति पाइहालियो, अन्य खर्च जसरी पनि मिलाउँछु भनेर पढाइ सुरु गरेका उनले तीन वर्ष सुर्खेत बसेर एचएको पढाइ पूरा गरे। २०७६ सालमा एचए पास भएपछि लोकसेवाको तयारी गर्न काठमाडौँ आए उनी।
मंसिरमा काठमाडौं आएका लालबहादुरले माघसम्म लोकसेवाको तयारी गरे। माघको अन्तिमसम्म कुर्दा पनि अरु सबैको लोकसेवा खुल्यो तर स्वास्थ्यको खुलेन। ‘प्रदेश समायोजनको कारणले लोकसेवा खुल्दैन भन्ने भयो। त्यो समयमा एचएको लाइसेन्स पनि कुरिरहेको थिएँ। घरमा गएर पनि के गर्नु, काठमाडौं बसिरहन घरमा पैसा माग्न मन थिएन,’ उनी सुनाउँछन्।
त्यो समय उनका लागि निकै कठिन समय थियो। जसरी पनि काठमाडौँमा टिक्नुपर्छ भनेर उनी धेरै ठाउँमा कामको लागि भौंतारिए। आफूले पढेको विषयमा केही जागिर पाइन्छ कि भनेर दौडधूप गरे पनि निराशाभन्दा केही हात लागेन। जुनसुकै काम गर्छ भनेर लागिपर्दा पनि उनले कतै काम पाएनन्।
‘मसँग न कतै काम गरेको अनुभव थियो न त चिनेका मान्छे नै कोही थिए,’ उनी भन्छन्, ‘त्यसपछि म सेक्युरिटी गार्डको लागि ट्राई गर्न थालें। गार्डको काम पाउन पनि कम्तीमा म्यादी प्रहरीको अनुभव हुनुपर्ने रहेछ। त्यो नभए १४/१५ दिनको तालिम गर्नुपर्ने भनिएको थियो। तालिमका लागि पैसा चाहिन्थ्यो, मसँग पैसा थिएन।’
एक जना चिनेको दाइको माध्यमबाट एउटा कम्पनीले उनलाई १० हजार रुपैयाँ तलबमा सेक्युरिटी गार्डमा राख्छु भनेर आश्वासन दिएको थियो। लालबहादुरले त्यो जागिरको आश गरेका थिए। तर कोठा टाढा रहेछ भनेर त्यसमा पनि राखिएन।
सबैतिर बाटो बन्द भएको देखेर निराश भएका लालबहादुरलाई एक जना दाइ पर्नेले मुस्ताङमा करारमा जागिर खुलेको बताए।
‘मैले फर्म भरें। दुर्गम भएकाले आवेदन दिने मान्छे खासै थिएनन्। अन्य परीक्षा नभई सिधै अन्तर्वार्ता भयो,’ उनले जागिर खाँदाका अनुभव सुनाए।
लालबहादुर अन्तर्वार्तामा पास भए। २०७६ फाल्गुन २३ गते मुस्ताङस्थित थासाङ गाउँपालिकाको कोबाङ स्वास्थ्य चौकीमा उनको पोस्टिङ भयो। पोस्टिङ भएको एक महिना पनि नबित्दै देशभरि कोरोना संक्रमण बढ्यो र लकडाउन भयो।
लकडाउन भएपछि लालबहादुरले मुस्ताङको घाँसा प्रवेशद्वारको फिभर क्लिनिकमा काम गरे। चैतबाट साउनसम्म उनले सोही फिभर क्लिनिकमा काम गरिरहे। फिभर क्लिनिकमा काम गर्दा उनी अन्नपूर्ण संरक्षण क्षेत्रको भवनमा बस्थे।
‘सुरु–सुरुमा अन्नपूर्ण संरक्षण क्षेत्रका साथीहरू एकदमै डराउने, तपार्इंहरुले गरेर हामीलाई धेरै डर भयो भन्नुहुन्थ्यो,’ उनले भने, ‘फिभर क्लिनिकमा बस्दा कोरोनाको शंका भएर आइसोलेसनमा पठाउनुपर्ने बिरामीहरू धेरै आत्तिनुहुन्थ्यो। विद्यालयहरुमा बनाएको आइसोलेसन भत्काउनुपर्छ, कोरोना सर्छ भनेर गाउँलेहरू रिसाउनु हुन्थ्यो। कहिलेकाहीँ बिरामीलाईभन्दा पनि गाउँलेलाई सम्झाउन गाह्रो हुन्थ्यो।’
लालबहादुरले फिभर क्लिनिकमा काम गर्दा धेरै मानिसलाई हेरे, भेटे। तर एउटा घटनाले उनलाई सधैं काममा प्रेरित गरिरहन्छ। भएको के रहेछ भने, फिभर क्लिनिकको नजिकै घर भएककी एक जना बुढी आमालाई लडेर चोट लागेछ। लालबहादुर त्यहाँ पुग्दा ती आमैलाई कोरोनाकै बिरामी हेरिरहेका साथीहरुले नै हेरिरहेका रहेछन्। ती आमाको घरमा छोराछोरी कोही थिएनन्। उनी र श्रीमान् मात्रै बस्ने रहेछन्। मर्निङ वाक पनि हुने सेवा पनि हुने भनेर लालबहादुर ती आमाको घरमै गएर घाउ सफा गर्दिन थाले।
उनी सुनाउँछन्, ‘आमाको घाउ निको भयो। तपाईंको घाउ निको भयो अब म आउँदिन भनेर जान छाडेको त भोलिपल्टै आमा आफैं क्लिनिकमा आउनुभयो। उहाँले भेटी भन्दै मलाई एक हजार रुपैयाँ दिन खोज्नुभयो तर मैले लिन मानिनँ। उहाँले मलाई आशीर्वाद दिनुभयो। त्यो पल मलाई निकै खुसी लागेको थियो।’
लालबहादुरलाई हिरो बनाउने त्यो भिडियो
बीचमा छ्याक्ताङ खोला, वारि–पारि वस्ती। खोलामा पुल छैन। हिउँदमा खोला सुके जस्तो हुन्छ, काठे पुलले पनि काम गर्छ। तर वर्षामा भने निकै जोखिम मोलेर घुमाउरो बाटो यात्रा गर्नुपर्छ। खोला वारि स्वास्थ्य चौकी छ, मानिसहरू सजिलै स्वास्थ्य चौकी आउन–जान सक्छन्। खोला पारिबाट स्वास्थ्य चौकी आउन जोखिम मोलेर करिब तीन घण्टा यात्रा गर्नुपर्छ।
भर्खरै कोरोनाको खोप लगाउन सुरु गरिएको समय थियो। प्राथमिकतामा ज्येष्ठ नागरिकहरू थिए। असार १ गते खोप कार्यक्रम तय भएको थियो।
कोरोनासँगै छ्याक्ताङ खोला पनि बढेको थियो। गाउँपालिकाले ज्येष्ठ नागरिकलाई तीन/चार घण्टाको बाटो हिँडाएर खोप लगाएर पठाउनुभन्दा स्वास्थ्यकर्मीलाई नै गाउँमा पठाउने निर्णय गरेको थियो।
एक/दुई दिन अगाडि नै खोप ल्याएर थासाङ गाउँपालिका अन्तर्गतको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा भण्डारण गरिएको थियो। खोपलाई कोल्डचेन मेन्टेन गरेर राख्ने संरचना लेतेमा मात्रै थियो।
खोप राखिएको लेते प्राथमिक स्वास्थ्य केन्द्र र अरु वडाहरुको बीचमा पर्ने छ्याक्ताङ अघिल्लो रातिदेखि परेको झरीले धानिनसक्नु भएको थियो। पानी नपरेको भए प्राथमिक स्वास्थ्य केन्द्रबाट टुकुचे र कोवाङ स्वास्थ्य चौकीसम्म गाउँपालिकाको गाडीमार्फत खोप पुर्याउने सल्लाह भएको थियो। तर खोला बढेकाले गाडीमार्फत खोप ल्याउन सम्भव भएन।
खोप कार्यक्रम तय भइसकेकोले जसरी पनि जेठ ३१ गते खोप ल्याइसक्नुपर्ने थियो। तर छ्याक्ताङमा न पुल थियो न त सवारी साधन नै तर्न सक्ने स्थिति थियो।
असार १ गते टुकुचे स्वास्थ्य चौकीका अहेव सविन केसीलाई प्राथमिक स्वास्थ्य केन्द्र लेतेका संयोजकले फोन गरेर खोला तरेर टुकुचेसम्म खोप कसरी पुर्याउने भनेर चिन्ता व्यक्त गरे। सविनले लालबहादुरलाई फोन गरे।
लेतेका संयोजकको सल्लाह अनुसार सविन वडा कार्यालयको मोटरसाइकल लिएर कोवाङ स्वास्थ्य चौकी पुगे। लालबहादुर भ्याक्सिन क्यारियर लिएर छ्याक्ताङ खोलाको किनारमा पुगे।
‘ठूला ट्रक पनि खोलाभन्दा वर सडक छेउमै रोकिएका थिए। खोला तरेर जान सक्ने स्थिति थिएन। छेउमा पुल बनिरहेको थियो। त्यसको एउटा रड थियो। त्यही रडबाट खोप वारि ल्याउने सल्लाह भयो। पारिबाट ड्राइभर दाइले भ्याक्सिन क्यारियर फलाममा बाँधेर वारि दिनुभयो। मैले वारिबाट रिसिभ गरें,’ लालबहादुरले सम्झिए।
छेउमै खोला तर्न नसकेर बसेका एक जना मान्छे थिए। उनले भ्याक्सिन क्यारियर फलाममा बाँधेर वारि तारेको भिडियो गर्न सल्लाह दिए। लालबहादुर एक्लै भ्याक्सिन क्यारियर रिसिभ गरिरहेका थिए। सविनले भिडियो खिचे।
‘खासमा त्यो भिडियो यसरी पनि काम गरियो भन्ने सम्झनाको लागि मात्रै खिचिएको थियो,’ लालबहादुर भन्छन्, ‘कोरोनाको समयमा खटिँदा मास्क, सेनिटाइजर जस्ता सामान्य सेवा–सुविधा पनि पाइएन भनेर मैले स्वास्थ्य चौकीमा प्रश्न गरेको थिएँ। मेरो प्रश्नपछि स्वास्थ्य चौकीले मलाई स्पष्टीकरण मागिरहेको समय थियो। त्यो भिडियो पोष्ट गरियो भने झन् समस्या पर्ला भनेर हामीले कतै त्यो भिडियो नहाल्ने निर्णय गरेका थियौं।’
टुकुचे स्वास्थ्य चौकी पुगिसकेपछि सविनले आफूहरुले खोप ल्याउँदा कस्तो जोखिम उठाइयो भनेर भिडियो आफ्ना सहकर्मीलाई देखाएछन्। सविनले काम गर्ने स्वास्थ्य चौकीमा कार्यरत अनमी एन्जिला थकालीले उक्त फोटो फेसबुकमा हालौंभन्दा सविनले मानेनछन्। त्यसपछि एन्जिलाले भिडियो टिकटकमा हाल्दा कुनै पनि हाकिमले नदेख्ने र उनीहरुलाई अफ्ट्यारो नपर्ने भन्दै टिकटकमा हालिन्।
एन्जिलाले टिकटकमा अपलोड गरेको केही समयमै भिडियो भाइरल भयो। सोही भिडियोलाई गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको टिकटकले पनि आफ्नोबाट अपलोड गरेपछि भिडियो झन् धेरै मान्छेसम्म पुग्यो।
सोही भिडियोलाई सेयर गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयसले खोपलाई खोला तार्न मिहिनेत गर्ने दुवै स्वास्थ्यकर्मीलाई ‘हिरो’ भनेर प्रशंसा गरेका थिए।
उक्त भिडियोको चर्चापछि सबैले आफूलाई गर्ने व्यवहारमा परिवर्तन पाएको लालबहादुर बताउँछन्। अहिले उनको करारको म्याद सकिइसक्यो। लोकसेवामा नाम निकाल्ने सानैदेखिको सपना पनि पूरा भइसक्यो। २४ वर्षका लालबहादुर अहिले काभ्रेको महाभारत गाउँपालिकास्थित गोकुले स्वास्थ्य चौकीमा कार्यरत छन्।
आफूले गरिरहेको काम र आफ्नो पेसाप्रति गर्व छ लालबहादुरलाई। भन्छन्, ‘कुनै पनि काममा सफलता होस् या नहोस् तर मिहिनेत र परिश्रम भने गर्न छाड्नु हुन्न।’