काठमाडौं- खोटाङको जन्तेढुंगा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा केही दिनअघि एक गर्भवती महिला पाठेघरबाट धेरै रगत बगेर जाँच गराउन आईपुगिन्। उनको पहिलो बच्चा अप्रेसन गरेर जन्माइएको थियो। चिसापानीमा कार्यरत डा जितेन्द्र प्रसाद साह र उनको टोलीले जाँच गर्दा उनको पाठेघरमा साल असामान्य तरिकाले टाँसिएको अनुमान गरे। साथै प्रसूतिपूर्व हुने रक्तस्राव भएके भनेर ठुलो अस्पतालमा रिफर गरे।
२९ वर्षीय ती महिला २४ हप्ताको गर्भवती थिइन्। आर्थिक स्थिति एकदमै कमजोर भएकी उनको घरमा साधारण कुराकानी समेत बुझ्न सक्ने कोही थिएन। दोस्रो श्रीमानसँग बस्दै आएकी उनको पेटमा भएको बच्चा भने पहिलो श्रीमानबाट बसेको थियो। डा साहको टिमले ठुलो अस्पताल रिफर गरे पनि उनीहरूको कतै जान सक्ने अवस्था थिएन।
रिफर गरेको केही दिनमै उनी फेरि हिँड्नै नसक्ने स्थितिमा प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमै आईपुगिन्।
उनको श्रीमान् भने उनलाई केही भएकै छैन भनेर घरमै सुतिरहेको सुनाउँदा अस्पतालमा सबै दङ्गै परे। डा साहको टिमले ती महिलालाई जाँच गर्दा धेरै रक्तस्राव भएर गम्भीर रक्तअल्पता भई सकेको थियो तर बच्चाको अवस्था चाहिँ ठिक नै थियो।
चिसापानीमा प्राथमिक उपचार भएपछि पालिकासँग समन्वय गरी तुरुन्त रगत चढाउनुपर्ने भएकाले उनलाई धरान अस्पताल लगियो। बिरामी रिफर गरेपछि डा साहले बिरामीको अवस्था बुझ्न कोसिस गरे। तर कसैसँग कुरा हुन सकेन।
गत सोमबार मध्यरातमा प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा धेरै रगत बगेर सुत्केरी आएको छ भन्ने खबर सुनेपछि डा साह स्वास्थ्य केन्द्र पुग्दा तिनै महिला बेहोस अवस्थामा थिइन्।
रिफरपछि धरानबाट तिन पोका रगत चढाएर डाक्टरको सल्लाह विपरीत ती महिला घर फर्किइछन्। घर आएपछि घरमै बच्चा जन्मिएछ। तर भने बच्चा बच्न सकेन। डा साह भन्छन्,‘बिरामीको जाँच गर्दा धारा खोलेझैँ ह्वालह्वाल रगत बगिरहेको थियो। साल अझै निस्केको थिएन। बिरामीको शरीरमा रगत नभएर सेतै भइसकेको थियो। सबै स्वास्थ्यकर्मीहरू रगतमा लतपत थियौ, आ-आफ्नो ठाउँबाट गर्ने प्रयास पूर्णरूपमा सबैले गरिरहेका थियौँ।’
सुत्केरीपछि धेरै रगत बगेर बिरामी बेहोस हुनु उनीहरूको लागि नयाँ केस भने थिएन। बेलाबेलामा यस्तो घटनाहरू भोगीसकेका स्वास्थ्यकर्मीको लागि यो केस अलि फरक थियो। पहिलै देखिको गम्भीर रक्त अल्पता थियो। अलिकति पनि रगत बग्नु बिरामीको ज्यानको लागि हानिकारक थियो। तर त्यी महिलाको त ह्वालह्वाल रगत बगिरहेको थियो।
‘मध्यरात, दुर्गम ठाउँ , सीमित श्रोत र साधन, हामी सबैजना आत्तिइसकेका थियौँ। हामी हेर्दाहेर्दै बिरामीको ज्यान जाने स्थिति सृजना भईसकेको थियो। दुवै हातमा भएको क्यनोलाबाट धमाधम सलाइन पानी तथा रक्त श्रावमा प्रयोग हुने ३-४ किसिमका औषधिहरू गइरहेको थियो। साल पाठेघरमा असामान्य तरिकाले टाँसिएको भएर साल निकाल्ने धेरै प्रयास गरेनौँ। औषधिहरूको प्रयोगपछि रगत बग्न रोकियो। १२ पोका पानी चढाईसकेका थियौँ।’ डा साह सम्झिन्छन्,‘ रक्तचाप बल्ल अलि स्थिर भयो र बिरामीको अवस्था अलि भए पनि सुधार भयो। तर यस्तो अवस्थामा रगत चढाउनुको कुनै विकल्प थिएन जुन यो ठाउँमा सम्भव थिएन। गाडीबाट तराईको अस्पताल पुर्याढउन कम्तीमा ६ देखी ८ घण्टा समय लाग्छ। हामी राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट हुने हवाई उद्धारको प्रक्रियामा लाग्यौँ।’
मध्यरात थियो, डा साहलगायत टिम हेलिकप्टर आउन बिहानको उज्यालो कुरेर बसिरहेका थियो। उनीहरू घरी बिरामीको रक्तचाप, अक्सिजन र पीभी ब्लिडीङ हेर्थे भने घरी मोबाइलमा टाइम हेर्थे।
बिरामीको स्थितिको बारेमा छलफल गर्न कोही थिएनन्। बिरामीको आफन्तको नाममा ६५ वर्ष भन्दा माथिका दुई हजुरआमाहरू र ट्याम्पो चालक थिए। बिरामीको श्रीमान् अस्पताल आएकै थिएन। सबै स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगीहरू बिरामीको वरिपरि घुम्दा घुम्दै उज्यालो भयो।
‘हेली त आउने कुरा भयो तर बिरामीसँग काठमाडौँ जाने आफन्त कोही भएन। सबै स्वास्थ्यकर्मीहरू दश ठाउँमा फोन घुमायौ तर काठमाडौँ जाने कोही भएन। यही कुराले हेली उडानमा एक घण्टा भन्दा बढी ढिलाइ भयो। अन्तमा चिसापानीका एक जना स्वास्थ्यकर्मी र बिरामीको एक जना आफन्त (नन्द)लाई बिरामीसँग जान तयार भइन्,’ साहले भने। हेलिकप्टर बिहानको ७:30 मा अवतरण भयो।
साह भन्छन्,‘माहिला स्वास्थ्यकर्मीहरू र हामी आफै बिरामीलाई स्ट्रेचरमा बोकेर हेलीसम्म पुर्यायौं। हेली हेर्न आउने सयौँ मान्छेको भिड थियो तर स्ट्रेचर/ बिरामी बोक्दिने खासै सहयोगी हात भेटिएन। बिरामी लिएर हेली उडेपछि बल्ल हामी स्वास्थ्यकर्मीहरूको अनुहारमा अलि उज्यालोपन आयो।’ हाल बिरामीको उपचार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली आइसियूमा भइरहेको छ। साल अझै निकालिएको छैन।
‘बिरामीको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको र शरीरमा रगतको मात्रा अलि ठिक भएपछि साल निकाल्ने प्रयास गरिने जानकारी पाएका छौँ।’ साह भन्छन्, ‘यो दुर्गम ठाउँमा बसेर काम गर्दै गर्दा हुनेखाने र कोही नहुने/गरिबको ज्यानको मूल्य निकै नै फरक रहेछ भन्ने कुराको अनुभव बेलाबेलमा भइरहन्छ। हुनेखानेलाई हाच्छ्युँ आउँदा पनि गेट वेल सुन जस्ता प्रतिक्रियाको ताँती लाग्छ भने अर्कोतिर आर्थिक अभाव तथा अज्ञानताका तथा अन्य कारणहरूले पशु सरह ज्यान गुमाउने केसहरू कत्ति छन् कत्ति। यो सामाजिक असमानताको एउटा निर्जीव दर्शक बन्न बाहेक केही गर्न सकिएको छैन।’
‘प्रसूतिपछि आमाको ज्यान जानुको कारणहरूमा प्रमुख कारण धेरै रक्तस्राव हुनु हो। बेलाबेलामा यस्तो घटनाले सामाजिक सञ्जालहरुमा शीर्षक बन्ने, अस्पतालमा लापरबाही भयो, बच्चा जन्माउन जाँदा पाठेघर निकालियो भनेर होहल्ला/तोडफोड हुने भई राख्छ। तर यस्तो कठिन अवस्थाको सफलता पूर्वक उपचार हुँदा कहिले चर्चाको विषय बन्दैन। म मेरा सहकर्मी स्वास्थ्यकर्मी मित्रहरूलाई धन्यवाद दिनलाई भए पनि यस्तो गम्भीर घटना सार्वजनिक गरेको हुँ,’ उनले भने।
साहले रातिको समयमा समन्वय गरी हवाई उद्धारमा मदत पुर्याउने सबैलाई र राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट हवाई उद्धार गर्ने नेपाल सरकार/नेपाली सेनालाई धन्यवाद दिएका छन्।