काठमाडौं- सिर्जना अधिकारी २०५७ सालमा लैनचौरको शान्ति विद्यागृहमा साइन्स पढ्दै थिईन्। ११ कक्षा पढिरहेकी उनलाई घरका अन्य सदस्यले नर्सिङ पढ्न कर गरिरहेका थिए। उनलाई भने साइन्स छोडेर नर्सिङ तिर जान मनै थिएन।
‘दाई मेडिकल डाक्टर हुनुहुन्थ्यो उहाँले नै वीर अस्पतालमा फर्म भर्दिनु भएछ। एक दिन पनि तयारी नगरेर इन्ट्रान्स दिएको थिएँ। दुई नम्बरमा नाम निस्किएछ,’ उनी सम्झिन्छिन्।
‘त्यो समय वीर हस्पिटलमा नर्सिङको जम्मा २० सिट थियो परीक्षा दिने भने १८०० जना थिए। मेरो नाम दूई नम्बरमा निस्किए पनि म खुसि भने थिईन्। तर परिवारका सदस्यहरुले नर्सिङको स्कोप राम्रो छ भनेर भनिरहनु भएको थियो। त्यसपछि यता साइन्सको परीक्षा भईरहेको समयमा समेत त्यो छोडेर म नर्सिङ तिर गएँ,’ उनले भनिन्।
लमजुङको दुराडाँडामा जन्मिएकी उनले एसएलसी सम्मको अध्ययन गाउँकै सर्वोदय माध्यामिक विद्यालयबाट गरिन्। बच्चैबाट सधैं पढाईमा अब्बल उनलाई किन किन साइन्समा रुची थियो तर आफ्नो रुचीलाई छाडेर उनी नर्सिङ तिरै रमाउन थालिन्।
‘नर्सिङ पढ्दै जाँदा राम्रो भयो, त्यो विषय मन पर्दै गयो। २०६१ सालमा नर्सिङमा पास भएँ। पास हुने बित्तिकै हस्पिटलमा काम गरिहाल्ने मन भने थिएन। त्यसपछि केही समय नर्सिङको इन्ट्रान्स प्रिप्रेसन क्लासहरू पढाउन थालें,’ उनी सम्झिन्छिन्।
उनले २०६२ सालमा बौद्धको स्तुपा सामुदायिक अस्पतालमा नर्सको रुपमा आफ्नो जागिर सुरु गरिन्। त्यहाँ केही समय काम गरिसकेपछि उनी २०६३ सालबाट टिचिङ अस्पतालमा काम गर्न थालिन्। टिचिङमै काम गर्दै गर्दा उनले नर्सिङमा स्नातक (ब्याचलर इन नर्सिङ) गरिन्।
नर्सिङबाट मनोविज्ञानतिर
‘बौद्धको स्तुपा सामुदायिक अस्पतालमा काम गर्दा विभिन्न डीसअर्डर भएका मानिसहरुलाई त्यहाँका मनोचिकित्सकहरुले घन्टौं कुरा गरेको, एक दुई दिन अस्पताल राखे पछि निको भएर घर पठाएको देखेर कस्तो अच्चम्म लाग्थ्यो, के गर्छ होला झैँ लाग्थ्यो। त्यसपछि मलाई यो फिल्डमा चासो बढ्न थाल्यो,’ उनले भनिन्।
त्यही हुटहुटिले उनले त्रिभुवन विश्वविद्यालयमा मास्टर्समा साईकोलोजी गरिन्। नर्सिङको जागिर गर्दागर्दै उनले मास्टर्स पनि सकिन्। उनलाई जसरी भए पनि चिकित्साशास्त्र अध्ययन सस्थांन(आईओएम) को एउटा डिग्री लिन्छु भन्ने थियो।
‘टिचिङमा काम गर्दा मलाई महाराजगन्जको एमफिल डिग्रीको बारेमा थाहा थियो,एमफिलमा क्लिनिकल साइकोलोजी पढाई हुन्छ भनेर थाहा भएपछि मलाई त्यो डिग्री जसरी भए पनि पढ्छु भन्ने भयो। त्यो एमफिल पढ्नको लागि मास्टर्स साइकोलोजी पढ्न पर्ने रैछ। त्यसपछि मैले २०१३ मा साइकोलोजी सकाएँ अनी त्यसपछि २०१४ बाट मैले आईओएममा एमफिल सुरु गरें,’ उनी सम्झिन्छिन्।
यता एमफिल सुरु गर्ने समयमा उनले टिचिङ अस्पतालको जागिर छाडिन्। त्यसपछि उनले फर्किएर नर्सिङको काम गरेकी छैनन्। सन् २०१८ बाट उनी चिकित्सा मनोविद्को रुपमा कान्ति बाल अस्पतालमा कार्यरत छिन्। कान्तिमा जोडिनु अघि उनले ग्राण्डी अस्पतालमा, रिदम अस्पतालमा पार्टटाइम चिकित्सा मनोविदको रुपमा नै काम गरिन्।
नर्सिङ पढ्ने बेला देखी नै नर्सिङमा उति चासो नभएकी उनलाई नर्सको पेसामा सम्मान पाएको महसुस कहिल्यै भएन। चिकित्सा मनोविदको रुपमा काम गर्दा उनलाई जीवनमा आफ्नो काममा खोजेको सम्मान, मुल्य र गौरब पाएको महसुस हुन्छ।
‘हुन त आफ्नो आफ्नो विचार हो तर म भने नर्स हुदा भन्दा अहिले खुसी छु। नर्स भएर काम गरिरहँदा त्यो पेसामा सम्मान नपाएर मलाई सधैँ जागिर छोड्छु भन्ने लाग्थ्यो। तर पनि नर्सिङले मलाई धेरै कुरा सिकायो,’ उनले भनिन्।
अहिले उनी मानसिक समस्या भएका बच्चाहरूसँग काम गर्छिन्। उनी भन्छिन्,‘मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै बहसको विषय बनोस्। नर्सिङ लगायत सबै क्षेत्रमा काम गर्नेहरुले उचित सम्मान र कामको मुल्य पाउन्।’