गगन एकै छ। बादलहरु पनि तिनै छन्। धर्ती उही छ। जवलायु तिनैछन्। प्रकृति उही हो। प्रजनन पद्धति एउटै छ। प्राणी उनै हुन्। जीव-जीवात्मा सँगै छन्। आ-आफ्नो जन्मभूमीमा जन्मेका, हुर्केका, पढेका र बढेका मानिसहरूको मात्र सोच, विचार, व्यवहार फरक देखिन्छ। तथापि एक सकारात्मक सोचको अदम्य उदाहरण हो नर्स र नर्सिङ पेसा।
बिरामी, असहाय र अशक्तहरूलाई सेवा दिएर आफू आनन्दित हने मर्यादित पेसा नर्सिङ हो। नर्सिङ पेसा गर्ने व्यक्ति नर्स हुन्। असाध्यै पवित्र मानिने यो पेसालाई बिरामीको असल साथीको रुपमा पनि लिइन्छ। सुदूर इलाकाबाट अशक्त जीवनलाई सकुशल फर्काएर सन्चो भएको जीवनकै उल्लासपूर्ण फूलबारीमा ल्याइपुर्याइ दिएर मानवीय सेवा-भावनाको श्रीवृद्धिमा मलजल गर्ने काम अस्पतालमा बसेर नर्सहरुले गर्दछन्।
यही उच्चकोटिको सम्मानित पेसा अपनाउन आइपुगिन, सरिता पाण्डे।
सरिताका काका दशकौंपहिला नै पूर्वको रमणीय शहर दार्जीलिङबाट काठमाडौं आएर बसेका थिए। राम्रो तबलावादक भएकाले उनीसँग नेपालका राजादेखि जनतासम्म सबै खुसी थिए। आफ्नै नेपालीभाषी भएकाले कसैले पनि भारतीय भनेर उनलाई विभेद गरेका थिएनन्। उनै तबलावादक हरिकृष्ण पाण्डेले आफूलाई काठमाडौँमा साथी हुन्छ भनेर आफ्नै माहिला दाजुकी छोरी सरितालाई आफू आएको केही वर्षपछि काठमाडौँ ल्याएका थिए।
बाह्र वर्षको उमेरमा सरिता काकासँग नेपाल आएर काठमाडौंको दरबार हाइस्कुलमा भर्ना भएकी थिइन्। काकासँग लगनमा डेरा गरी बसेकी ती सरिता लगनशील र साहै मिहिनेती पनि थिइन्। फलस्वरूप, राम्रो अङ्क ल्याएर एस.एल.सी. उत्तीर्ण गरिन्। त्यति बेलाको पढाइ हुने धेरै विषयमध्ये नेपालमा नर्सिङ विषय विशेष अपहेलित थियो। अज्ञानताका कारण "छोरी बिग्रिए नर्स र छोरा बिग्रिए कमर्स' भन्ने उखान थियो, हाम्रो शहरमा। तापनि, सरिता दार्जीलिङको शैक्षिक चेतनाको हावाले ठीक र बेठीक छुट्याउन सक्ने चेतनशील कन्या थिइन्। त्यसैले, परिवारका सदस्यहरुको सल्लाह र आफ्नो इच्छाअनुसार उनी शान्ताभवन कलेजमा पी.सी.एल. नर्सिङ विषय पढ्नका लागि भर्ना भइन्।
उति बेला नर्सिङ पढ्ने सबै विद्यार्थीलाई हौसला दिन मासिक भत्ता सरकारले दिने गर्थ्यो। सरिताले पनि प्राप्त गरिन्। यसरी सरकारबाट प्राप्त हुने मासिक भत्ताले उनलाई पढाइको सबै खर्च पुग्थ्यो। उनी नर्सिङ भर्ना भएर पढ्न थालेकै वर्ष तत्कालीन युवराज वीरेन्द्र वीर विक्रम शाहले नेपालको राजा हुने अवसर पाएका हुन्।
पहिलो वर्षको पढाइ सुरू भएको वर्ष दिन नहुँदै त्यस वर्षको बडादशैं आयो। कलेज प्रशासनले सबै छात्रावासदेखि कलेजसम्म पैतालीस दिन बन्द गरिदियो। कलेज छुट्टी भएपछि उनी काकाको डेरामा आइन्। डेरामा आउँदा कोठा बन्द देखेर घरबेटीकोमा सोध्न गइन्। घरबेटीका अनसार सरिताका काका हरिकृष्ण वाद्यवादन कामकै सिलसिलामा दिल्ली गएछन्। केही दिन उतै बस्नुपर्ने भएकाले भतिजीलाई घरबेटीकोमा एउटा चिठी लेखेर छोडेका रहेछन्।
काका डेरामा नभएकाले कलेज छुट्टीको बेलामा अब कहाँ जाने भन्ने पिरलो सरितालाई भयो। तर, काकाले जाने बेलामा लेखेको चिठीमा कुनै विपद आइलागे झापा घर भएकी लक्ष्मी दिदीको घर जानू, अन्यथा डेरामै बस्नू भनी लेख्नुभएको रहेछ। त्यसैले, काकाले दिएको सल्लाहअनुसार उनले लक्ष्मी दिदीको घर जाने निधो गरिन्। काकाले ठेगाना लेखिदिएको कागज झोलामा राखेर कलेज बिदा भएको भोलिपल्ट नै सरिता झापा जाने नाइट बसको टिकट काटेर हुइँकिइन्।
अघिल्लो दिन दिउँसै काठमाडौंबाट हिंडेको गाडी भोलिपल्ट दिउँसोको दुई बजे मात्र झापा पुग्यो। गाडीबाट ओर्लिएपछि स्थानीय मानिसहरूसँग आफूसँग भएको ठेगाना देखाउँदै, सोधपुछ गर्दै घर पत्ता लगाएर उनी झम्के साँझमा जेठी फुपूकी छोरी लक्ष्मी दिदीको घर गौरादहमा पुगिन्।
लाग्दो असोजको महिना थियो। काठमाडौँमा जाडो सुरू भए पनि झापा भने गर्मीले तातेकै रहेछ। वरिपरि हिँडडुल गर्ने मानिसहरूले बाक्ला लुगा लगाउन थालेका थिएनन्। जब उनी दिदीको घरको आँगनामा पुगिन्, पिँढीमा बसेर चामल केलाइरहेकी उनकी लक्ष्मी दिदी उनलाई अनायास आफ्नो आँगनमा आएको देखेर अचम्मित भइन्। अनि, हतारिँदै उठेर नजिकै पुगिन्।
खुसी हुँदै, सरितालाई अँगालो मारेर चिच्याउँदै भनिन, 'थाहै नदिई यो बहिनी सरिता पो आई त हौ। डल्लै खुसी पार्ने भई त। अन्त काँदेखि आइस् हो ?
अपरिचित केटीसँग आफ्नी बुहारीको चालामाला देखेर दलानमा बसेका लक्ष्मीका सासू, ससुरा दङ्ग परे। उनीहरु दुवैको मनमा कौतहलता छायो। यति राम्री, सफासुग्घर कपडा लगाएकी, हेर्दैमा शील-स्वभावले भरिएकी सुशील देखिने शहरिया को केटी आई हाम्रो घरमा भन्ने उनीहरूको मनमा पर्यो।
लक्ष्मी दिदीको ससुराले उठेर हतारिँदै सासूलाई सोधे, 'हन ए बूढी ! यी नानी को हुन् हौ, तिमीले चिनेकी छौ ?'
सासूले भनिन्, "नि बूढा खोइ, को रहिछिन्, हन हो, मैले पनि ठम्याउन सकिनँ। आप्पो, कति राम्री नानी हुन् नि, फूलको थुंगाजस्ती !'
यत्तिकैमा लक्ष्मीले सरितालाई सासू, ससुराको नजिकै लगेर परिचय गराइन्। लक्ष्मीले भनिन्, 'बुबा, आमा, यो मेरी बहिनी सरिता होन्त। ऊ के दार्जीलिङ गान्धीग्राम बस्ने माहिला मामाकी छोरी कान्छी हौउ। यो पनि अहिले कान्छा हरिकृष्ण काकासँग बसेर काठमाडौँमा पढ्छे अरे ! पढ्ने ठाममा अहिले दशैं छुट्टी होरेन्त। काका पनि डिल्ली जानुभएछ। डेराँ एक्लै के बसोस्। अन्त दशैं मनाउन यो हाम्रो घरमा आएकी अरे !
लक्ष्मीको कुराले उनकी सासू खुसी हुँदै बोलिन्, “ए हो र ? अन्त जाती भैगोन्त लक्ष्मी। हाम्री छोरी यही साल बिहे गरेर पराइघर गएकीले यो दशैंको घर शून्य भएको थियो। यिनी आइछन्। अब हाम्रो दशैँ पनि उज्यालो हुने भोन्त।'
यस्तो कुरा हुँदाहुँदै आपसमा ढोग गर्ने र आशीर्वाद दिने काम सकियो। त्यसपछि हाँस्दै लक्ष्मीले सरिताको झोला बोकेर अघि लागिन्। सरिता लक्ष्मी दिदीको पछि-पछि लागिन्। घरको ढोकाभित्र पस्न आँटेकी मात्र के थिइन्, दिदीका ससुरा बाले ठूलै चीज भुलेझैं गरी सारितालाई सोधे, 'हन हौ नानी। चाइने करे तिमीचैं, काठमाडौँमा के विषय पढ्छौ हो ? स्कुल कहाँ छ कुन्नि ?
बुढामान्छेको कुरा सुनेर सरिता फरक्क फर्किएर उभिइन्। अनि, हाँस्दै भनिन्, 'अन्त म पनि भन्न भुलेछु कि बुबा, मिसनले चलाएको छन्त हो शान्ताभवन नर्सिङ कलेज, अन्त त्यहीं नर्सिङ पहिलो वर्षमा पढ्छुन्त हो। कलेजकै होस्टेलमा बस्छु। काका दिल्ली जानुभएछ, त्यसैले यहाँ आएकीन्त। त्यो नर्सिङ विषय तीन वर्ष डल्लै पढ्नुपर्छ। अन्त अस्पतालको जागिर छ्यास्छ्यास्ती होन्त बुबा। बिमारीको औषधि गर्ने काम हो हाम्रो।'
उनको कुरा बीचमै रोकेर बूढा मान्छेले अनुहार बिगार्दै, पख-पख भन्दै उठेर आई हत्त न पत्त लक्ष्मीले समातेको झोला खोसेर भुइँमा राखे। अनि भने, "हन लौ झन्डै बित्यास पो भएछ त बुहारी ! चाइने केरे तिमी पनि के भाकी ? कुरो बुझ, नर्स पढ्नेहरूलाई चाइने केरे गाईको गहुँत खुवाएर गौदान नगरी यसरी डल्ल्लै घर पस्न दिनुहुन्न। त्यहाँ त सबै जातका मानिसहरु एकै ठाउँमा खाने, सुत्ने, बस्ने, हिंड्ने होरेन्त। फेरि चाइने केरे नर्सको काम पनि फोहोरी हुन्छ रे ! अन्त यो धेरैजसो तल्ला जातकाले गर्ने काम हो अरे ! त्यसैले, एकछिन् तिमरू बाहिरै पर्ख, म गुरू बोलाउँछु। अन्त यिनी हाम्रा घराँ आइहालिन्, जसरी पनि चाइने केर भित्र्याउनै पर्यो नि हौ।'
उनले श्रीमतीतर्फ सङ्केत गर्दै भने, 'हन ए बूढी ! चाइने केरे तँ के हेरिराकी हौ, गएर गाईसँग गहुँत मागेर लेन्त। म बाहुन बोलाएर ल्याउँछु हौ।'
यति भनेर लक्ष्मी दिदीको ससुरा बा दौडिए। बूढाको हाउभाउ र कुरा सुनेर लक्ष्मी र सरिता भने वाक्क न ब्याक्क पर्दै दलानमै टोलाएर उभिइरहे। केही बोल्नै सकेनन्।
साँझको बेला थियो | चकमन्नताले क्रमशः राज गर्दै थियो। पण्डित आएर हतार-हतार गौदान गरिदिए। गाईको गहुँत मन्त्रेर सरितालाई खान दिए। त्यसपछि मात्र बूढाले घरभित्र पठाए। बहिनीप्रति ससुराले गरेको व्यवहार देखेर लक्ष्मीलाई ठूलो पीडाबोध भयो। तर अरूले थाहा पाउलान् भनेर बाहिर देखाइनन्। दिदीका ससुराको यो व्यवहारले आफन्त सम्झेर दिदीको घर आएकी सरिताको मुटुमा ठूलो चोट पर्यो।
माथि कोठामा लगेर दिदी लक्ष्मीले झोला राखिदिइन्। अनि, आफू फर्किइन्। त्यसपछि सरिताको डाँको छुट्यो। धेरै बेर भक्कानिइन्।
बेकार यहाँ आएछु भन्ने ग्लानिले उनलाई बेस्सरी पोल्यो। समाजमा ज्ञान, विवेक र चेतना छर्न अनि दुःखीहरूको घाउमा मलहमपट्टी लगाउन आफूले रोजेको नर्सिङ पेसालाई समाजले नै यस्तरी तिरस्कार गरेको देख्दा सरितालाई ठूलो पीडा भयो। जसका लागि उनले यति पवित्र पेसालाई अँगाल्न लागेकी थिइन्, तिनैको मस्तिष्कमा यस पेसाप्रति प्रेमभाव नपलाउँदासम्म यो समाजको विकास कसरी सम्भव होला भन्ने कुराले उनलाई धेरै पिरोल्यो। संसार आधुनिकीकरणको बाटो हुँदै कहाँबाट कहाँ पुगिसक्दा पनि जाति र पेसालाई समस्या ठानेर मैमत्त भएका मानिसहरूको जमातले गर्दा नै हाम्रो समाज र हाम्रो देश उन्नतिको शिखरतर्फ अग्रसर हुन नसकेको कुरा सरिताले बल्ल बुझिन्।
यी र यस्ता कुराहरु मनमा खेलाउँदै झोला राखेकै कोठामा धेरैबेर रोएपछि आफैं आफ्नो मन बुझाएर सरिताले कपडा फेरिन्। त्यसपछि तल झरिन्। त्यो व्यवहारले आफूलाई चोट पुगेको कुरा उनले अरुलाई भनिनन्। त्यसैले, उनको मनमा भएको पीडा अरुलाई थाहा भएन।
दिदीको घरमा मनभरि पीडा बोकेर बडो मुस्किलले १५ दिनको छुट्टी सकाएर काठमाडौं फर्किएपछि सरिताले अबका दिनमा आफन्तहरूको घरमा कहिल्यै नजाने निधो गरिन्। पढाइ सकिएपछि पनि बरू आफूले नचिनेको नयाँ ठाउँमै काम गर्न जाने विचार गरिन्। सेवाभावका माध्यमबाट असहायहरुको मद्दत गरिरहने उत्कृष्ट अभिलाषा उनले मनभरि सजाइराखिन्। अरूको दुःखमा रून सक्ने र दुःखीहरूलाई बाँच्ने कला सिकाउने कार्यमा आफूलाई अग्रसर गराउने सोचले उनको मन-मस्तिष्क भरिपूर्ण थियो।
तीन वर्षपछि उनको प्रमाणपत्र तह नर्सिङको पढाइ पनि सकियो।
उत्कष्ट अङ्क ल्याएर प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएको दिन उनी र उनको परिवारमा खुसीको सीमा रहेन। उनलाई पढाउने गुरूहरूले कलेजमा भव्य बिदाइ कार्यक्रम राखेर पास भएका विद्यार्थीहरूलाई बिदाइ भोज समेत खुवाए। गाना-बजाना र रामरमिता पनि खूबै भयो। त्यही बिदाइ भोजमा आएका मिसनका कर्मचारीले सरितालाई आफ्नो संस्थाले सपोर्ट गरेर चलाएको काठमाडौँसँग जोडिएको तर दुर्गम क्षेत्रमा पर्ने जिल्लामा सेवाका लागि अनुरोध गरे। दुर्गम क्षेत्रमा गएपछि दुर्गम भत्तासहित आकर्षक तलब पाइने भएकाले सरिताले पनि हुन्छ म जान्छु भनिन्।
दुर्गम क्षेत्र, त्यसमाथि विदेशी संस्थाले सहयोग गरेको त्यस ठाउँमा अन्त भन्दा तलब पनि धेरै र राम्रो क्वाटरको पनि व्यवस्था रहेछ। तामाङ जातिको बहुल्यता भएको त्यस गाउँको सानो पन्ध्र बेडको अस्पतालबाट सरिताको नर्सिङ पेसा सुरू भयो। अस्पताल आएर उपचार गर्ने बानी नपरेका त्यस गाउँका मानिसहरूलाई सुरूका दिनमा अस्पताल आएर उपचार गर्ने बानी पार्नुपर्ने चुनौती सरितामा थियो। त्यसैले, उनले जागिरको सुरूमा गाउँ-गाउँमा गएर सुत्केरी गराउने, बिरामीको उपचार गर्ने र थप अनुसन्धान एवम् औषधिका लागि सबैलाई अनिवार्य अस्पतालमा बोलाउने गर्न थालिन्। त्यसपछि बिस्तारै अस्पतालमा नै बिरामी बोकेर ल्याउने वा आफैं आउने क्रम सुरू भयो।
सरिताको मीठो बोलीवचन, असल व्यवहार र डाक्टरहरुको कठोर मिहिनेतका कारण चार-पाँच वर्षको अवधिमा नै अस्पतालले चर्चा पायो। डाक्टरहरु कहाँको कहाँ पुगे। कति आए, कति गए। तर, नर्स सरिता भने त्यहीं बसिन्, सिस्टरनी दिदीका नामले त्यो अस्पताल वरिपरि प्रख्यात भइन्। त्यो गाउँ मात्र होइन, छिमेकी धेरै गाउँका मान्छे उनलाई राम्ररी चिन्दथे। माया गर्दथे। डाक्टरनी दिदी भनेर विश्वास पनि गर्दथे। त्यसैले, गाउँका बिहे, व्रतबन्धमा पाकेका मीठा खानेकुरासमेत उनका लागि अस्पतालमा नै ल्याइदिन्थे।
यसरी आफूले गरेको सेवाका कारण नाम कमाएकी सरिताले आफ्नै तलबको सञ्चयबाट जागिर खाएको छ-सात वर्षपछि राजधानीमा जग्गा लिएर एउटा सानो घर पनि बनाइन्। मानिसको जीवनमा आफ्नै घर हुनु भनेको पनि धेरै ठूलो कुरा हो। किनकि, बरू कुनै दिन भोकै बस्न सकिन्छ तर टन्न खाएर सडकमा सुत्न सकिँदैन। घर भएपछि कम्तीमा पेट भोकै भए पनि टाउको लुकाएर सुत्न सकिन्छ। आकाशको सिलिङमा झिलमिलाएका ताराहरु गन्दै बस्नुपर्दैन। काम र नामसँगै अब सरितासँग दाम पनि भयो।
बिहे नभएकी अविवाहित केटी ती सरिताले धेरै वर्ष एउटै अस्पतालमा काम गरिन्। एउटै गाउँमा धेरै वर्ष बस्दा उनको स्थानीय ठूलाबडा एक घरानियाका छोरासँग मन मिल्यो। अस्पताल सञ्चालक समितिका अध्यक्ष ती गाउँले साहूका छोराकी श्रीमती मरेको तीन वर्षजति भएको थियो। उमेरले तीस नकाटेका तिनी एक छोरा र दुई छोरीका बाबु थिए। उनीसँगै सरिताको प्रेम भयो | प्रेम भएपछि कसको के लाग्छ र ? उनीहरुले जिल्लाको सरकारी अड्डामा गएर कोर्ट म्यारिज गरे।
यो बिहेले दुवै पक्षका अविभावकहरु खूब खुसी भए। तर, आपसमा दुई इष्टमित्रबीच भेटघाट हुन नसकेकोमा भने दुःखी थिए। सरिताको माइती नेपालमा नभएर दार्जीलिङमा थियो। त्यसो हुनाले उनको बिहेमा माइतीपक्ष उपस्थित हुन सकेका थिएनन्।
सरिता अस्पतालको काममा व्यस्त हुन्थिन्। अनि, उनका पति लालकृष्ण आफ्नै घरको काममा व्यस्त हुन्थे। केही समयपछि सरिताका पतिको पनि त्यही अस्पतालमा जागिर मिल्यो। लालकृष्ण खरिद शाखाका कर्मचारी भए। नर्स सरिता र तिनका बेहुला लालकृष्ण अधिकारीले बिहेपछि खास गरी अस्पतालकै क्वाटरबाट आफ्नो वैवाहिक जीवन सुरू गरेका थिए।
आफ्नो श्रीमान्को अघिल्लो श्रीमतीबाट जन्मिएका सन्तानहरूलाई नै आफ्नो सन्तान सम्झने निधो गरेकी सरिताले आफूबाट थप सन्तान नजन्माउने प्रस्ताव लालकृष्णसँग राखिन्। उनको कुरामा दुवैजनाको सहमति भयो। बिस्तारै सरिता एउटा अस्पतालकी सक्षम नर्स मात्र होइन, ठूलो घरकी एउटा असल बुहारीको रुपमा समेत आफूलाई स्थापित गर्न सफल भइन्।
सरितालाई घर-परिवार र इष्टमित्रहरूले माया मात्र होइन, सम्मान पनि दिन थाले। सबै गाउँलेहरूको मुटुको ढुकढुकी बन्न सफल भएकी सरितालाई सामान्य चिया पसलदेखि ठूला चाडपर्वहरुमा समेत सबैले खोजी गर्न थाले। उनको अनुपस्थितिमा गाउँलेहरूको मन एकतमासको हुने गर्दथ्यो। सरिता पनि आफूले भ्याएसम्म सबैका आँखाअगाडि पावन कार्यहरूमा उपस्थित हुन थालिन्।
समाजमा जमघट हुँदा कुरा हुने र सम्मान पाउने व्यक्तिको रुपमा नर्स सरिताको नाम अग्रपङ्क्तिमा आउन थाल्यो। बिरामीको उपचार मात्र होइन, अब गाउँका श्रीमान्–श्रीमतीको घरायसी झगडामा समेत सरिताले दिएको इन्साफ नै अन्तिम हुने र दुवै पक्षका लागि मान्य हुने हुन थाल्यो।
गाउँघरको र अस्पतालको काम धेरै भएकाले सरितालाई अन्यत्र सोच्नेसम्म पनि फुर्सद भएन। त्यसैले, माइतीतिरका आफन्तहरूसँगको सम्बन्ध बिस्तारै टुट्दै गयो। कारण, मनले चाहेर पनि उनी समयसमयमा दार्जीलिङ पुग्न सकिनन्। माइतीमा मातापिताको देहान्तपछि सरिता माइतीतिर फेरि फर्केर गइनन्।
यसरी स्थानीय अस्पताल र घर-व्यवहारमा रूमलिएकी सरिताले सौतेनी छोराछोरीहरुको बिहेसमेत आफ्नै हातबाट धूमधामसँग गराइन्। छिमेकी गाउँकै एउटा कुलीन परिवारकी छोरीलाई बुहारी बनाउन पाएकोमा सरिताका परिवार झन् हर्षित थिए। बेला-बेलामा भन्ने गर्थे, “सरिता नभए त यो घरै अँध्यारो हुन्छ, यो गाउँ नै अँध्यारो हुन्छ।''
समय सधैं एकनासको हुँदोरहेनछ। सरिताको उमेर र समयले बिस्तारै नेटो काटदै थियो। जीवनको बोटबाट समयका चराहरूले उमेरको पात टिप्दै, फ्याँक्दै गरिरहेका थिए।
समयक्रममा सरिताको छोरालाई संयोगले अमेरिकाको डीभी पर्यो। त्यसपछि छोराबुहारी सँगै उतै गए। गएको केही वर्षमा बच्चाबच्ची पनि भएछन्। अनि त झन् उनीहरु उतै रमाएर बस्न थाले। बिस्तारै यता नेपालमा रहेका आमाबाबु खोज्ने इच्छा उनीहरुले देखाएनन्।
एकपटक अमेरिका घुम्न जाने, छोराबुहारी, नातिनातिना हेर्ने र भेट्ने ठूलो रहर सरिताको मनमा थियो। तर, नर्स सरिताको मनमा रहेको यो इच्छा मनभित्रै मात्र सीमित रह्यो। छोराबुहारीले बाबुआमालाई बोलाउने प्रयत्नसमेत गरेनन्। फोन र नेटबाट थाहा पाइने एक-आपसको सन्चोबिसन्चो अनि चाडपर्वको शुभकामनाको आदानप्रदानसमेत बिस्तारै एक आपसमा बन्द भयो। कतै दूधको नाता नभएर हाडको नातामात्रै भएर हो कि झैं भान हुनगयो।
लामो समयदेखि त्यस अस्पतालमा सेवा गरिराखेकी ती सरिताको उमेरले अब डाँडो काट्यो। स्थानीय समाजसेवी, नेपाल सरकार र विदेशी दाताहरूले हटाउन नचाहँदा नचाहँदै पनि नर्स सरिताको त्यस अस्पतालको सेवाबाट सदाका लागि बिदा हुने दिन आयो। उनको उमेरहदका कारणले जागिरे जीवन समाप्त हुने भयो। नर्स सरिता भाद्र महिनाबाट अनिवार्य अवकाशमा घर जाने भइन्।
उनको बिदाइका दिन अस्पताल परिसरमा गाउँका थुप्रै मान्छेहरु भेला भए। गाउँलेहरूको हात–हातमा फूलका मालाहरु र अबिर थिए। स्थानीयले लगाइदिएको माला र अबिरले पुरिएकी नर्स सरिताले अस्पतालको प्राङ्गणबाट बिदाइ मन्तव्य दिइन्। बोल्दाबोल्दै बीचमा उनको गला अवरूद्ध भयो। आँखाका आँसु पुछ्न व्यस्त उनका दुवै हात बेला-बेलामा माथि उठेर हल्लिन्थे | उपस्थित नागरिक र कर्मचारीहरु पनि बाध्य भएर उनलाई बिदाइ गर्नुपर्दा मुटुमा भक्कानो पारेर रूँदै थिए। 'हामीलाई नबिर्सनुस् नर्स सरिता दिदी' भन्दै शुभकामना र बिदाइको हात हल्लाइरहेका गाउँलेहरुको आँखामा साँच्चै प्रेम र मर्यादाको गहिरो गुम्फन भेट्न सकिन्थ्यो।
त्यति बेला उनका श्रीमान् रिटायर्ड भएको एक वर्ष भएको थियो। नर्स सरितालाई लिनका लागि त्यस दिन उनी पनि गाडी लिएर त्यो अस्पताल गएका थिए। सबैलाई रूवाउँदै अनि आफू पनि रूँदै ती दुवै श्रीमान्-श्रीमती अस्पतालबाट बिदा भएर हिंडे। पैदल हिँडेर त्यस गाउँम सेवा गर्न गएकी नर्स सरिता बिदाइ हुँदा अस्पतालको गेटमै उनलाई लिन गाडी लिएर उनका श्रीमान् आएका थिए। मुटुभरि पीडा बोकेर रुंदैरूदै काठमाडौंको घरमा बसेर बाँकी जीवन बिताउनका लागि उनीहरु हिँडे।
"धन्य विधाता, तिम्रो लीला। मान्छेलाई कहाँ जन्माउँछौ, कहाँ हुर्काउँछौ, कहाँ-कहाँ पुर्याउँछौ, जीवनमा कस-कसलाई भेट्टाउँछौ, के के गराउँछौं, कहाँ-कसरी राख्छौ। तिम्रो भरमा नै म जीवनभर हिँडे, जीवन पनि तिम्रो हातमा नै सुम्पेको छु।" मनमनले यति भन्दै गाडी चढेर काठमाडौं आएकी नर्स सरिता दिदीले अब बाँकी आफ्नो जीवन धार्मिक गतिविधिमा समर्पित गर्ने सोच बनाइन्।
उनी रिटायर्ड भएर शहर आएको दशौँ वर्षमा उनका श्रीमानको हृदयघातबाट निधन भयो। त्यसपछि उनी एक्ली भइन्। उनलाई एक्लै घरमा बस्दा जेल बसेझैं हुन थाल्यो। एक्लोपन भुल्नका लागि थुप्रै सामाजिक संघसंस्थाहरुमा जाने, आउने र असहायहरुको सेवा गर्ने गर्न थालिन। दिन त सजिलै बित्थे उनका तर साँझपछिको एक्लोपन उनका लागि अत्यास लाग्दो नै थियो। केवल दिनकाट्ने र काल पर्खने कामका लागि असहाय केन्द्रहरु उपयोगी नै भए।
जब एक्लै हुन्थिन् तब श्रीमान्को फोटो हेर्दै भन्ने गर्थिन्, 'मेरो प्राण हेर त, मेरो उमेर छँदा सधैं आफूलाई घेरेर राख्ने, एकैछिन् छोड्न नमान्ने समाजका ती मान्छे आज कता गए ? सबैका सामु मेरो प्रशंसा गरेर नथाक्ने तिम्रा आफन्त र इष्टमित्र आज कता गए ? आफूले जन्म नदिए पनि मुटुको टुक्रा सम्झिएका ती तिम्रा छोराछोरी आज कहाँ छन् ? हेर त, आज म एक्लै छु। तिम्रो र मेरो साझा मन्दिर यो हाम्रो घर, आज म एक्लैले कुर्दै छु | हिजो म सबैलाई सेवा गर्थे, औषधि दिन्थें, खान हुने र नहुने कुरा सिकाउँदै हिँड्थें। हरेक मान्छेहरूका आवश्यकता पूरा गर्न आर्थिक, नैतिक र शारीरिकरुपले सहयोग गर्थें। तर आज हेर त, म त्यही अशक्त अवस्थाको बिरामी छु। मेरो मुटुले काम गर्दैन। किड्नी फेल भएको छ। सुगरका कारण हात र गोडाहरु टेढा भएका छन्। तर, यति बेला मेरा लागि एक चक्की औषधि र एक गिलास तातो पानी दिने मान्छे भएन। यो तिमीले र मैले दुःख गरेर बनाएको विशाल आलिसान घर, मेरा लागि भूतबङ्गला भयो। म तर्साउने राक्षसनीजस्ती भएँ।'
यसरी आँसुले आफूलाई नुहाउने गरेको महिनौँपछि एकदिन साँझ सरिताको दाजुको नाति उनलाई भेट्न भनेर अनायास दार्जीलिङबाट उनको घरमा टुप्लुक्क आइपुगे। फुपू आमैको गुनासो र रूवाइलाई सहन नसकेर उसैले त्यसै रात अस्पताल लगेर भर्ना गरिदियो। जुन अस्पतालमा उनले नर्सिङ पढेकी थिइन्। उपचारको सीप सिकेकी थिइन्। त्यही शान्ताभवन अस्पतालमा उनको उपचारका लागि भर्ना गरियो।
डाक्टरले तुरून्त आई.सी.यु. वार्डमा पठाए। त्यही राखेर उनको उपचार थालियो। तर, उनको उमेर पनि असीको नजिक पुगिसकेको अनि धेरै रोगहरूले च्यापिसकेको कारणले जति उपचार गर्यो थप जटिल हुँदै जाने भयो।
उच्च रक्तचाप, अनियन्त्रित सुगर, मृर्गौला फेल आदि विभिन्न रोगका कारण आई.सी.युमा राखेर उपचार गर्दागर्दै औषधिले काम नगरेर त्यही अस्पतालमा नर्स सरिताले मृत्युवरण गरिन्।
उनको निष्प्राण शरीर मात्र यस धर्तीमा बाँकी रह्यो। आत्मा उडेर अर्कै दुनियाँमा गयो। दार्जीलिङबाट पढ्न भनी काठमाडौँ शहर आएकी सरिता दिदी यही काठमाडौँको शान्ताभवन अस्पतालबाट सदा-सदाका लागि बिदा भएर स्वर्गवासतर्फ गइन्।
रातको अँध्यारो फैलावट व्यापक थियो। यही अँध्यारोमा एउटा मगमगाउँदो सेतो पारिजातको थुङ्गो भुइँमा खस्यो र ओइलायो। हावाले पारिजातको सुवास लिई गयो, क्षितिजपारिसम्म। डाँडाकाँडाहरु तपस्वी झैं मौन बसे। आकाशको जुन-जुन गोलार्द्धमा बादलका पातला चोक्टाहरु थिए, ती आ-आफ्नै ठाउँमा चुपचाप टोलाएर बसे।
बाटाहरूमा कुनै होहल्ला भएन। बस्तीहरुमा कुनै हलचल आएन। शङ्खको आवाज आएन। हिंड्नेहरु हिँडिरहे। बोल्नेहरु बोलिरहे। निदाउनेहरु निदाइरहे। स्वर्गबाट रङ खसेपछि उडौँला भनी बसेका पुतलीहरु डालीमै बसिरहे। परागहरुले फूलका पत्रहरूसँग सम्बन्धविच्छेद गरेनन्। जून निभेन, ताराहरु निभेनन्। समाजसेवाको मार्गमा आफ्नो जिन्दगीको लगभग सबै कालखण्ड समर्पण गरेकी सरिता दिदीको महाप्रस्थानमा यस धर्तीका यावत् चीजहरु जस्ताको त्यस्तै यहीं रहे। उनको निष्कपट प्रेम र हार्दिकता पनि यही रह्यो। उनी मात्र गइन्। मात्र उनी।