काठमाडौं- बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढिरहेका छन्। बुधबार भारतमा १६ हजार एकसय ५९ जना, पाकिस्तानमा आठ सय १८ जना र दक्षिण कोरियामा १९ हजार तीनसय ७१ जना कोरोना संक्रमित थपिएका छन्।
यसैगरी मलेसियामा दुई हजार नौ सय ३२ जना नयाँ बिरामी थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोना संक्रमितको सङ्ख्या ४५ लाख ७८ हजार सातसय ४१ जना पुगेको छ। हाल भारतमा कोरोनाका कुल संक्रमितको सङ्ख्या चार करोड ३५ लाख ४७ हजार ८०९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ।
२४ घण्टाको समयावधिमा कोरोना संक्रमणमा २८ को मृत्यु भएको थियो। कोरोना शुरु भएबाट हालसम्म यस महामारीका कारण पाँच लाख २५ हजार २७० को मृत्यु भएको छ। हाल भारतमा एक लाख पन्ध्र हजार २१२ सक्रिय संक्रमित रहेका छन्। करिब चार महिनापछि गत हप्ताबाट सक्रिय संक्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ।
पछिल्लो एक दिनमा १५ हजार ३९४ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २९ लाख ७ हजार ३३७ पुगेको छ। कोरोना भाइरस निको हुने यो दर ९८.६१ प्रतिशत रहेको छ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८८ लाख डोजभन्दा बढी खोप लगाइएको छ। यहाँ कोरोना संक्रमण शुरु भएबाट हालसम्म ८६ करोड २० लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ।