काठमाडौं- नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको छ।
काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए।
उनका अनुसार देखिएको संक्रमणमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति (बीए फाइभ) हो। निर्देशक दासले नयाँ प्रजातिको भेरियन्टबारे अध्ययन गरिरहेको बताए।
'हामीलाई पनि हिजो धुलिखेल अस्पतालबाट ओमिक्रोनको नयाँ प्रजातिका बारेमा जानकारी प्राप्त भएको छ', उनले भने, 'कुन बिरामीमा ओमिक्रोनको नयाँ प्रजाति भेटिएको भन्नेबारमा हामीले अध्ययन गरिरहेका छौँ।'
महाशाखाले पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रमित बिरामीको नमूनाको जीन सिक्वेन्सिङ अध्ययन गरिरहेको छ।
निर्देशक डा दासले एक/दुई दिनमा काठमाडौँमा गरिएको जीन सिक्वेन्सिङबारे थाहा हुने बताए। युरोप र अफ्रिकामा फैलिएको कोरोनाभाइरसको ओमिक्रोन बीए फाइभ उपप्रजाति नेपालमा पनि पुष्टि भएको हो।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भने- 'असार १५ गते कोभिड पुष्टि भएका व्यक्तिको जीन सीक्वेन्सिङ गर्दा १७ गते बीए फाइभ भेटिएको हो। यो नयाँ भेरियन्ट होइन, ओमिक्रोन भेरियन्टकै एउटा उपप्रजाति हो र सर्ने तरिका पनि उही नै हो।'
बीए फोर र बीए फाइभ भेरियन्टका दुई नयाँ उपप्रजातिहरूका कारण कोरोनाभाइरस संक्रमण दर विश्वभर पुनः बढिरहेको छ।
नेपालमा पनि केही दिनदेखियता यसको संक्रमणदर बढिरहेको छ। ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजातिबाट संक्रमण पुष्टि भएकै साता नेपालमा ३४९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यो उपप्रजातिहरूलाई मार्च महिनामा निगरानीको सूचीमा थपेको हो र युरोपमा यो 'चिन्ताजनक भेरियन्ट' को सूचीमा छ।
प्रारम्भिक अध्ययनहरूमा कम घातक भनिए पनि छिटो फैलन सक्ने देखिएकाले जोखिम समूहमा रहेका व्यक्तिहरूले सतर्कता अपनाउनुपर्ने विज्ञहरूले बताएका छन्।
ओमिक्रोन भेरियन्ट कोरोनाभाइरसका अघिल्ला उत्परिवर्तनहरूभन्दा कम घातक देखिएको प्रारम्भिक विवरणहरू आए पनि यसबारे विस्तृत अध्ययन नभएको विज्ञहरूले बताएका छन्।
यसअघि कोरोनाभाइरसका अल्फा र डेल्टाजस्ता प्रमुख भेरिएन्टहरू देखिएका थिए जसले संक्रमणको ठूलो लहर निम्त्याएका थिए।
सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान भएको यो भेरियन्ट छिमेकी देश भारतसहित अधिकांश युरोपेली देशहरू, अमेरिका, अस्ट्रेलिया र अफ्रिकामा पुष्टि भएको छ।
पछिल्लो समय युरोपका धेरै देशहरूमा अधिकतम संक्रमण बीए फाइभ प्रजातिको छ।