अछाम- नेकपा एमालेका सचिव योगेश भट्टराईले बयालपाटा अस्पताललाई दीर्घकालिन रुपमा संचालन गर्न संघीय सरकारले पनि साथ दिनुपर्ने बताएका छन्। बयालपाटा अस्पतालले दुर्गम क्षेत्रका जनतालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेकाले यसको दिगोपनाका लागि आफूले पनि पहल गर्ने बताएका छन्।
नेकपा एमाले तत्कालिन महासचिव मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला समिति अछामले आयोजना गरेको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको अवसरमा अछाम पुगेका पूर्वमन्त्री भट्टराईले बयालपाटा अस्पतालको अवलोकन गर्दै देशकै नमुना अस्पताल भएको भन्दै यस प्रकारको मोडल स्थानीय पालिकामा पनि लागु गर्नुपर्ने बताए।
पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख एवंम राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका ईन्चार्ज समेत रहेका नेता भट्टराईले देशका हरेक पालिकामा सेवाग्राहीको आवश्यक्ताका आधारमा अस्पतालको शय्या तय गरी बयालपाटा अस्पताललाई नमुनाको रुपमा निर्माण गर्न सकिने उनको भनाई थियो।
यस्तै अछाम क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य यज्ञ बोगटीले बयालपाटा अस्पतालको दिगोपनाका लागि प्रदेश र संघीय सरकारमा पहल गर्ने बताए। आफूले विशेष समय लिएर भएपनि अस्पतालका बिषयमा कुरा उठाउने उनको भनाई थियो।
भ्रमणमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष डा झलक शर्मा गौतम, युवा संघ नेपालका स्थायी कमिटी सदस्य बिनय शाह लगायतको सहभागीता रहेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रिय सचिव एबम सुदूरपश्चिम इन्चार्ज सिद्ध ढुगानाले बताए।
बयालपाटा अस्पतालले प्रदान गरिरहेको सेवाका बारेमा अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा मन्दिप पाठकले जानकारी गराउनुका साथै अस्पताल भम्रण तथा निरिक्षण गराएका थिए।