अछाम- जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ७ रिडिकोटमा रहेको बयालपाटा अस्पतालमा हुने हरेक छलफलमा अस्पतालको गुणस्तरिय स्वास्थ्य सेवाको दिगोपना मै छलफल केन्द्रित भईरहेका छन्। पछिल्लो केहि वर्षयता अस्पतालले निशुल्क रुपमा प्रदान गरिरहेको गुणस्तरिय सेवाको दिगोपना हुनुपर्नेमै धेरैजसो छलफल केन्द्रित हुन थालेका हुन्।
अस्पतालले आयोजना गर्ने विभिन्न छलफलहरुमा बयालपाटा अस्पताल दुर्गम क्षेत्रका जनताका लागि बरदान सावित भएको भन्दै यसको दिगोपना हुनुपर्नेमा सरोकारवालाको जोड हुने गरेको छ।
यसअघि विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय दातृ निकायको सहयोगमा संचालन हुदैँ आएको बयालपाटा अस्पतालमा कोभिड १९ को महामारीपछि आर्थिक समस्याले यसको दिगोपना कसरी हुने विषयमा विभिन्न चरणमा छलफल भईहरेका छन्।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा न्याय हेल्थ नेपालको व्यवस्थापनमा संचालनमा रहेको बयालपाटा अस्पतालको कुनैपनि सेवामा कमि हुन नदिई अस्पताल संचालन भईरहनुपर्नेमा जिल्लास्थित सरोकारवालाको जोड छ।
५० बेडको अस्पताल प्रदेश सरकारको मातहतमा हुनुपर्ने व्यवस्था अनुसार बयालपाटा अस्पताललाई सुदूरपश्चिम प्रदेश मातहतमा राख्नेगरी काम भईरहेकोले यसको मुख्य अपनत्व प्रदेश सरकारकै हुनुपर्नेमा उनिहरुको जोड छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र अछाम जिल्लाका स्थानिय पालिकाका प्रमुख तथा प्रतिनिधिहरुसँग न्याय हेल्थ नेपालले आईतबार अन्र्तक्रिया कार्यक्रम गरेको छ।
उक्त कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निति तथा योजना महाशाखा प्रमुख डाक्टर गुणराज लोहनीले बयालपाटा अस्पतालले प्रदान गरिरहेको गुणस्तरिय सेवामा कुनै संका नरहेको भन्दै यसको दिगोपनाका लागि तीन तहकै सरकारले भूमिका खेल्नुपर्नेमा जोड दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि अस्पतालको दिगोपनाका लागि एक हिस्सेदार बन्न तयार रहेको डा लोहनीले बताए। अस्पतालले प्रदान गर्ने न्युनतम आधारभुत स्वास्थ्य सेवाको मुल्यांकन गरेर त्यसको नतिजा राम्रो भए अस्पताल संचालनमा कुनै समस्या नआउने डा. लोहनीको भनाई थियो।
डा लोहनीले आधारभुत स्वास्थ्य सेवा हरेक नागरिकको अधिकार रहेको भन्दै नागरिकले त्यो सेवा नपाए अब मुद्धा हाल्ने अवस्थाको समेत सृजना हुनसक्ने भन्दै सचेत समेत गराए।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयकी सचिव रिता भण्डारीले अस्पतालको दिर्घकालिन स्वास्थ्य सेवाको लागि आफू र प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउदैँ त्यसको लागि नितिनिर्माण र कार्ययोजना तयार पार्नुपर्नेमा जोड दिईन्। उनले जिल्ला अस्पताल र बयालपाटा अस्पतालबीच समन्वयकारी भुमिका हुनुपर्ने र एकअर्काले सहयोग गर्नुपर्नेमा जोड दिईन्। साथै उनले न्याय हेल्थ नेपालले समुदायमा गरेको काममको रिर्पोटिङ नहुँदा प्रतिफल आउन नसकेको बताईन्।
कार्यक्रममा सहभागी स्थानिय तहका प्रमुख तथा उपप्रमुख, स्वास्थ्य कार्यालय अछामका प्रमुख, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि र वडाअध्यक्षहरुले अस्पतालको दिगोपनाका लागि हरेक वर्ष हारगुहार गर्नुपर्ने कामको अन्त्य हुनुपर्ने र अस्पतालको लागि हरेक वर्ष बजेट सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए।