काठमाडौं– नेपाली औषधि बजारमा थप एक नयाँ औषधि उत्पादक कम्पनीको औषधि छिट्टै बजारमा आउने भएको छ। करिब ९० करोड लगानीमा बाँकेमा स्थापना भएको आईडियल फार्मास्युटिकलस् कम्पनी प्रालिले आगामी वैशाखसम्म नेपाली बजारमा औषधि ल्याउने तयारी गरेको छ।
विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन मापदण्ड (जिएमपी) लगायतका आवश्यक सबै मापदण्ड पुरा गर्दै कम्पनीले वैशाखमा १७ प्रकारका औषधि बजारमा ल्याउन लागेको हो। यसका लागि आईडियल फर्मास्युटिकल्सले औषधि व्यवस्था विभागमा आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा कुमार शान शाह अध्यक्ष रहेको कम्पनीमा औषधि क्षेत्रमा नै लामो समय काम गरेका अनुभवी व्यक्ति तथा चिकित्सकहरुको समूहको लगानी रहेको छ। कम्पनीमा जग्गा, भवन तथा अत्याधुनिक उपकरणसहित गरि ९० करोड लगानी रहेको कम्पनीका कार्यकारी निर्देशक शरदचन्द्र ओझाले जानकारी दिए।
उनका अनुसार अन्य औषधि उत्पादक कम्पनीहरुभन्दा आईडियल पृथक रुपमा अगाडि आएको छ। ‘हामी अन्यभन्दा केही पृथक रुपमा अगाडि आएका हौँ। साझा औषधि बनाउने भन्दा पनि हामी नयाँ नयाँ औषधि उत्पादन गर्नेमा जोड दिइरहेका छौं।’
उनका अनुसार पहिलो चरणमा आईडियलले आँखा, नाक, कान र घाँटीका रोग तथा समस्याको उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्ने भएको छ। यसका लागि औषधि व्यवस्था विभागले उत्पादन अनुमति समेत दिइसकेको छ।
‘आँखा, नाक, कान र घाँटीको औषधि उत्पादनका लागि औषधि व्यवस्था विभागबाट स्वीकृति पाइसकेका छौं, ’ उनले भने, ‘अब बजारमा पठाउन मार्केटिङ लाइसेन्स पाउनेवित्तिकै हामी बजारमा पठाउन थाल्नेछौं।’ उनले आगामी वैशाखसम्म १७ प्रकारका औषधि बजारमा पठाउने गरी तयारी अगाडि बढेको र त्यही अनुसार औषधि व्यवस्था विभागमा लाइसेन्सका लागि आवेदन समेत दिइसकेको जानकारी दिए।
औषधि उत्पादनका लागि कम्पनी रहेको स्थानमा ३ विघा क्षेत्रफल जमिन रहेको र ३६ हजार स्क्वाइरफिटमा कारखाना बनाइएको छ।
औषधि उत्पादनका लागि विश्व स्वास्थ्य संगठनको जिएमपी, औषधि व्यवस्था विभाग र युएसएफडिएको मापदण्ड अनुसार कारखाना बनाइएको ओझाले जानकारी दिए।
औषधि उत्पादनका लागि डा शाहको समुहले २०७४ साल माघ ८ गतेदेखि कम्पनी स्थापना गरी कार्य सुरु गरेको थियो।
कम्पनी नयाँ भएपनि २० वर्षदेखि अनुभव भएकाहरु टिममा रहेको ओझाले बताए।
नेपालमा साधारण औषधि मात्र बनिरहेको अवस्थामा अब सुपरिस्पेसलिष्ट सेवामा प्रयोग हुने औषधि बनाउनुपर्ने आवश्यकता रहेकाले आफूहरुको फोकस आँखा, नाक, कान र घाँटको रोगको उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्ने योजना बनाएको ओझाले बताए।
‘हामी अरु कम्पनीभन्दा फरक रहेर आँखा, नाक, कान र घाँटीको उपचारमा प्रयोग हुने धेरै भेराइटीका ड्रप्स बनाइरहेका छौं,’ कम्पनीका कार्यकारी निर्देशक ओझाले भने, ‘त्यसमा सरकारले दिनसक्ने सामान्य एन्टिबायोटिक मलिक्युल देखि हाइटेक मलिक्युलसम्म बनाउने योजना छ। त्यसै अनुसार हाम्रो तयारी छ।’
उनले औषधि उत्पादनका लागि गुणस्तरीय र उच्च प्रविधिका मेसिनहरु जडान गरिएको बताए।
नेपालमा हाल आँखा सम्बन्धि स्वास्थ्य समस्या तथा रोगको उपचारमा मात्र १०० करोडको औषधिको बजार रहेको अनुमान गरिन्छ। यस्तै नाक, कान र घाँटीको उपचारमा थप १०० करोड औषधिको बजार रहेको अनुमान छ। यी औषधिहरुमध्ये अहिले ८० प्रतिशत विदेशबाट आयात हुने गरेको र २० प्रतिशत मात्र नेपाली औषधि कम्पनीबाट उत्पादन रहेको हुनसक्ने ओझाले जानकारी दिए।
विदेशी औषधिको आयातलाई घटाउन र नेपाली मुद्रा बाहिर जानबाट रोक्न आफूहरुले नेपालमै औषधि उद्योग स्थापना गरेको ओझाले बताए।
कम्पनीले आँखा, नाक र कान बाहेक अन्य औषधिहरु उत्पादनका लागि पनि अनुसन्धान गरिरहेको ओझाले बताए।
औषधि उत्पादन पछि बजारीकरणका लागि आफूहरु लागेको कम्पनीका मार्केटिङ निर्देशक राजेन्द्र प्रसाद डल्लाकोटीले बताए।
‘नेपालमा अझै पनि ६० प्रतिशतजति औषधि विदेशबाट नै आयात भइरहेको अवस्था छ,’ डल्लाकोटीले भने, ‘नेपाली कम्पनीको बजार अझै पनि ४० प्रतिशत रहेकाले हामी नयाँ उत्पादन बढाउँदै नेपाली औषधि बजारको हिस्सा बढाउन चाहन्छौं।’