अछाम- जिल्लाको पूर्वी क्षेत्रमा रहेको ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाले बयालपाटा अस्पतालका लागि घोषणा गरेको आर्थीक सहयोग हस्तान्तरण गरेका छन्। अस्पतालको व्यवस्थापन र संचालनमा सहयोग पुगोस भनेर यसअघि घोषणा गरेको रकम भुक्तानी गरिएको ढकारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले बताए।
ढकारी गाउँपालिकाको सातौँ गाउँसभाले बयालपाटा अस्पतालका लागि १५ लाख बजेट बिनियोजित गरे बमोजिमको पहिलो चरणमा ७ लाख ५० हजार रकम भुक्तानी गरिएको हो। बाँकी रहेको रकम अर्को महिना भुक्तानी गरिने अधिकृत भाटले बताए।
उक्त रकमको चेक अस्पतालका प्रमुख डा. मन्दिप पाठकलाई हस्तान्त्ररण गर्दै अध्यक्ष धनबहादुर बुढाले अस्पतालका लागि आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
अस्पतालले अछामी जनताका लागि निशुल्क रुपमा गुणस्तरिय सेवा दिएको भन्दै अध्यक्ष बुढाले सेवामा कमी हुन नदिन जिल्लाका सबै पालिकाले सहयोग गर्नुपर्नेमा जोड दिए। साथै अध्यक्ष बुढाले न्याय हेल्थ नेपालले संचालन गरिरहेको सामुदायिक स्वास्थ्य कार्यक्रमसहितको एकिकृत स्वास्थ्य सेवा आफ्नो पालिकामा पनि लागु गर्नका लागी छलफल अघि बढाउने बताए।
आगामी आर्थिक वर्षमा सामुदायिक स्वास्थ्य कार्यक्रमसहितको स्वास्थ्य सेवा कसरी दिन सकिन्छ भन्ने बिषयमा आगामी बैठकमा छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले बताए। पालिकाको आर्थिक सहयोग र न्याय हेल्थ नेपालको प्राविधिक सहयोग र व्यवस्थापनका कार्यक्रम अघि बढाउने योजनाका बारेमा बैठकमा छलफल हुने उनको भनाई छ।
अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठकले आगामी दिनमा समेत सकरात्मक साथ र सहयोगको अपेक्षा गरको बताए। यस्तै जिल्लाको कमलबजार नगरपालिकाले पनि बयालपाटा असपतालका लागि नगरसभामा घोषणा गरेको रकम भुक्तानी गरेको छ। नगरसभाबाट बिनियोजित ५ लाखमध्ये ३ लाख ५० हजार रकम भुक्तानी गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टले बताए।
५ लाखमध्ये १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री न्याय हेल्थ नेपाल द्धारा नगरपालिकामा संचालित सामुदायिक स्वास्थ्य कार्यक्रमका लागि सामाग्री खरिद गरिएको र बाँकी रकम अस्पताललाई प्रदान गरिएको अधिकृृत बिष्टले बताए। नगरपालिका अस्पतालको सहयोगकालागि सधैँ तयार रहेको भन्दै नगर प्रमुख ओमप्रकाश बिष्टले आगामी दिनमा समेत नगर थप सहयोग समेत गर्ने बताए।
साथै आगामी आर्थिक वर्षबाट सामुदायिक स्वास्थ्य कार्यक्रमका लागि नगरपाालिकाबाटै बजेट बिनियोजित लगाएतका बिषयमा समेत छलफल भईरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टको भनाई छ। कार्यक्रमलाई दिर्घकालिन रुपमा संचालनका लागि न्याय हेल्थको प्राबिधिक सहयोग तथा व्यवस्थापन र नगरको आर्थिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिईने उनको भनाई छ।
सहयोगका लागि नगरपालिकालाई धन्यवाद दिँदै अस्पतालका प्रमुख डा. पाठकले स्वास्थ्य बिमालाई नगरपालिकाका कर्मचारी र सेवाग्राही पनि आबद्ध गराउन भुमिका खेल्न आग्रह गरे।