सन् २००८ फ्रेब्रुअरी ८।
गममें हँसने वालेको रुलाया नहीं जाता
लहरों से पानीको हटाया नही जाता
होनेंवाले हो जाते खुदही अपने
किसीको कहकर अपना बनाया नहीं जाता।
ह्याप्पी प्रपोज डे डियर।
अपरिचित नम्बरबाट एकाबिहानै एसएमएस आएको थियो।
एमबिबिएस पढ्न थालेको भर्खर दुईवर्ष भएको थियो। दिमागमा पढाईको भूत सवार थियो। डाक्टर नबनी प्रेमस्रेमका लफडामा फस्दिनँ भन्ने कसमै खाएर पढ्न थालेको थिएँ। डाक्टर मेरो मात्रै सपना थिएन। जीवनभरि दुःखका चट्टान फोडेर हामीलाई हुर्काउने आमाको सपना थियो। सन्तानमध्येको जेठो म। रोगले थलिँदै गएकी आमालाई जीवनको उत्तराद्र्धमा थोरै भएपनि दुःखका दिनबाट दूर राख्न चाहन्थें। त्यसैले मैले कुनैपनि हालतमा पढाइ बाहेक दायाँबायाँ गर्नुहुन्नथ्यो।
यसैकारण मेरा साथीहरु मबाट दूर हुँदै गएका थिए। ह्याङआउट नगएको गुनासो थियो उनीहरुको। पिकनिकमा समेत वियर नछोएको भनेर मेरो नामै ‘बेबीब्वाई’ राखेका थिए केटी साथीहरुले। यी कुरासँग मलाई ‘बाल’ थिएन। अरु काम जस्तै चाँडो पढ्दा पढाइ चाँडै सकिन्थ्यो भने रातदिन पढेर एमबिबिएस तीनै वर्षमा फत्ते गरिदिन्थें जस्तो लाग्थ्यो मलाई।
म प्रसंग बाहिर गएँ। अपरिचित नम्बरबाट आएको थियो त्यो हिन्दी सायरी सहितको प्रपोज डे को म्यासेज। मलाई शंका थियो, मेरै साथीहरुले मेरो मन बुझ्न यो रणनीति अपनाए। लगत्तै फेरि अर्को म्यासेज आयो, ‘सरी, मैले अन्त पठाउन खोजेकी थिएँ। तपाईंलाई गएछ।’ मैले प्रतिक्रिया फर्काइनँ, जुन जरुरी लागेन।
दुई दिनपछि फेरि त्यही नम्बरबाट फोन आयो, ‘तपाईं त कस्तो घमण्डी मान्छे, सरी भन्दा एस्क्युज गर्नुभएन।’
मैले भने, ‘त्यस्तै भयो। ठिकै छ।’
उसले भनी, ‘के को ठिकै छ। तपाईंले गर्दा मेरो लव टुट्यो।’
मलाई भाउन्न भयो। आफूले केही गरेकै होइन, उही गलत नम्बरमा म्यासेज पठाउँछे। उही गलत नम्बरमा फोन गर्छे, उही मलाई प्रेममा अवरोधक भएको आरोप लगाउँछे।
‘वाहियात कुरा छाड्नोस्, फोन राखें,’ भन्दै सन्केर फोन राखिदिएँ। फतफताएँ, मान्छेहरु तालतालका हुन्छन्।
फेरि फोन गरी। भनी– तपाईं त कस्तो घमण्डी मान्छे के, कसरी प्रेम टुट्यो भनेर पनि सोध्न सक्नुहुन्न। फोन मैले गरेकी छु, पैसा मेरो सकिन्छ। म नरम भइदिएँ। सुन्ने मन थिएन, इच्छा प्रकट गर्या जस्तो गरें।
खाशमा के भएछ भने, उसले जसलाई पठाउनुपर्थ्यो त्यो मान्छेको नम्बर उसलाई कण्ठस्थै थियो। सेभ गरेर राखिनछे। विहान नम्बर टाइप गर्दा २ थिच्नुपर्ने ठाउँमा ५ थिचियो र आयो मेरो नम्बरमा म्यासेज। दिउसो उसको त्यो केटासँग भेट भयो। केटोले केटीको मोबाइल चेक गर्ने बेलामा अर्को अपरिचित नम्बरलाई प्रपोज गरेको देख्यो। उसलाई शंका लाग्यो, झगडा गर्यो। गलत नम्बरमा गएको भनेर याचना गरी तर केटोले मानेन। प्रपोज डेकै दिन ब्रेकअप भयो।
मेरो गल्ती थिएन। त्यसैले उसको ब्रेकअप कथा सुनें। चुप लागें।
त्यसपछि फेरि सोधी, 'तपाईंको नाम के हो ?'
मैले रुखो स्वरमै उत्तर दिएँ, किन चाहियो। कथा सुनिसकें अब त मुक्ति देऊ महाशया।
उसलाई हाँस्दै भनी, ‘भिलेनको नाम था’पाउनु परेन। मेरो प्रेमको भिलेन तपाईं। साँच्चि एउटा कुरा भनुँ, तपाईंको बोली पनि भिलेन भन्दा कम छैन है।’
पछिल्लो कुराले पिन्च गर्यो। उसले भिलेन भनेको मन परिरहेको थिएन। नरम स्वरमा मैले जफाव फर्काएँ, ‘गाली गर्न पुग्यो? अब फोन राखौं।’
यसरी बोल्दा पो हिरोको जस्तो सुनिन्छ त। ओके बाई भिलेन ! उसले आफ्नै सुरमा फोन काटी।
प्रेम टुट्यो भन्छे। स्वरमा दर्द छैन। ठट्टा गर्छे। उसको स्वभाव अलि अजिब लाग्यो।
शनिवार दिउसो फेरि फोन गरी, ‘हाई भिलेन के छ खबर। कता हो ?’
म घरमै छु पढिरहेको छु।
‘शनिबार दिउसो नि पढिरहेको, मान्छे त हिरो हो कि क्यो हो। मेरा लागि मात्रै भिलेन ! अँ, भिलेन मलाई तिमी भेट्न मन लाग्यो, ’ उसले भनी।
किन?
रियल लाइफका भिलेन फिल्मका जस्तै हुन्छन् कि नाइँ भनेर हेर्न मन लाग्यो।
मनमनै भनें, ‘कस्तो हावा केटी ?’
उसले लगत्तै भनी, ‘कफी खुवाउँछु तिम्लाई, आउँछौ दरवारमार्ग।’ म मैतिदेवी बस्थेँ। उसको स्वभाव अजीव लागेर एकपल्ट भेट्दिउँ, फ्रेस पनि भइन्छ जस्तो लाग्यो।
‘अहिले हुँदैन बेलुका ५ बजेतिर,’ मुखबाट फुत्किसकेछ।
‘के हो वियरै पिउने सोच बनायौं कि? म त कफी मात्रै पिउँछु। अबेर बस्न मिल्दैन। बाउ अलि कडा नै छ,’ उसको हरेक प्रसंगका एक कदम अघि बढ्न बानी यहाँपनि देखियो।
मैले भने, ‘कफी मात्रै, म वियर खान्नँ, कहिल्यै।’
‘भिलेन त लास्ट हिरो हुँदै गा’छ,’ भन्दै उसले फोन काटी।
कफीसपमा भेटें। अघि नै आइसकेकी रहिछे। एकचोटी मलाई तलदेखि माथिसम्म हेर्दै भनी, ‘भिलेन, तिमी तखाशमा हिरो बन्नुपर्ने। ओके, तिमी आयौ खुशी लाग्यो।’
हामीले कफी पियौं। बोली ऊ मात्रै। मैले कहिले 'हो' भने, कहिले 'होइन'। उत्तर दिनैपर्नेमा छोटो उत्तर दिएँ। ऊ सुन्दर थिई, त्यो भन्दा पनि एकदम सफा दिलकी। उसलाई भेट्यो भने जो पनि प्रेममा पर्छ जस्तो लाग्ने खालकी।
मैले नभनी उसले आफ्ना बारेमा भनी। बिबिए पढ्दै रहिछे। उसको परिवार खानदानी व्यापारी। छोरीले पनि व्यापारमै केही गरोस् भन्ने चाहना रहेछ। उसले भनी, ‘भिलेन, म त डाक्टर बन्न चाहन्थे नि। बाबाले मान्नुभएन। विजनेश गर्नुपर्छ भन्नुभयो। मेरो स्वभाव विजनेश गर्ने खालको छ रे !’
छुट्टिने बेला मेरा बारेमा सोधी। सही कुरा बताउँदिनँ भनेर आएको थिएँ, तर फुस्कियो, एमबिबिएस पढ्दैछु भन्ने। उसले धकै नमानी अंगालो मारी, ‘आजदेखि तिमी मेरो भिलेन होइन, हिरो। मलाई डाक्टर मन पर्छ।’
मलाई संकोच लाग्यो। ऊबाट फुत्किएँ।
त्यसपछि नियमित फोनमा कुरा भइरह्यो। विस्तारै उसको स्वभावमलाई मन पर्न थालेको थियो। खाशमा पढ्दा–पढ्दै बोर भयो भने उसलाई फोन गर्थें। उसका कुरा सुन्दा रमाइलो लाग्थ्यो। यसरी सोच्दा म उसलाई अलिअलि प्रेम गर्न थालिसकेको थिएँ।
यसैगरी बित्यो बाँकी ४ वर्ष। म अस्पतालमा काम गर्न थालिसकेको थिएँ। ऊ आफ्ना पारिवारिक विजनेशमा लागिसकेकी थिई। डिग्री गर्न विदेश जाने सोच पनि सँगै बनाइरहेकी थिई।
एकदिन मुश्किलले भनिदिएँ, ‘म कसैलाई प्रेम गर्न थालेको छु तर व्यक्त गर्न मभित्र त्यस्तो प्रेम छैन कि जस्तो लागेको छ।’
यति बोल्दा मेरो बोली काँपेछ।
त्यो सुनेर ऊ हाँसी र फेरि उही पारामा भनी, ‘शिष्य, तिम्रो काम आफूभित्र प्रेम खोज्ने होइन। प्रेम विरुद्ध आफूभित्र बनाएका सारा अवरोध खोज्ने तिम्रो काम हो।’
थपी- यो भनाइ मेरो चाहिँ होइन, रुनीको हो है। म यी लाइनबाट प्रभावित भएँ। हो त मैले मभित्र प्रेमका अवरोधहरु सिर्जना गरिरहेको छु।
एकदिन मैले घुमाउरो पारामा उसलाई प्रेम प्रस्ताव गरें, ‘मुटु दिन्छौ मलाई?’
उसको उत्तर थियो, ‘मुटु त दिन मिल्दैन। त्यो त डाक्टरी पढिरहेकोलाई ज्ञानै होला। चाहिन्छ भने किड्नी दिन्छु। दुईटा छ, एउटा दिँदा फरक पर्दैन। त्यो तिमीलाई थाहै छ।’
'तिमी मेरा लागि कहिल्यै सिरियस भइनौ?' मैले गुनासो गरें।
‘तिमी अस्पतालको आइसियु हौ र म तिम्रा लागि सिरियस हुनलाई,’ उसले फेरि ठट्टा गरी।
खाशमा मलाई उसको यही बानीले त प्रेममा पारेको थियो।
उसले भनी, ‘तिमीले भ्यालेन्टाइन्स डे मा मेरो त्यो कलेजको केटोसँग छुट्यायौ। म भ्यालेन्टाइन्स डे कै दिन तिम्रो प्रेम प्रस्तावबारे सोच्छु। तर, एकदम तयारी गरेर प्रस्ताव गर्नुपर्छ है।’
भ्यालेन्टाइन्स डे आउनु १५ दिनअघिको कुरा थियो यो। त्यसपछि एकैपल्ट भ्यालेन्टाइन्स डे मा भेट्ने सहमति भयो। म अस्पतालको नियमित काममा थिएँ, ऊ आफ्नै काममा। भ्यालेन्टाइन्स डे को बिहान इमर्जेन्सीमा ड्युटी थियो। बेलुका मैले दरवारमार्गको एउटा रेस्टुरेन्टको टेबल आफ्ना लागि बुक गराएको थिएँ। मनमा रोमाञ्चका तरंगहरु जोडतोडले दौडिरहेका थिए। म राति आएका बिरामीको हालखबर सोधिरहेको थिएँ, रिपोर्ट हेरिरहेको थिएँ।
बेड नं ८ मा एउटा युवती बिरामी थिइन्। रिपोर्टसँगै रहेको एउटा पत्र भुइँमा खस्यो। लेखिएको थियो, ‘हिरो, हाम्रो प्रेम अमर हुनेभयो। लैला–मजूनको जस्तै, मुना–मदनको जस्तै।’
जब पत्रको मुनि नाम हेरें। आँखाले देख्नै छाडेजस्तो भयो। सम्हालिएँ।
रिपोर्ट हेर्न सकिनँ।
सिस्टरलाई बोलाएँ र सोधें- के भएको उहाँलाई ?
सिस्टरले किड्नीमा समस्या आएका बताइन्।
भित्तातिर फर्किएको उनको अनहार पल्ट्याएर हेरें। यी तिनै युवती थिइन्, जोसँग मेले मुटु मागेको थिएँ र उनी किड्नी दिन राजी भएकी थिइन्।
र, यी तिनै युवती थिइन् जसको नाममा मैले हिजो मात्रै एकथान गुलाब र केही उपहार किनेर ल्याएको छु। सोच्दैछु, के भ्यालेन्टाइन्स डे को दिन मेरो एउटा मिर्गौला उनलाई उपहार स्वरुप टक्र्याउन सकुँला ? र, अहिले पल्टाइरहेको छु, अंगदान सम्बन्धि नेपाली कानुन!