‘अँ, अलि परै बस्नुहोस्।’
डाक्टर अङ्कलको वेवास्तापूर्ण आवाज सुनेर अभिषेकलाई केही अनौठो लाग्यो। सधैँ आउनासाथ हालखबर सोध्दै मायालु पाराले जाँच्न थाल्ने डाक्टरले फरक व्यवहार गरेको देखेर उसलाई लाग्यो, ‘आज डाक्टरलाई के भएको छ?’
‘अँ भन्नुहोस् त बाबुलाई के भएको छ?’ हातमा पञ्जा र मुखमा माक्स लगाउनुभएको डाक्टर अङ्कलले बाबासँग सोध्नुभयो।
‘हिजोअस्ति हल्का खोक्दै थियो। आज रातिबाट अचानक ज्वरो आउन थाल्यो।’ बाबाले अभिषेकको टाउको मुसार्दै भन्नुभयो। अभिषेकले टिठ लाग्दो पाराले बाबाको अनुहार हेर्यो।
ज्वरो कति आएको थियो, नाप्नुभयो?’
आज डाक्टर अङ्कलले न त माया गरेर मुसार्नुभयो न त थर्ममिटरले ज्वरो नै नाप्नुभयो। आफ्नो घाँटीमा झुण्ड्याइएको स्टेस्थेस्कोप लिएर लामो श्वास फेर्न पनि भन्नुभएन। अनि हातमा टर्च लिएर मुख आँ गर्न पनि लगाउनुभएन। अभिषेकलाई लाग्यो, ‘के यो मान्छे आपूmलाई सधैं जाँच्ने गरेको उही डाक्टर अङ्कल नै हो त?’
अभिषेकले डाक्टरको अनुहारमा एउटा अपरिचितलाई जस्तै टुलुटुलु हेरिरह्यो।
‘ज्वरो यस्तै १०२ डिग्रीजति थियो डाक्टर सा’ब।’ बाबाले भन्नुभयो।
डाक्टरले एकछिन अभिषेकलाई हेरेर कागजमा केही लेख्न थाले। अभिषेकले डाक्टर अङ्कलले लेखेको कागजमा घोरिएर हेर्यो। ‘आर...ई...एफ...एफ....ई....आर...’ अभिषेक लेग्रो तान्दै पढ्न थाल्यो। तर लेखाइको गतिमा पढ्न सकेन।
‘डाक्टर सा’ब।’
बाबाको आवाजले अभिषेक झसङ भयो। उसले बाबाको अनुहारमा हे¥यो। बाबाको अनुहार रिसाएको जस्तो देखिन्थ्यो। बाबा रिसाउनु भएपछि अभिषेकलाई निकै डर लाग्यो। तर, बाबाको अनुहार किन त्यस्तो भयो, उसले बुझ्न सकेन। आफूले कुनै गल्ती गरेछु कि भनेर ऊ पढ्न छाडेर बाबालाई हेर्न थाल्यो।
‘तपाईंले कुन आधारमा टेकु रिफर गर्नुभयो?’ राताराता आँखा पार्दै बाबा जङ्गिनुभयो।
‘के कोरोना प्रमाणित गर्न सक्नुहुन्छ? म सरकारी अस्पतालको ५० रुपैँयाको टिकट छाडेर तपाईं कहाँ टिकटका लागि ५५० तिरेर चेक गराउने गरेको छु। आज चेक जाँच नै नगरी टेकु रिफर ? यस अस्पतालको डाइरेक्टर को हो? म उहाँसँग कुरा गर्न चाहन्छु। मेरो बच्चा तपाईंलाई देखाउनु छैन।’ बाबा उठ्न खोज्नुभयो।
‘ओहो! यहाँ पनि कोरोना!’ अभिषेकले आफ्नो कान थुन्यो।
‘चार दिनअगाडि नै किन बिरामी नभएको होला?’ घरबाट निस्कँदै गर्दा अभिषेकलाई लागेको थियो। घरभित्रै बन्द भएर बस्नु पर्दा तीन चार दिनमा नै उसलाई वाक्क लागेको थियो। ‘बिरामीको बहानामा बाहिर निस्कन त पाइयो।’ उसको मन फुरुङ थियो।
तर, आजको घुमाइ सदाको भन्दा फरक थियो। सडक सुनसान थियो। चोक चोकमा पुलिसहरू थिए। हरेक चोकमा पुलिसलाई जवाफ दिनु पर्थ्यो बाबाले, ‘बच्चा बिरामी भएर।’
‘त्यति धेरै बाइक, गाडी र मान्छेहरू कहाँ लुके होलान्?’ अभिषेकलाई लाग्यो। तर, उसँग जवाफ थिएन। बाबासँग सोध्ने जाँगर पनि उसमा थिएन।
हस्पिटलमा आइपुगेपछि डाक्टर अङ्कलले देखाएको व्यवहारले उसलाई साह्रै नरमाइलो लागेको थियो। अझ बाबा पनि रिसाउनु भएपछि त ऊ निराश नै थियो। घरबाट निस्कन पाउँदा रमाएको उसको मन अचानक खुम्चन पुग्यो।
‘कतै यो सबै मेरै कारणले भएको त हैन?’ यस्तै सोचेर उसले अँध्यारो मुख लगायो।
‘हैन, बस्नुहोस् न। बेला नै यस्तै छ, शङ्का गर्नु पर्ने।’ डाक्टर अङ्कलले बाबालाई बस्न अनुरोध गर्नुभयो।
केही औषधी किनेर बाबा फर्कनुभयो।
‘के भन्यो त किरण, नातिलाई?’ हजुरआमाले सोध्नुभयो।
‘सब निजी अस्पतालहरूलाई सरकारले खारेज गर्नु पर्छ। सधैँ जाँचिरहेको ठाउँमा पनि जाँच्न मान्दैन त....।’ अरु के–के भन्दै हुनुहुन्थ्यो, अभिषेकले वास्ता गरेन। ऊ त आफ्नै संसारमा हराइरहेको थियो।
‘के भन्न खोज्नुभएको बाबाले?’ मोबाइलमा बार्बी क्यूको कार्टुन हेरिरहेकी छोरी अमृषाले सोधी।
हजुरबुबा सोफामा बसेर ‘गुणरत्नमाला’ नामक सानो पुस्तक पल्टाएर हेर्दै हुनुहुन्थ्यो। ‘ल यता आऊ। म तिमीलाई बताइदिन्छु।’ उहाँले भन्नुभयो।
‘म बार्बी हेर्दै छु क्या। म यहीँबाट सुनिहाल्छु नि, भन्नुहोस् न हजुरबुबा।’ नातिनीले आग्रह गरी।
‘सरकारी स्कुल र बोर्डिङ स्कुल भने जस्तै अस्पताल पनि निजी र सरकारी हुन्छन्।’ हजुरबुबाले बुझाउन खोज्नुभयो।
‘खारेज भनेको के त? अनि किन खारेज गर्ने भन्नुभएको?’ अमृषाले जिज्ञासा राखी।
‘खारेज भनेको हटाउने भनेको हो। अरु बेलामा उपचारमा धेरै पैसा लिने तर अहिले जस्तो अवस्थामा चाहीँ विरामीलाई बेवास्ता गरेको देखिएकोले तिम्रो बाबाले अस्पतालहरू सरकारी मात्र हुनुपर्छ भन्न खोज्नुभएको हो।’ हजुरबुबाले सम्झाउनुभयो।
हजुरबुबा र दिदीबीच भएको कुराकानीको अभिषेकमा कुनै असर देखिएन। बाबाको बाइकमा बसेर बाहिर हुँकिन पाउँदा फुरुङ बनेको उसको मन घरभित्र पस्दा एक तमासको बनेको थियो।
‘डाक्टर अङ्कलले माया गर्नुभएन, बाबा पनि रिसाउनुभयो।’ उसलाई उही कुरा पोलिरहेको थियो। बाबा टेकुको नाम लिएर किन रिसाउनुभयो उसले बुझ्न सकेन।
लकडाउन र क्वरेन्टाइन शब्द सुन्दासुन्दा अब त्यो सुन्न नपरे पनि हुन्थ्यो भन्ने लाग्थ्यो उसलाई। तर आज उसलाई त्यसको अर्थ खोज्न मन लाग्यो।
‘लक द डोर, क्लोज द डोर’ आफ्नो एल.के.जी. क्लासमा म्यामले लय हालेर सिकाउनु भएको वाक्य सम्झियो। ‘बन्द, यो त ठिक छ तर....।’ उसले एकछिन सोच्यो।
‘बाबा! बाबा! लकडाउन भनेको के रे?’ अचानक अभिषेकले बाबालाई सोध्यो।
‘सबै कुरा बन्द गर्नु।’ बाबाले जवाफ दिनुभयो।
‘अनि दिदीले कहिले काहीँ आज लक रहेनछ भन्नुहुन्छ नि त!’ अभिषेकले जिज्ञासा व्यक्त गर्यो।
‘भाग्य नभएको भनेको होला।’ बाबाले भन्नुभयो।
‘मलाई लेखी दिनुहोस् त।’ अभिषेकले आग्रह गर्यो। बाबाले एउटा कापीमा लेखेर दिनुभयो।
‘मलाई डिक्सनरी दिनुहोस् त बाबा।’
बाबाले अनौठो मान्दै अभिषेकलाई हेर्नुभयो र दराजबाट डिक्सनरी निकालेर दिनुभयो। अभिषेक हातमा डिक्सनरी बोकेर तलातिर लाग्यो। बाबाले अभिषेकलाई डिक्सनरी प्रयोग गर्ने तरिका पहिला नै सिकाउनु भएको थियो। निकै बेरपछि अभिषेक तल ओर्लियो र बाबालाई प्रश्न गर्यो, ‘बाबा, लकडाउन भन्या के रे?’
‘बन्द गर्नु।’
‘हैऽऽऽन, तपाईले जान्नुभएऽऽऽन।’ अभिषेकले हातको भाउ लगाउँदै भन्यो।
‘लक भनेको भाग्य। लक डाउन भनेको भाग्य डाउन भनेको हो। बाहिर घुम्न जान नपाइने, स्कुलमा गएर साथीहरूसँग खेल्न नपाइने, मन लागेको कुरो किनेर खान नपाइने, डाक्टर अङ्कलले माया नगर्ने, अनि हाम्रो भाग्य डाउन भएन त? त्यसैले लक डाउन भनेको।’