मेरो जीवनको टुसा पलाउँदै गर्दा
करिव ५-६ हप्ताको म,
मेरी आमाको पाठेघरको भित्तामा
विराजमान भैरहदा
मेरो सास चल्न थाल्छ
मेरा महत्त्वपूर्ण अंगहरु उम्रिन थाल्छन
जब धड्किन थाल्छ मेरो मुटु
१४० प्रति मिनेटका गतिले।
हो यसैबेला,
मलाई हेर्न आत्तुर
मेरा बा आमा र सपरिवार
भिडियो एक्सरे मेसिन नजिकिन्छन्
मेरो भ्रुण जीवन
पाठेघरमा पिलिक-पिलिक धड्किएको देख्छन।
सबैले हेरि लामो सास लिदै
आशावादी हुन्छन्
र भन्छन,
अब यसपालि त राम्रै होला
सोचेको अनि चाहेको होला।।
उता हजुरआमा,
नातीको कामना गर्दै
नानाथरी सामाग्री चढाउँदै गर्दा
यता मेरि आमाका आँखाले
उनका गालामा जल चढाउन थाल्छन।
आमाका गालादेखि ओठसम्म पुगेका
पानीका थोपा बाले पुछ्दै भन्छन
केही नमान म छु नि
तिम्रा लागि
यो पाली त राम्रै होला।।
सम्भावनामा रहेका पल,
सुनौलो भविष्य
सम्झिदै मेरी आमा
निशब्द भई
अझै कुर्छिन ३ महिना।
यसपछि सबै गोप्यतामा लाग्छन
कानुनले समाउने डर
छिमेकीको कानमा पर्ला भन्ने डर
फेरि पहिलेकै दोहोरिने हो कि भन्ने डर
आमालाई एक्लिन्छु कि भन्ने डर
बालाई भविष्य अनि वंशको डर।
डरै डर मा पुग्छन भिडियो एक्सरे गर्न
यसपालिको माहोल पहिले जसो छैन
सबै शान्त छन
कुराकानी इसारामा हुन्छन
सबैले हेर्छन
घरि भिडियो एक्सरेमा हेर्छन त
घरि एक अर्कालाई ।
मेरो टाउको
मेरा हातखुट्टा
कलेजो मुटु मृगौला
सबै राम्रा छन
यीनमा कसैको चासो छैन
चासो त्यसमै छ
जे अन्त्यमा देखिन्छ
मै महान मै भगवान सम्झि
जीवन दिने, कि लिने
मेरो भविष्य निर्धारण गर्ने
महान द्रव्यपिचासबाट
जसरि इसारा हुन्छ
मेरा बाले समातेको आमाको हात
विस्तारै आफ्नो हातबाट टाढा राख्छन्
र फेरि त्यस्तै भन्दै
लामो सास तान्दै
आमा देखि मुन्टो फर्काउँछन।
विचरा आमा
टिलपिल टिलपिल भएका आँखाबाट
खहरे बग्न थाल्छन
सुक्क सुक्क गर्दै
थर थर काम्दै
आ्फुलाई बेसाहारा ठान्छिन
आफुले सर्वस्व सम्झेकाले
गरेको व्यवहारले झन् हरेस खान्छिन।
अनि म,
मेरो घाँटीमा गाँठो पर्छ
सास कता कता अडिन खोज्छ
सम्झिन्छु
अब म सँग पनि त्यै हुनेछ
जुन मेरा दिदि हरु सँग भयो ।
र म पनि दिदी हरु भएको लोकमा
परलोकमा पुग्नेछु।
मेरा बा आमा
घरपरिवार र यो समाजलाई
वुहारि चाहिने
आमा चहिने
स्वास्नी चाहिने
तर छोरी..?
छोरिको लागि
ठाउँ दिनै गार्हो हुने।
अब मेरो पनि छिटै
मैझारो हुनेछ
जसरि वर्खामा खेतबारीमा काम सकेपछि हुन्छ।
वर्खे मैझारोमा,
गोरुको गोडाको हिलो फालिन्छ
हलिया दाइले लुगाफाटोको मैलो फाल्छन्
खेतबारीको छातिमा नयाँ जीवन खेल्दछन
मेरो मैझारोमा,
मलाई आमाको पाठेघरबाट पखालिनेछ
मेरो जीवनको अन्त्य गरिनेछ
भर्खरै पुर्णता पाउन लाको मेरो शरिर
टुक्राटुक्रा पारी झारिनेछ
र सकिने छु म।।
मेरो मैझारो भैइरहदा
मेरो अस्तित्व सकिदै गर्दा
मेरो विन्ति यहि हुनेछ, कि
म सँगै मेरि आमाको मैझारो नहोस
मेरि आमाको अस्तित्व नमेटियोस
मेरो सास सकिदै गर्दा
आमाको सास नसकियोस
नरोकियोस आमाको सास
बरु झन बलियो भएर आओस्
आमा, आमा नै रहिरहुन।।।
-प्रसूति तथा स्त्रिरोग विशेषज्ञ डा रेग्मी प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत छन्।