प्युठान- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रत्यक्ष प्रभावबाट नेपाल पनि अछुतो रहन सकेन। त्यसबाट नेपाल लगायत विश्वले नै ठुलो क्षति व्यहोर्नु पर्यो। प्युठानमा हालसम्म कोभिड-१९ का कारण ३ हजार ९ सय ५१ जना संक्रमित भए। जसमध्ये ८९ जनाको मृत्यु समेत भयो।
प्युठानमा हाल ५ जना कोरोनाका सक्रिय संक्रमित छन्। कोभिड १९ का कारण प्युठानको आर्थिक, सामाजिक, राजनैतिक लगायत हरेक क्षेत्र प्रभावित बन्यो। यसको रोकथाम तथा नियन्त्रण र नागरिकको स्वास्थ्य रक्षाका लागि सरकारले विभिन्न चरणमा स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर विविध गतिविधि सञ्चालन समेत गरेको थियो। कोरोना भाइरस विरुद्धको विभिन्न खोपहरु बनेपछि खोप अभियान सञ्चालन गरी कोभिड १९ नियन्त्रणको अभियानमा यतिबेला सरकार जुटिरहेको छ। यसको प्रभावकारिता पनि देखिएको छ।
यहि मंसिर ९ देखि १५ गतेसम्म प्युठानमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप पुर्याउने सरकारको लक्ष्य अनुसार खोप अभियान सञ्चालन हुँदैछ। यसै सन्दर्भमा सहकर्मी दीपा पौडेलले स्वास्थ्य कार्यालय प्युठानका प्रमुख मधुसुदन खड्कासँग थप कुराकानी गरेकी छिन्। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः
– कोरोना महामारीको समयमा स्वास्थ्य कार्यालय प्युठानले आफ्ना गतिविधिहरु कसरी सञ्चालन गरिरहेको छ ?
कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरी निर्धारित कार्यक्रम अनुसार नै सञ्चालन गरेका छौं। स्वास्थ्य कार्यालय प्युठानले गर्ने नियमित गतिविधिहरु चलिरहेका छन्। अहिलेको सन्दर्भमा खोप अभियानलाई प्रभावकारी बनाउनको लागि यहि अभियानमा केन्द्रित छौँ। खोप अभियानलाई सफल र प्रभावकारी बनाउन अरु कार्यक्रम स्थगित गरी खोप अभियानमा सबै साथीहरु जुटेका छौँ।
– यस भन्दा अगाडि थोरै मात्रामा खोप लगाउनुभयो। अहिले सबै प्युठानीलाई पुग्ने खोप छ ?
सरकारले १८ वर्षभन्दा माथिका नागरिकलाई लगाउने भनेर प्राथमिकता तोकेर सीमित मात्रामा खोप पठाएको छ। सुरुमा त स्वास्थ्यकर्मीहरुले समेत लगाउन अप्ठ्यारो मान्नु भएको थियो। खोपको प्रभावकारिता देखिएपछि यसको माग निकै भयो। विभिन्न मुलुकको सहयोगमा खोप आउने भएकोले जिल्लामा पनि सीमित खोप आउने गर्दथ्र्यो। प्राथमिकताका आधारमा हामीले खोप दिएका थियौँ। यसपटक अघिल्ला सबै अभियानमा छुटेका तथा खोपको पुरा मात्रा नलगाएका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउँछौं। त्यसका लागि १ लाख डोज खोप हामीसँग छ।
– विभिन्न समयमा विभिन्न नामका खोपहरु आए। यस पटक कुन कुन खोप लगाउँदै हुनुहुन्छ ?
पहिले हामीले कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्टा«जेनिका नामका खोप लगाएका थियौँ। यस पटक एस्ट्राजेनिका खोपको पहिलो मात्रा, एस्ट्राजेनिका र भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई खोप लगाउँदैछौँ।
– एक लाख डोज खोप आएको छ भन्नुभयो। पहिलेको भन्दा व्यवस्थापनमा कतिको गाह्रो भएको छ ? कसरी व्यवस्थापन गरेर लगाउँदै हुनु हुन्छ ?
पहिले खोप नपाएर गुनासो आउने गरेको कुरा सत्य हो। हामीले सीमित खोपलाई राज्यले तोकेका लक्षित वर्गलाई लगाउनुपर्ने अवस्था थियो। अहिले पर्याप्त मात्रामा खोप आएको छ। अब १८ वर्ष माथिका सबै प्युठानीलाई खोप पुग्छ। यो निकै राम्रो कुरा हो। अहिलेको अभियानलाई प्रभावकारी बनाउन अन्य गतिविधिहरुलाई स्थगित गरेर सबै जनशक्ति जुटेका छौँ। हामीले यस पटक करिब एक जनालाई जिल्लाका २ सय ७० वटा खोप केन्द्रबाट खोप प्रदान गरिनेछ। सबै खोप केन्द्रमा सुरक्षित रुपमा खोप पुगेका छन्। यसका लागि हामीले एउटा केन्द्रमा कम्तिमा एक जना स्वास्थ्यकर्मी र २ जना स्वयंमसेविकाको व्यवस्था गरेका छौँ। स्थानिय निकायका सबै स्वास्थ्य शाखा प्रमुखहरु लगायत स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा हुनुहुन्छ। व्यवस्थापनको काम सबै सकिएको छ। ढुक्कले गएर आफुलाई पायक पर्ने ठाउँमा खोप लगाउन सक्नु हुनेछ।
– पहिले गर्भवती महिलालाई खोप नदिने भन्ने थियो। अहिले दिन सकिन्छ भन्ने आएको छ। कुन अवस्थामा गर्भवती महिलाले खोप लगाउन मिल्ने हो ?
पहिले गर्भवतीलाई कोभिड १९ विरुद्धको खोप नदिने भन्ने नै निर्देशन हामीलाई थियो। अहिले पनि नदिने नै भन्ने छ। तर विशेष अवस्थामा कोभिड १९ को उच्च जोखिममा पर्ने अवस्था भएमा र गर्भवती अवस्थामा जटिलता भएका जस्तै ३५ वर्ष माथिका गर्भवती महिला, अत्यधिक तौल भएका, मधुमेह, उच्च रक्तचाप जस्ता विभिन्न दीर्घ रोग भएका छन् भने उनीहरुलाई विशेष निगरानीमा लगाउन सकिने भन्ने छ। हामीले यसै अनुसार तयारी गरेका छौँ।
– खोप अभियान सम्पन्न गर्न अन्य सरोकारवालाहरुको भूमिका आवश्यक कतिको आवश्यक छ ?
खोप अभियान सञ्चालन र सम्पन्न गर्नका लागि सबैको सहयोग अपरिहार्य छ। स्थानीय तहका जनप्रतिनिधिहरु, राजनीतिक दल, पत्रकार लगायत यो अभियानको विषयमा जानकार भएका सबैले यो हाम्रै अभियान हो भनी यसलाई सफल बनाउनुपर्छ। जनप्रतिनिधि, कर्मचारी सरोकारवाला पक्षसँग हामीले छलफल पनि गरिसकेका छौँ। सबैको सहयोगले मात्र यो सफल हुने हो। त्यसैले आ–आफ्नो ठाउँबाट सबै लागौँ। यो १८ वर्ष माथिका नागरिकका लागि अन्तिम अभियान पनि हो। अब १८ वर्षभन्दा माथिका नागरिकका लागि अभियान सञ्चालन नहुन सक्छ। त्यसैले सबैले आफुलाई पायक पर्ने खोप केन्द्रबाट खोप लगाउनबाट नछुटौँ। यो अभियानलाई सफल बनाउन आ–आफ्नो ठाउँबाट सहयोग गर्न म सबैलाई आग्रह गर्दछु।