१. डाँछी
एकपटक म डाँछीको मानसिक स्वास्थ्य सेवा केन्द्रमा भर्ना भएर बसेको थिएँ। त्यही अस्पतालमा एक जना गुरुङ आमा (अहिले उहाँ दिवङ्गत हुनुभयो) हुनुहुन्थ्यो। उहाँलाई हामी सबैले ‘गुरुङ आमा’ सम्बोधन गथ्र्यौँ।
उहाँको काखमा म लुट्पुटिन्थेँ।
मेरो कपाल सुमसुम्याउँदै उहाँले भन्नुहुन्थ्यो, ‘मेरो प्यारो छोरा अक्कल।’
उहाँले त्यहाँ मजस्तै भर्ना भएर बसेका अरु बिमारीहरुलाई पनि ‘छोराछोरी’कै व्यवहार गर्नुहुन्थ्यो।
त्यही माहौलमा मैले सिस्टर सम्झना केसीलाई त्यही अस्पतालमा भेटेको थिएँ।
२. अनुभूति
डाँछीमा बस्दा सम्झना सिस्टरले हामी सबै बिमारीहरुलाई अस्पतालभन्दा बाहिर पनि उहाँकै नेतृत्वमा मज्जाले घुम्न लग्नुहुन्थ्यो।
डाँछीको मन्दिर, पाटी, चौतारादेखि लिएर कुवा, गाउँ, खेतको आलीसम्म डोर्याएर लग्नुहुन्थ्यो।
यसरी अस्पतालभन्दा बाहिर त्यसमा पनि मानसिक बिमारीहरुलाई स्वतः स्फूर्त रुपमा घुमाउन लगेको सन्दर्भलाई चाहिँ मैले अरु अस्पतालहरुमा कहिल्यै देख्न पाइनँ।
त्यहाँ देखेँ।
३. कोशिश
पछि म मानसिक स्वास्थ्य क्षेत्रमै काम गर्ने संस्था कोशिशमा संलग्न भएँ।
सम्झना सिस्टर पनि त्यही संस्थामा संयोगले नर्सको रुपमा जोडिएर आउनुभयो। दोस्रोपटक हाम्रो त्यही भेट भयो।
त्यही भेटले सम्झना सिस्टरसित मेरो आत्मीयता अझ बढेर गयो।
००