१. म कविलाई प्रेम गर्छु
मनोचिकित्सक डा. प्रदीपमान सिंहको सल्लाहमा म अर्थो वार्डमा भर्ना भएर बसेँ । मानसिक वार्डबाट डिस्चार्ज हुनु र अर्थो वार्डमा गएर भर्ना भएर बस्नु एकैचोटि भयो ।
त्यही समयमा मैले सिस्टर वन्दना पोखरेललाई पहिलोपटक अर्थो वार्डमा भेट्ने सौभाग्य पाएको थिएँ ।
पहिलो भेटमै उहाँले मलाई प्रेमले अंकमाल गर्दै भन्नुभयो, ‘म कविलाई प्रेम गर्छु ।’
२. उहाँको कुराले म पनि पुलकित भएँ
‘अक्कल ! तिमीलाई एउटा कुरा थाहा छ?’ सिस्टर वन्दनाले म छेउ आएर भन्नुभयो ।
मैले सोधेँ, ‘के कुरा ?’
‘म पनि कथा लेख्छुनि !’ उहाँले पुलकित हुँदै सुनाउनुभयो ।
उहाँको कुराले म पनि पुलकित भएँ ।
३. उहाँले मलाई हर समयमा हौसला दिइरहनुहुन्थ्यो
सिस्टर वन्दना उमेरको हिसाबले मेरी बहिनी भन्न सुहाउने उमेरको हुनुहुन्थ्यो । उहाँले मलाई साह्रै सम्मान गरेर बोल्नुहुन्थ्यो । मैले पनि उहाँलाई सम्मान गरेर बोल्थेँ ।
अर्थो वार्डमा म प्रायःपुस्तक पढेर बस्थेँ । कविता लेखेर बस्थेँ ।
उहाँ म छेउ आउनुहुन्थ्यो र सोध्न भुल्नुहुन्नथ्यो, ‘अक्कल ! नयाँ कविता लेख्यौ ?’
उहाँले मलाई हर समयमा हौसला दिइरहनुहुन्थ्यो । उहाँको हौसलाले मैले आफ्नो घुँडाको दुखाई कम भएको महसुस गर्थेँ ।
४. सिस्टरहरुले मलाई सहजताका साथ नुहाइ दिनुभयो
अर्थो वार्डमा एक दिन सिस्टर वन्दनाले भन्नुभयो, ‘अक्कल ! आज हामीले तिमीलाई नुहाइदिने विचार गरेका छौँ ।’
‘वार्डभित्रै ?!’ मैले आश्चर्यमिश्रित लवजमा सोधेँ ।
‘आश्चर्य मान्नुपर्दैन ।’ उहाँले ढुक्कसाथ भन्नुभयो, ‘हामीले तिमीलाई वार्डभित्रै नुहाइदिने व्यवस्था मिलाइसकेका छौँ ।’
मलाई असर नहुनेगरी त्यसदिन सिस्टरहरुले मलाई सहजताका साथ नुहाइदिनुभयो ।
५. उहाँले दिनुभएको हौसलामा आत्मीयता थियो
सिस्टर वन्दना मेरो जीवनमा हौसला भएर आइदिनुभयो । उहाँले दिनुभएको हौसलामा आत्मीयता थियो ।
प्रेम थियो । सम्मान थियो ।
सबैसबै थियो ।
त्यही समयमै उहाँले मेरा कृतिहरु पढ्ने रहर गर्नुभयो ।
‘सिस्टर ! कुनै दिन अवश्य हाम्रो भेट हुनेछ ।’ मैले उहाँलाई डिस्चार्ज हुनुअघि ढुक्कसाथ सुनाएँ, ‘त्यसैदिनमा, म तपाईँलाई मेरा सबै कृतिहरु प्रेमपूर्वक पढ्न दिनेछु ।’
००