काठमाडौं- तिहार मनाउन गाउँ फर्किनेहरुलाई धमाधम कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ। सरकारले तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर गाउँ फर्किने नागरिकहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिहार र छठ मनाउन गाउँ फर्किनेहरुलाई काठमाडौं उपत्यकाको बल्खु, कोटेश्वर, गोंगबु र कलंकी चोकमा कोरोनाबिरुद्धको खोप अभियान सञ्चालन भइरहको छ। आम नागरिकलाई कोरोनाबिरुद्धको खोप लगाउन दिएको खबर सञ्चारमाध्यमबाट सुनेपछि कोरोनाबिरुद्धको खोप लगाउन आएको सर्वसाधारणहरुले बताएका छन्। सर्वसाधारणहरुले सरकारले गरेको यो कार्यक्रम उचित रहेको प्रतिक्रिया दिएका छन्। उनीहरुले कोरोनाबिरुद्धको खोप लगाउन पाउँदा आफूले सुरक्षित महशुस गरेको बताए ।
मन्त्रालयका अनुसार दुई दिनसम्म सञ्चालन हुने खोप अभियान बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ। मंगलबारबाट शुरु भएको खोप अभियान नागरिकले आफ्नो परिचयपत्र देखाएर लगाउन सक्नेछन्।
भिडियो