काठमाडौं- कोरोना संक्रमितको संख्या बढेसँगै रुसको राजधानी मस्कोमा फेरि लकडाउन गरिएको छ। औषधि पसल र सुपरमार्केटबाहेक सबै पसलहरु बन्द गरिएको छ।
रूसमा कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ र मंगलबार १ हजार १ सय जनाको कोरोनाका कारण मृत्यु भएको छ।
रूस अहिले यूरोपमा सबैभन्दा धेरै कोरोना प्रभावित देश बनेको छ। अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन्। चिकित्सकहरुका अनुसार धेरैजसो बिरामीले खोप नलगाएको बीबीसीले जनाएको छ।
मस्कोको वालजिस्की अस्पतालका चिकित्सक रोमान मिरोनोवले भने , 'हाम्रो अस्पताल भरिएको छ। हरेक दिन करिब १० प्रतिशत बिरामी डिस्चार्ज भइरहेका छन् र त्यतिनै भर्ना भइरहेका छन्। यसपटक पहिलाको लहर भन्दा धेरै बिरामी आइरहेका छन्।'