नयाँ दिल्ली - भारतमा कोरोना भाइरसबाट दैनिक भेटिने सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।
बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना कोरोना भाइरसबाट नयाँ सङ्क्रमित भएको उल्लेख गरिएको थियो भने बिहीबार त्योभन्दा चार हजार बढी देखिएको छ।
सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ४५४ जना नयाँ सङ्क्रमित थपिएका हुन्।
सोही अवधिमा १७ हजार ५१६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्यामा पनि वृद्धि भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या एक लाख ७८ हजार ८३१ रहेको जनाएको छ।
भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको कूल संख्या तीन करोड ३४ लाख ९५ हजार ८०८ पुगेको मन्त्रालयले जनाएको छ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म १०० करोडभन्दा बढीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ। रासस