सिन्हवा – बेलायतमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएसँगै मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको छ। गत २४ घन्टामा कम्तीमा पनि २२३ जनाको ज्यान गएको छ। यो मृत्यु यसै वर्षको गत मार्च ९ पछिकै सबैभन्दा धेरै हो। सात महिनाअघि त्यस दिन कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि २३१ जनाको ज्यान गएको थियो।
२४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन्। मंगलबार यहाँका सङ्क्रमितहरु करिब ५० हजार जनाको नजिक पुगेको थियो।बेलायतका अधिकारीहरुले कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको बताएका छन्। स्वास्थ्य अधिकारीहरुले सामाजिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन माग गरेका छन्।
बेलायतका स्वास्थ्य वैज्ञानिकहरुले पनि यो सुझाव दिएका छन्। उनीहरुले हरेक दिन करिब ५० हजार जना सङ्क्रमित भेटिनु र मृत्यु दर पनि हरेक दिन २०० भन्दा माथि हुनुलाई गम्भीर भन्दै सामाजिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन्। यहाँ गएको २४ घन्टायता करिब ४४ हजार जना सङ्क्रमित भएका छन्। यो समेत गरी सङ्क्रमित हुनेको संख्या ८५ लाख पुगेको छ।
महिनौँपछि यहाँ ठूलो संख्याका सङ्क्रमितहरु पाइएको भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गरेका छन्। स्वास्थ्य अधिकारीले धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन्। बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमै उपचाररत छन्। रासस