१. नर्सहरु मलाई आमाजस्तै लाग्छन्
मानसिक वार्डमा म आफूजस्तै बिमारी साथीहरुसँग गफिँदै थिएँ। एक्कासि एक जना नर्स मछेऊ आइपुग्नुभयो र मतर्फ पुलुक्क हेर्दै भन्नुभयो, ‘अक्कल, तिमीलाई डाक्टरसाब्ले बोलाउनुभएको छ।’
नर्सले त्यसो भनेलगत्तै म डा. प्रदीपमान सिंहको कार्यकक्षमा तुरुन्तै पुगेँ। उहाँले मेरो स्वास्थ्यको विषयमा चासो राख्नुभयो। उहाँसँग धेरै कुराहरु भयो।
कुरैकुरामा उहाँले मलाई सोध्नुभयो, ‘अक्कल, किन तिमीले नर्सहरुलाई आमा सम्बोधन गर्छौ ?’
‘डाक्टरसाब्, नर्सहरु मलाई आमाजस्तै लाग्छन्।’ मैले उहाँतर्फ पुलुक्क हेर्दै भनेँ।
२. उहाँको कुरा सुनेर नर्सहरु मुसुमुसु हाँस्न थाल्नुभयो
‘अक्कल, तिमी देवआनन्द हौँ’ डा. प्रदीपमानले मलाई भन्नुभयो, ‘जहिले हेर्दा पनि जवान देखिने।’
उहाँको कुरा सुनेर नर्सहरु मुसुमुसु हाँस्न थाल्नुभयो।
३. मेरो औषधि तेत्तीस चक्कीबाट तीन चक्कीमा झरेको थियो
एकसमयमा, मलाई एक जना डाक्टरले दिनमा तेत्तीस चक्की औषधि खुवाउनुभएको थियो। म जीवनमरणको दोसाँधमा थिएँ।
त्यसैसमयमा, मनोसामाजिक स्वास्थ्य अधिकारकर्मी मातृका देवकोटा र नोरी भुजू नर्सको सहायतामा अर्को डाक्टर डा. प्रदीपमान सिंहको नेतृत्वमा मेरो उपचारको थालनी भएको थियो। डा. प्रदीपमानले उपचार थालेको एक महिनाकै अन्तरालमा मेरो औषधि तेत्तीस चक्कीबाट तीन चक्कीमा झरेको थियो।
४. मैले चुपचाप स्वीकारिदिएको थिएँ
डा. प्रदीपमानले मलाई कलम उपहार दिँदै भन्नुभयो, ‘अक्कल, यसले कविता लेख।’
उहाँले लगभग एक झोला कलम उपहार दिनुभएको थियो।
मैले चुपचाप स्वीकारिदिएको थिएँ।
५. उहाँको साथमा उहाँका विद्यार्थीहरु पनि हुनुहुन्थ्यो
म फलोअपका लागि डा. प्रदीपमानकोमा गएको थिएँ। उहाँको साथमा उहाँका विद्यार्थीहरु पनि हुनुहुन्थ्यो।
उहाँको विद्यार्थीहरुलाई मेरो परिचय दिँदै उहाँले भन्नुभयो, ‘उसको नाम अक्कल लामा हो। कविता ईश्वर थोकर नामले लेख्छन्। तामाङ र नेपाली साहित्यमा उसको नाम छोटा कविता लेख्ने कविका रुपमा सुरक्षित छन्।’
डा. प्रदीपमानले आफ्ना हरेक विद्यार्थीहरुलाई सधैँ मेरो परिचय नछुटाईकन यसरी नै दिइरहनुहुन्थ्यो।