एएनआई – भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सात महिना पछिकै सबैभन्दा कम देखिएको छ। सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो एक दिनमा १८ हजार १३२ जना नयाँ सङ्क्रमित थपिएका छन्।
यो सङ्ख्या २१५ दिन अर्थात सात महिनाभन्दा बढी समय पछिको सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन्।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १९३ जनाको मृत्यु भएको जनाएको छ। योसँगै भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या चार लाख ५० हजार ७८२ पुगेको छ। महामारीबाट पछिल्लो समयमा सवैभन्दा धेरै प्रभावित हुनेमा केरला प्रदेश नै रहेको छ। केरलामा मात्रै पछिल्लो २४ घण्टामा ८५ जनाको मृत्यु भएको छ भने १० हजार ६९१ जना सङ्क्रमित भएका छन्।
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख २७ हजार ३४७ पुगेको छ। यो सङ्ख्या २०९ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी पछिल्लो एक दिनमा २१ हजार ५६३ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै कुल सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ३२ लाख ९३ हजार ४७८ पुगेको छ। रासस