काठमाडौं– अछामको पन्चदेवल बिनायक नगरपालिका –१ कुइकामा जन्ती लिएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। आइतबार राति जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जिप दुर्घटना हुँदा गाडी चालकसहित अन्य १४ जना घाइते भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७ वर्षका जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। यस्तै सोही वडाका १७ वर्षीय हिमाल नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ।
घाइते १४ जनामध्ये १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइहेको छ भने २ जनालाई नेपालगन्ज लगिएको छ। जिप कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको थियो।
दुर्घटनामा घाइते भएका १४ जनाको पहिचान खुलेको छ। घाइते भएका वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज लगिएको छ।
जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. २ का ६५ वर्षीय कृष्ण देवकोटा, १५ वर्षीय भरत ढकाल, भवानी ढकाल, १४ वर्षीय जीवन धामी, १६ वर्षका जगत बिक, १६ वर्षकै हिक्मत आउजी, १७ वर्षका प्रेम नेपाली, १८ वर्षका सन्तोष ढकाल, १९ वर्षका दिपेन्द्र धामी रहेका छन्। यस्तै वडा नं. ८ का २२ खम्म खनाल, वडा नं. ५ का १९ वर्षीय तपेन्द्र भण्डारी, रहेका छन्।
उनीहरुमध्ये भरत ढकाल र सन्तोष ढकाललाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने तपेन्द्र भण्डारी उपचारपछि घर फर्किएका छन्। अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।