काठमाडौं- भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या २०१ दिनपछिकै सबैभन्दा कम भएको छ। पछिल्लो समय दैनिक संक्रमितहरुको सङ्ख्या घट्दै जानेक्रममा मंगलबार झण्डै सात महिना पछिकै कम भएको हो।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ७९५ जना मात्रै नयाँ संक्रमित भएका छन्।
दैनिक संक्रमितहरुको २० हजारभन्दा कम हुनुलाई सन्तोषजनक अवस्थाको रुपमा लिइएको अधिकारीहरुको भनाइ छ। नयाँ संक्रमित मध्ये आधाभन्दा बढी केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार केरलामा मात्रै पछिल्लो एक दिनमा ११ हजार ६९९ जना संक्रमित भएका हुन। केरला बाहेक अन्य क्षेत्रको संक्रमितको सङ्ख्या हेर्दा अत्यन्त न्युन देखिएकाले पनि सन्तोष मान्नु पर्ने अवस्था नै रहेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ।
यसलाई अझै घटाउनका लागि खोप अभियानसँगै सतर्कता अपनाउनु पर्ने अभियानलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितहरुको सङ्ख्या तीन करोड ३६ लाख ९७ हजार ५८१ पुगेको छ।
कुल संक्रमित मध्ये दुई लाख ९२ हजार २०६ जना संक्रमित अवस्थामै रहेका छन्। यो पनि १९२ दिनपछिकै सबैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन्। सक्रिय संक्रमितहरुको अहिलेको सङ्ख्या कुल संक्रमितहरु मध्येको एक प्रतिशतभन्दा पनि कम देखिएको छ। यो सङ्ख्या पनि २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीहरुको भनाइ छ।
मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल तीन करोड २९ लाख ५८ हजार दुई जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्। ती मध्ये २६ हजार ३० जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका हुन। दैनिक नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै हुदै गएकाले सक्रिय संक्रमितहरुको सङ्ख्या पनि घट्दै गएको हो।
भारतमा कोरोनाबाट अहिलेसम्म कुल चार लाख ४७ हजार ३७३ जनाको मृत्यु भएको छ। ती मध्ये १७९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ।