न्यूयोर्क- युनिसेफद्वारा आज जारी एक नयाँ प्रतिवेदनका अनुसार, २ वर्षभन्दा कम उमेरका बालबालिकालाई फस्टाउन र राम्रोसँग हुर्कनकालागि आवश्यक खाना वा पोषक तत्त्वहरू प्राप्त हुँदैनन्, जसका कारण उनीहरूको विकासमा अपरिवर्तनीय हानि हुन्छ।
यस हप्ता हुन गैरहेको संयुक्त राष्ट्र खाद्य प्रणाली शिखर सम्मेलनअघि जारी-फेड टु फेल? बालबालिकाको प्रारम्भिक जीवनमा आहार सङ्कट- ले बढ्दो गरीबी, असमानता, द्वन्द्व, जलवायुसम्बन्धी प्रकोपहरू र कोभिड-१९ को महामारी जस्ता स्वास्थ्य आपतकालीनले सबैभन्दा साना उमेरकाहरूमा निरन्तर रहेको पोषण सङ्कटलाई पनि प्रशय दिइरहेको र पछिल्लो दस वर्षमा सुधारको सानो सङ्केत पनि नदेखिएको चेतावनी दिएको छ।
"प्रतिवेदनको निष्कर्ष स्पष्ट छ: जब जोखिम सबैभन्दा बढी हुन्छ तब, लाखौँ बालबालिकालाई खुवाउन असमर्थ हुन्छौँ। जीवनको पहिलो दुई वर्षमा न्यून पोषणयुक्त पदार्थ सेवन गर्नाले बालबालिकाको तीव्र गतिमा बढ्दो शरीर र मस्तिष्कमा अपरिवर्तनीय हानि पुर्याउँछ जसले उनीहरूको शिक्षा, रोजगारीको संभावना र भविष्यलाई प्रभावित गर्छ। बर्षौंदेखि हामीलाई यो कुरा थाहा भएता पनि, बालबालिकाको लागि सही प्रकारको पौष्टिक र सुरक्षित खाना उपलब्ध गराउने तर्फ थोरै प्रगति भएको छ। वास्तवमा, कोभिड-१९ निरन्तर भएको अवस्थामा सिर्जना भएका अवरोधहरूले स्थितिलाई झन् बढीजटिल बनाउन सक्छ', युनिसेफका कार्यकारी निर्देशक हेन्रिएटा फोरले भने।
९१ देशहरूको विश्लेषणपछिको प्रतिवेदनअनुसार ६ देखि २३ महिनाका बालबालिकामध्ये आधालाई मात्र सिफारिश गरिएको अनुसार दैनिक न्यूनतम खाना खुवाइन्छ। त्यसैगरी, एक तिहाई बालबालिकाले मात्र उनीहरूलाई फस्टाउन आवश्यक पर्ने न्यूनतम खाना समूहहरूको उपभोग गर्दछन्। उपलब्ध प्रवृत्ति तथ्याङ्क भएका ५० देशहरूको थप विश्लेषणले खाना खुवाउने यी गलत प्रवृत्तिहरूपछिल्लो दशकभरि नै जारी रहेको खुलासा गर्दछ।
कोभिड-१९ ले अत्यावश्यक सेवामा बाधा पुर्याइरहेको र धेरै परिवारलाई गरिबीतिर धकेलिरहेको अवस्थामा, महामारीले परिवारहरूलाई उनीहरूले बालबालिकालाई कसरी खाना खुवाउँछन् भन्ने कुरामा प्रभावित गरिरहेको तथ्य प्रतिवेदनले देखाउँछ।
इन्डोनेसिया, नेपाल, मलावी, लेसोथो र केन्याको तथ्याङ्कले आम्दानीमा पुगेको हानि र महामारीको प्रभावका कारण बालबालिकाको आहारको गुणस्तर बिग्रेको देखाउँछ। नेपालमा, युनिसेफले बालबालिकाको आहार र परिवारहरूले गुमाएको रोजगारी सहित सामाजिक-आर्थिक प्रभावहरूलाई निगरानी गर्न बालबालिका र परिवार ट्रयाकर सर्वेक्षण गर्दै आएको छ र जसले देखाएको छ कि यो महामारी भरि नै ३ मध्ये १ परिवारले दैनिक प्राप्त गर्नुपर्ने आहार प्राप्त गर्न कष्ट भोगिरहेका छन् र बालबालिकाको विविध आहार ती परिवारका लागि ठूलो चिन्ताको विषय भएको छ।
बालबालिकाले न्यून आहार र खाने अभ्यासको नराम्रो परिणाम जीवनभरि भोग्नु पर्छ। सानै उमेरमा उनीहरूको बृद्धिका लागि चाहिने तरकारी, फलफूल, अण्डा, माछा र मासुमा पाइने पोषक तत्त्वहरूको अपर्याप्त मात्राले बालबालिकालाई कमजोर मस्तिष्क विकास, कमजोर शिक्षा, प्रतिरक्षा, संक्रमण र सम्भावित मृत्युको जोखिममा पार्छ।
पुड्कोपन र ख्याउटेपन तथा सूक्ष्म पोषक तत्त्वहरूको कमीका साथै खानाको गलत अभ्यासको कारणले हुने अधिक तौल र मोटोपनाले गर्दा दुई वर्षभन्दा कम उमेरका बालबालिका सबै प्रकारको कुपोषणको जोखिममा पर्छन्। बालबालिकालाई उनीहरूको प्रति किलोग्राम शरीरको तौलको निम्ति जरूरी पोषक तत्त्वहरूको आवश्यकता अन्यका लागिभन्दा अधिक हुने हुनाले र उनीहरूको आमाबुबाले उनीहरूको स्वास्थ्य प्रति देखाउने व्यवहार (जस्तै रोगको रोकथाम र उपचारको कमी) का कारण यस्ता बालबालिका सबै प्रकारको कुपोषणको जोखिममा पर्छन्।
युनिसेफको अनुमान अनुसार, विश्वव्यापी रूपमा ५ वर्षभन्दा कम उमेरका ख्याउटेपन भएका बालबालिकामध्ये आधा भन्दा बढी (लगभग २ करोड ३० लाख बालबालिका) २ वर्षभन्दा कम उमेरका छन्। त्यसैगरी, बालबालिकाको आहार उनीहरूको बढ्दो पोषणको आवश्यकताहरूसँग तालमेल राख्न असफल हुने हुनाले ६ महिनादेखि दुई वर्षको बिचमा पुड्कोपनको प्रकोप तिब्र गतिले बढ्छ।
प्रतिवेदनका अनुसार, ६ देखि २३ महिना उमेरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने वा गरिब घरधुरीका बालबालिकाले सहरमा बसोबास गर्ने वा धनी साथीहरूको तुलनामा न्यून खाना खान्छन्। उदाहरणको लागि, २०२० मा, सहरी क्षेत्रहरूमा सिफारिश गरिएका खाद्य समूहहरूको न्यूनतम संख्या खुवाइएको २३ प्रतिशत बालबालिकाको तुलनामा ग्रामीण क्षेत्रहरूमा ३९ प्रतिशतको अनुपातले उच्च थियो। दक्षिण एशियामा ४ मध्ये १ भन्दा कम (१९ प्रतिशत) बालबालिकालाई न्यूनतम विविध आहार खुवाइन्छ।
तर सही प्रतिबद्धता र लगानी गरेमा परिवर्तन सम्भव छ। बङ्गलादेश, बुर्किना फासो, कम्बोडिया, कोटे डी आइभोर, गाम्बिया, किर्गिस्तान, माल्दिभ्स, नेपाल, सिएरा लियोन र तिमोर-लेस्टे जस्ता दस देशहरूले सिफारिश गरिएका खाद्य समूहहरूको न्यूनतम संख्या उपभोग गर्ने बालबालिकाको अनुपात पछिल्लो दशकमा १० प्रतिशत अङ्कले बढाएका छन्।
सबै बालबालिकाले विविध आहारबाट लाभ उठाउन, उनीहरू बढ्न, विकास गर्न र आफ्नो पूर्ण क्षमतामा पुग्नका लागि सबै प्रकारको कुपोषणबाट उनीहरूलाई जोगाउनसबै क्षेत्रहरूमा लगानी सुनिश्चित गर्न आवश्यक छ।