नयाँ दिल्ली- भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या छ महिना पछिकै सवैभन्दा कम भएको छ। सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार अहिले भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख एक हजार ९८९ पुगेको छ। यो संख्या १८६ दिनपछिकै सवैभन्दा काम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
भारतमा सक्रिय संक्रमितहरुको संख्या पछिल्लो समय लगातार घट्दै गएको छ। दैनिक नयाँ संक्रमितभन्दा दैनिक संक्रमणमुक्त भएकाहरुको संख्या बढी हुदै गएकाले सक्रिय संक्रमितहरुको संख्या घट्दै गएको हो।
पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ९६४ जना नयाँ संक्रमितहरु थपिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
सोही अवधिमा ३४ हजार १६७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको देखिएको अधिकारीहरुले जनाएका छन्। योसँगै भारतमा अहिलेसम्म कुल तीन करोड २७ लाख ८३ हजार ७४१ जना संक्रमणमुक्त भएका छन्।
भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख ४५ हजार ७६८ जनाको मृत्यु भएको छ। ती मध्ये ३८३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ। रासस