काठमाडौं- फुटबल बादशाह पेलेको पेटको शल्यक्रिया गरिएको छ। उनको पेटभित्र पलाएको ट्युमर शल्यक्रियामार्फत काटेर फालिएको बीबीसीले जनाएको छ।
पेटमा समस्या भएसँगै ८० वर्षीय ब्राजिलियन अस्पतालमा भर्न भएका थिए। ट्युमर फालेसँगै पेलेले सामाजिक सञ्जालमार्फत सोमबार आफ्नो पेटमा रहेको शंकास्पद घाउ शनिबार हटाइएको जानकारी दिएका छन्।
‘भाग्यवश मैले पनि तपाइहरुसँगै ठूलो विजय मनाएको छु’ तीन पटकका विश्वकप विजेता पेलेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनुहारमा चमक, आशा र आनन्द बोकेर यो खेललाई मैले सामना गर्नेछु।’ आफ्नो उपचारमा संलग्न सबै चिकित्सकलाई उनले धन्यवाद दिएका छन्।
यसअघि पेले बिरामी परेको र एकपटक बेहोस भएको भन्ने विवरण सार्वजनिक भएका थिए। गत साता परीक्षणका क्रममा दायाँ पेटको भित्री भागमा ट्युमर देखिएको उनले बताएका थिए। सन् २०२० को फेब्रुवरीमा पेलेका छोरा इडिनहोले बाबु राम्रोसँग हिँड्न नसकेको र धेरै दिन बाहिर नगएको बताएका थिए।
पेलेको स्वास्थ्यलाई लिएर पछिल्लो समयमा उनका प्रशंसकले चासो देखाउन थालेका छन्। सन् २०१५ मा उनको प्रोस्टेट सर्जरी भएको थियो। त्यसको ६ महिनापछि उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो। त्यस्तै, सन् २०१९ मा उनलाई पिसाबको संक्रमण भएको थियो। आफ्नो २१ वर्ष लामो फुटबल जीवनका क्रममा पेलेले १३ सय ६३ खेल खेलेका थिए।