काठमाडौं– मंगलबार दिउसो २ बजे जोरपाटीमा रहेको चामुण्डा माविमामा मानिसहरुको भिडभाड थियो। विद्यालयको प्रवेशद्धारामा मानिसहरु छाता, रेनकोट ओडेरै लाइनमा थिए। कोही पानीमा भिज्दै लाइनमा थिए।
सोमबार नेपाल अर्थोपेडिक अस्पतालमा सञ्चालन भएको खोप कार्यक्रम मंगलबारदेखि सो विद्यालयमा सञ्चालन गरिएको थियो।सरकारले जोन्सन एण्ड जोन्सन खोप कार्यक्रम सञ्चालन गरेकाले मानिहरु झरीलाई वेवास्ता गर्दै रुझ्दै खोप लगाउन पालो कुरेर बसेका थिए।
‘बिहान ८ बजेदेखि लाइनमा बसेको २ बजे बल्ल पालो आयो, पानीमा रुझियो, भोक पनि लागिसक्यो,’ खोप केन्द्रबाट खोप लगाएर फर्किँदै गरेकी एक महिलाले भनिन्, ‘जे जस्तो भएपनि खोप लगाउन पाइयो, खोप पाएकोमा खुसी छौं।’
कोभ्याक्स फ्यासिलिटी अन्तर्गत अमेरिकी सरकारले जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराएपछि सरकारले सोमबार देखि जोन्सन एण्ड जोन्सन खोप अभियान सुरु गरेको थियो। सो खोप यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइ कर्मी, 'क' र 'ख' वर्गका अपाङ्गता भएका व्यक्ति तथा शरणार्थीहरु र विदेश जान लागेका युवाहरुलाई प्राथमिकतामा राखिएको छ।
चामुण्डा माविको खोप केन्द्रमा विशेषगरी गोकर्णेश्वर नगरपालिका आसपासमा रहेका शरणार्थी, ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपाङ्गता भएका व्यक्ति र विदेश जान भिसा प्राप्त गरिसकेका युवाहरुलाई खोप लगाइएको थियो।
मंगलबार काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ। चामुण्डा माविमा जस्तै अन्य खोप केन्द्रहरुमा पनि मानिसहरु कोरोना विरुद्धको खोप लगाउन लाइनमा बसेका थिए।










भिडियो