काठमाडौं- डा सुवास प्याकुरेल सन् २००३ मा एमिबिबएसपछि एमडी अध्ययनका लागि अमेरिका पुगेका थिए। सुन्दर भविष्यको सपना बोकेर अमेरिका पुगेका डा प्याकुरेलले एमडी सकेपछि केही समय काम गर्ने अनि सिप सिकेर नेपाल फर्केन सोच बनाएका थिए। अमेरिकामा नै रहेको समयमा उनको जीवनमा एक अनठौ घटना घट्यो। अघिल्लो दिनसम्म हाँसी मजाक गरिरहेका उनको आवाज एक्कासी हरायो। बोली नै हराएपछि अब कसरी कुराकानी गर्ने? उनको आवाज एक दिनका लागि मात्र हराएको थिएन। ६ वर्षसम्म उनको बोली नै हरायो। यो बीचमा उनले भोगेका समस्या, बोली फर्काउन गरेका प्रयास लगायतका विषयमा स्वास्थ्यखबरसँग अनुभव साटेका छन्। उनको अनुभव उनकै शब्दमा :
000
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बाट सन् २००१ मा एमबिबिएस पूरा गरेपछि ममा एउटा सपना पलाएको थियो, अमेरिका गएर एमडी पढ्ने। म मात्र होइन, आइओएमबाट एमबिबिएस गर्नेहरू सबैको गन्तव्य अमेरिका नै हुन्थ्यो। कारण, अमेरिकाको शिक्षा र हेल्थकेयर सबैका लागि रोलमोडल थियो। उद्देश्य उच्च शिक्षा भएपनि अमेरिकामै सेटल हुन्छु भन्ने कुरा भने मनमा कहिल्यै आएन। त्यहीअनुरूप युएसएमएलइ (युनाइटेड स्टेट्स मेडिकल लाइसेन्स एक्जामिनेसन) को तयारी गरियो। स्टेप वान र स्टेप टुको परीक्षा दिइसकेपछि क्लिनिकल सीपका लागि अमेरिका नै जानुपर्ने भयो।
०००
सन् २००३ र २००४ को बीचतिर अमेरिका गएँ।
अमेरिकाको कनेक्टिकटमा आफ्नै साथीको परिवारसंग बसें। सिएसए परीक्षाको तयारी सुरु गरें। बाँकी समयमा खासै काम थिएन। पर्यटक भिसामा गएकाले प्रक्रिया नसकिइकन केही पनि गर्न सकिँदैनथ्यो। त्यसैले नेपाली समुदायमा सम्पर्क बढ्यो। नेपालीहरूको संस्था खोलेर कोष वृद्धि गर्न देउसी, भैलो खेलियो। राम्रै पैसा संकलन पनि भयो।
नोभेम्बरको महिना थियो। दिन बिर्सें। त्यसदिन सबैसंग राम्रैसंग कुरा गरिओरी सामान्य रूपमा सुतें। भोलिपल्ट बिहान लगभग साढे ६ बजे उठें। सबैलाई चिया बनाएर खुवाउन मलाई मजा लाग्थ्यो। उठेर ‘चिया बनाऔं है’ भनेर सोध्न थालें। तर, अचानक आवाज गायब भएको थियो। आवाज निकाल्न धेरै प्रयास गरें। घाँटी खसखस भएजस्तो भयो। आवाज एकदमै नसुनिने भएको थियो। केही अड्कियो या चिसोका कारणले होला भनेर तातोपानी खाएँ। फेरि प्रयास गरें आवाज आएन। अस्थायी खालको समस्या होला भनेर दुई–तीन घण्टा शान्त भएर बसें र फेरि प्रयास गरें। तर, सफल भइन।
ऐनाको अगाडि बसेर बोल्ने प्रयास गरें, अरु व्यक्तिसंग कुरा गर्दा हुन्छ कि भनें। तर, जे गर्दा पनि मेरो आवाज निस्किएन। सबैजना अचम्ममा परिरहेका थिए। सोचें, घाँटीमा कुनै संक्रमण भयो कि ?
डाक्टरको रूपमा कस्तो अनुभूति हुँदोरहेछ भने– डाक्टरले अरुको समस्या सजिलै पहिचान गर्न सक्छ, समाधान सजिलै गर्न सक्छ । तर, जब डाक्टर आफैँ बिरामी हुन्छ, या परिवारका सदस्य बिरामी पर्छन्, उ डाक्टरको रूपमा रहँदो रहेनछ। उसले अलिकता आफ्नो स्पेस छाड्दो रहेछ।
दुई–तीन दिन पर्खनुपर्छ भन्ने लाग्यो। संक्रमण भयो कि भनेर चिसोबाट बच्ने प्रयास गरें। नदेखिएपनि टन्सिलाइटिस, फयारेन्जाइटिस वा ल्यारेन्जाइटिस भयो कि भनेर आफूले ल्याएका केही औषधि चलाएँ, कुल्ला गरेर पनि हेरें। एकहप्ता कुरें। समस्या २० को १९ भएन। आवाज एकदमै नसुनिने भएको थियो। आवाज १० मा ३ मा झरेको थियो। यस्तो लाग्यो, घाँटीको आवाज यन्त्रबाट नभई अरु नै कुनै अंगबाट आवाज आइरहेको छ।
एकहप्ता बित्यो। दुई हप्ता बित्यो। तर पनि आवाज फर्किएन।
अमेरिकाको हामी जति सबल पक्षको कुरा गर्छौं, त्यति नै कमजोरी पनि छ। बिमा गरेको छैन भने बिरामीले उपचार पाउँन समस्या छ। अस्पतालले बिरामीलाई इमर्जेन्सी अवस्था पार गराएर छाड्छन्, त्यसपछि बिल पठाउन थाल्छन्। तर, मेरो इमर्जेन्सी समस्या पनि थिएन। कुनै डाक्टरकहाँ गएर जचाँउन सक्ने परिस्थिति कुनै एंगलबाट पनि देखिएको थिएन।
त्यो मेरो करिअरका लागि निकै महत्वपूर्ण समय थियो। सिएसएको परीक्षा दिनुपर्ने थियो, जसमा बोल्नैपथ्र्यो। बल्ल–बल्ल बोलेर जसोतसो त्यो परीक्षामा पास त भइयो। तर, मलाई आवाजकै कारण मेरो क्षमता स्वात्तै घटेको जस्तो अनुभव भयो। मेरो क्षमता १०० बाट ३० मा घटेकोजस्तो अनुभव भइरहेको थियो। सिएसए पास गरेपछि केही ठाउँमा आवेदन दिएँ। केही ठाउँमा अन्तर्वार्तामा सामेल पनि भएँ। तर, ती सबै फलदायी भएनन्। किनभने बोली नै नभएको डाक्टरलाई कसैले लिने कुरा पनि भएन। त्यो अस्वाभाविक पनि थिएन।
त्यतिबेला मलाई तेक्वान्दो खेल्नेको हात गएजस्तो, भक्तराज आचार्यको जिब्रो काटिएजस्तो भयो अब भन्ने लागिरह्यो।
चिकित्सा क्षेत्रमा जुनुसुकै प्रकारको स्पेसलिष्ट भएपनि बोल्न सकेन भने उसको करिअर छैन भन्दा पनि हुन्छ। अन्तिम प्रस्तुति नै बोलीबाट गर्नुपर्ने हुन्छ। लेखेर मात्र करिअर चल्दैन। दुई–तीन महिनाको बीचमा एक–दुई डाक्टरलाई भेट्ने कोशिस गरें। उहाँहरूले घरमा बोलाएर व्यक्तिगत रूपमा परामर्श दिनुभयो। तर, क्लिनिकमा लगेर केही गर्न सक्दिँन भन्नुभयो।
घरमा फोन गर्दा सबैजना रुन थाल्नुहुन्थ्यो। अमेरिका पढ्न गएको छोराको आवाज नै छैन भन्दा उहाँहरूलाई पनि नराम्रो लाग्थ्यो। तर, यस्तो बेला परिवारको ठूलो भूमिका हँुदो रहेछ, यस मामलामा आफूलाई भाग्यमानी नै ठानेको छु। जे–जस्तो हुन्छ, नेपालमै आएर सुख–दुःख बाँडेर बस्ने सल्लाह दियो परिवारले। सबैले ढाढस दिनुभयो– तिमी क्षमतावान छौं, अरु काम पनि गर्न सक्छौं, घरमा जे–जति छ, सम्पत्ति पनि छदैंछ, चिन्ता नलेऊ, अहिलेसम्म तिमीले धेरै प्रमाणित गरिसकेका छौ भनेर।
०००
नेपाल आएपछि एउटा अनुभव गरें। यस्तो बेलामा सहयोग गर्नुपरेमा त्यतिबेला चाहिँ मानिसहरूले खुच्चिङ गरेजस्तो, मनोवैज्ञानिक रूपमा ‘सप्रेस्ड’ गरेजस्तो लाग्यो।
उपचार सुरु गरें। आइओएम पढ्दाताकाका गुरु, इएनटीका डाक्टरसहित काठमाडौंका अधिकांश डाक्टरकहाँ जचाउन गएँ। स्वास्थ्य क्षेत्रको वास्तविकता थाहा पाउन कहिलेकाँही डाक्टर नै गम्भीर बिरामी पर्नुपर्दो रहेछ। यो कुरा कतिपयलाई तितो लाग्न सक्छ। जचाउँने क्रममा मैले यही अनुभव गरें। कुन डाक्टर राम्रो, कतिखेर जाने, कहिले जाने भन्ने कुराको एउटा पनि सिस्टम देखिँन मैले। मलाईमात्र होइन, धेरै बिरामीले यही अनुभव गरेको हुनुपर्छ।
मेरो अर्को अनुभव, बिरामीले डाक्टरबाट धेरै आशा गर्दोरहेछ, डाक्टरकहाँ जाँदा आफूलाई सुम्पिएरै गएको हुँदोरहेछ। आफ्ना रोगका बारेमा डाक्टरले बुझाइदेओस् भन्ने लाग्दोरहेछ। मैंले त्यो ग्याप देखें नेपालमा। मैले डाक्टरहरूलाई सोध्दा सामान्य रूपमा लिएको पाउँथें। कम्तीमा चित्र बनाएर यहाँनेर यस्तो भएको देखियो, विकल्प यो हुन सक्छ भनेर भनिदेओस् भन्ने अपेक्षा हुँदोरहेछ। पेसेन्ट एजुकेसन, पेसेन्ट काउन्सिलिङजस्ता संस्कार नभेट्दा मन कुँडिदो रहेछ। मैले बिरामीको रूपमा त्यो ठूलो ग्याप देखें।
०००
यस्तो बेलामा हरेक मानिसका हरेक थरिका कुरा हुँदारहेछन्। हरेकले सुझाव दिँदारहेछन्। कतिपयले भारत गएर जचाउँनु पनि भने। जान पनि खोजियो। तर, कुहिराको कागजस्तो अवस्था थियो। कुन अस्पताल जाने, कुन डाक्टरलाई देखाउने अन्यौल भयो।
वैकल्पिक उपचारका लागि आयुर्वेद, होमियोप्याथी, नेचुरोप्याथीजस्ता हरेक विधि अपनाएँ। यसबाट के बुझियो भने बिरामी र आममानिसमा विकल्प खोज्ने प्रवृत्ति हुँदोरहेछ भन्ने बुझियो। घरेलु उपचारका विधि पनि अपनाइयो।
त्यतिबेला मन कति सवेंदनशिल हुँदोरहेछ भने जसले जे भनेपनि हो जस्तो लाग्दोरहेछ। म मेडिकल डाक्टर भएर पनि तर्क हुन्थेन ममा। नास्तिक थिइनँ, तर धेरै अस्तिक पनि थिइनँ। अहिले हातमा नागको औँठी लगाएको छु। परिस्थितिले मानिसलाई आस्तिक पनि बनाउँदो रहेछ। कसैले ज्योतिषलाई देखाउनुपर्छ भन्यो भनेपनि जाउँ–जाउँ लाग्थ्यो। कतिबेला त घरमा थाहा पाउलान् भनेर चिना लुकाई–लुकाई धेरै ज्योतिषकहाँ पनि गएँ। त्यो बेलासम्म ज्योतिषमा विश्वास गर्ने मानिस पनि थिइनँ म। तर, मनले समाधान खोज्दोरहेछ। कुनै बेवा माताकहाँ पनि लुकी–लुकी पनि गइयो।
०००
एकजना विदेशी डाक्टरबाट भने म प्रभावित भएँ। धरानमा इएनटी पढ्दै गरेका एकजना डाक्टरले भनेपछि उनीकहाँ गएको थिएँ। त्यतिबेला टुटेको करिअर पुनः जोड्ने प्रयासस्वरूप अप्थाल्मोलोजीमा एमडि पढिरहेको थिएँ। ती डाक्टरले मलाई ल्यारिङगिस्कोपी गर्न मलाई सिधै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अपरेशन थिएटरमा लगेका थिए। पहिलो दिन मलाई केही भनेनन्। भोलि भेट्छु है मात्र भने। अर्को दिन म एनेस्थेसियाबाट उत्रिइसकेपछि आफ्नो कक्षमा बोलाए। उनले ‘मैले राति यस विषयमा पढें, त्यसकारण हिजो नै नभनेको हुँ’ भनेपछि मलाई खुशी लाग्यो।
कुनै डाक्टरमा चाहिँ पढ्छु भन्दा नजान्ने ठान्छन् कि भन्ने मनोविज्ञान हुँदोरहेछ । सोसाइटीले के ठानेको छ, त्यसमा साइन्स बग्ने होइन, साइन्सले के ठानेको छ, त्यसमा सोसाइटी बग्ने हो। ती विदेशी डाक्टरले ‘यो–यो सम्भावना देखिन्छ, फाइन्डिङ यो देखेंं, यसलाई रुलआउट गर्दै अगाडि बढौं, अनि फलोअपमा बसौंला’ भनेर बोलेको वाक्य नै मेरा लागि सन्तुष्टिको विषय बन्यो। त्यति बेला पनि मेरो समस्या डाइग्नोसिस त भएन, त्यसका बाबजूद पनि उनीसंग सन्तुष्ट भएँ।
०००
बोली सुध्रिएको थिएन। तर पनि यसपछिका दिनमा भने जचाउँन जाने क्रम कम गरें। अमेरिका नजाने निधो पनि भयो। थप अध्ययन नगरी हुँदैंन भनेर फेरि आइओएममा पिजिको इन्ट्रान्स दिएँ। यद्यपि त्यतिबेला मनोवैज्ञानिक रूपमा पनि म ठीक थिइनँ। इन्ट्रान्समा नाम पछाडि निस्कियो। अप्थाल्मोलोजीको एमडि कोर्ष ज्वाइन गरें। ६ महिना त जसोतसो कटाएँ। तर, निरन्तरता दिन सकिनँ। किनभने, बिरामीसंग बोल्नै सक्दिनथें। बिरामीलाई ढोकैसम्म बोलाउँन जाने चलन थियो। मेरो मामलामा त्यो अवस्था एकदम दयनीय भएर निस्कियो। बिरामीलाई सन्तुष्टि दिन गा¥हो भयो। सोचें– लाइफ इज लाइफ, लाइफलाई आफ्नो करिअरसंग तौलन र जोड्नुहुन्न। धेरै विकल्प छन् मसंग भन्ने अनुभूति भयो।
०००
म आवाजविहीन भएको अढाई वर्ष भइसकेको थियो। त्यो समयमा मैले धेरै कुरा गुमाएँ। साथीभाई, कमाई, करिअर गुमाएँ। तर, एउटै कुरा गुमाइन, त्यो हो आत्मविश्वास।
म बोल्न पो सक्दिनँ। लेख्न सक्छु, कम्प्युटर सिकें भने कम्प्युटर चलाउँन सक्छु। मेरो ब्रेन र सोचाई त बिग्रेको छैन नि, मनोविज्ञान त बिग्रेको छैन नि सिर्जनशिलता त गुमाएको छैन नि भनेर सोचें। यसले स्वास्थ्य क्षेत्रमै केही किन नगर्ने भनेर निधो गरें।
आफूले भोगेको ग्यापलाई पूरा गरुँ, बिरामीका अधिकारका कुरा उठाऊँ, उपचारबारे जानकारीको समाधान दिऊँ, पेसेन्ट काउन्सिलिङ र पेसेन्ट एजुकेसनका मोडल तयार पारौं, अस्पताल र डाक्टलाई पेसेन्टकेन्द्रित बनाउँन भूमिका खेलौं भन्ने अनुभूति भयो ।
त्यसपछि डाक्टरहरूका लागि पढ्ने तथा तालिम सेन्टरको परिकल्पना अगाडि बढाए। तर, त्यसलाई निरन्तरता दिन सकिनँ। जीवन चलाउन अगाडि आएका काम नाईं नभनी गर्नुपर्ने भयो। आफनो परिकल्पना साकार पार्न स्रोत जुटाउनुप¥यो। जीवन चलाउँन इन्स्ट्रक्टरको रूपमा काम गरें। अर्बिट एमबिबिएस तयारी कक्षामा आबद्ध भएँ। डाक्टरका लागि भनेर ‘राइज’ भन्ने संस्था खोलें। म डाक्टरको रूपमा भन्दा पनि जीवन कसरी चलाउने भन्ने व्यक्तिका रूपमा उत्रिइसकेको व्यक्ति थिएँ। तर, आत्मविश्वास गुमाइसकेको थिइनँ, जुन जीवनकै रक्षाकवच रहेछ।
आवाज गएको छैटौंै वर्षमा केही सुधार भयो। समूह तहमा बोल्दा सुनिने भयो। कुनै कार्यक्रममा बोल्नुप¥यो भने पिन माइक लगाएर उद्घोषकले सबैलाई शान्त बन्न लगाएर मात्रै बोल्नुपथ्र्यो। बोली बचाइबचाइ बोल्नुपथ्र्यो।
०००
सन् २०१०
महिना याद छैन। भदौतिर जस्तो लाग्छ। त्यसदिन बिहान सदाझैं बिहान साढे ६ बजेतिर उठें। ‘चिया पाक्यो’ भनेर बोल्दा एक्कासी आवाज सामान्य भयो। त्यसपछि म यति खुशी भएछु कि दुईपटक नाचेछु। पहिले आमालाई ढोग्न पुगेछु। त्यसपछि श्रीमतीलाई भन्न पुगेछु – नाउ आइ गट माई करिअर ब्याक, आइ गट माइ थट ब्याक, आइ गट माइ एभ्रिथिङ ब्याक। घरका सबैजना खुशी भए। एकदिन जसरी आवाज गएको थियो, उसैगरी फर्किएको थियो।
आवाज फर्किइसकेपछि धेरैले ‘एमडि गर, तिमीले धेरैलाई निको पार्छौं’ भने पनि। किनभने म बिरामीलाई भित्रैदेखि डुबेर उपचार गर्थें। धेरैले क्लिनिकल अभ्यास किन छाडेको भन्नुहुन्छ पनि। तर, भ भन्ने गर्छु, ‘कृपया मेरोे अनुभूति बुझिदिनुहोला, म दिनमा ३०–४० बिरामी हेरेर अब तृप्त हुन्न, त्यतिले मेरो जीवनको इच्छा पनि पूरा हुन्न। मैले अब परिवर्तनको संवाहक भएर काम गर्नुपर्छ।’
०००
मैले अनुभूति गरेको विषय, मेरो क्षमता, र सिर्जनशिलतालाई मिसाएर एउटा किन राम्रो सिस्टम नबसाल्ने भन्ने सोच आयो। आवाज फर्किएपछि साढे तीन वर्षअघि ‘हेल्थ कन्सर्न’ स्थापना गरें। यसले फोन, वेबसाइट, फेसबुक तथा मोबाइल एपमार्फत् डाक्टर तथा अस्पतालबारे जानकारी प्रदान गर्छ। दूरदराजबाट फोन गरेर, विदेशमा बस्नेले स्काइपबाट डाक्टरको समय लिन सकिन्छ। अहिले ३५०० भन्दा बढी डाक्टर र ३ सयभन्दा बढी अस्पतालको जानकारी हामीले समावेश गरेका छौं। विदेशी बिरामीले बिदेशको अस्पताल छान्नुपर्दा हाम्रो संयन्त्र पनि प्रयोग गर्न सक्छन्। स्वास्थ्यसम्बन्धी विभिन्न क्षेत्रका लागि परामर्शदाताको भूमिका निर्वाह गर्ने उद्देश्य पनि बनाएका छौं।
अहिले पनि म मेरो सपना साकार पार्ने हिँडिरहेको छु।
०००
मेरो आवाज कसरी गयो, कसरी आयो, अझसम्म पनि रहस्यमै छ।