१. कुसुम सिस्टरसित मेरो परिचय यसरी भएको थियो
एक जना सिस्टरले मलाई सोध्नुभयो, ‘अक्कल ! तिमीलाई गीत गाउन आउँछ ?’
‘अलिअलि आउँछ सिस्टर !’ मैले लजाउँदै भनेँ।
‘लु, गाऊ त !’ उहाँले हौसला दिनुभयो।
वरिपरि अरु सिस्टरहरु पनि हुनुहुन्थ्यो। उहाँहरुको माझमा बसेर मैले निर्धक्कसाथ गाउन थालेँ–
‘... मायाको बारीमा, प्रीतिको फूल
सँगाली राखेको कुसुमे रुमाल।’
मैले थरथर काँपिरहेको ओठले यति के गाएको थिएँ, अर्को सिस्टर बोल्न थाल्नुभयो, ‘अक्कल ! मेरो नाम पनि कुसुम हो नि !’
कुसुम सिस्टरसित मेरो परिचय यसरी भएको थियो।
२. तिमी राम्रा कविता लेख्दा रहेछौ
बेड मिलाउने क्रममा कुसुम सिस्टरले मेरो तकियामुनि मैले लेखिराखेका केही कविता फेला पार्नु भएछ।
‘अक्कल ! तिमी राम्रा कविता लेख्दा रहेछौ।’ खुरुरु दौडेर उहाँ मछेऊ आइपुग्नुभयो र मलाई अंकमाल गर्दै उहाँले भन्नुभयो, ‘मलाई किन नभनेको त !’
३. साहित्यमा आजबाट तिमी ‘ईश्वर थोकर’ भयौ
म मानसिक वार्डबाट डिस्चार्ज हुँदै थिएँ।
त्यही समयमा कुसुम सिस्टरले भावुक हुँदै भन्नुभयो, ‘अक्कल ! आजबाट तिमी डिस्चार्ज हुँदैछौ। अब, हाम्रो भेट होला÷नहोला ?’
मैले केही बोल्न नपाउँदै उहाँले फेरि मतर्फ फर्केर भन्नुभयो, ‘‘तिमीलाई म एउटा मायाको चिनो दिँदैछु। स्वीकार ल !’
यति भनेर उहाँले तुरुन्तै एउटा कागजको टुक्रा मेरो हातमा थमाइदिनुभयो। त्यहाँ उहाँले लेख्नुभएको थियो–
प्रिय अक्कल !
तिमीजस्तो कविसित नजिकबाट सङ्गत गर्न पाउनु मेरो भाग्य हो।
तिमी कवि हौ। कविहरुको आफ्नै साहित्यिक नाम हुन्छ। तिमीलाई पनि म एउटा त्यस्तै नाम दिँदैछु।
साहित्यमा आजबाट तिमी ‘ईश्वर थोकर’ भयौ। यही नामबाट कविता लेख्दै जाऊ।
मेरो आशीर्वाद छ।
तिमीलाई माया गर्ने
कुसुम