काठमाडौं- खेलकै क्रममा हृदयघात भएर मैदानमा ढलेका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनकाे स्वास्थ्यमा सुधार आएकाे छ। सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै एरिक्सनले आफू ठीक रहेको बताएका हुन्।
युरोकप २०२० अन्तर्गत शनिबार राति डेनमार्कको कोपनहेगनमा फिनल्यान्डविरुद्धको खेलको ४३औं मिनेटमा बल उनको स्थानसम्म नआउँदै एरिक्सन अचेत भएर मैदानमा ढलेका थिए।
'विश्वभरबाट तपाईंहरुको पठाउनुभएको न्यानो र अद्भूत सन्देशका लागि धेरैधेरै धन्यवाद,' इटालियन क्लब इन्टर मिलानका मिडफिल्डर एरिक्सनले लेखका छन्, 'यसले म र मेरो परिवारका लागि ठूलो अर्थ राख्नेछ। म अहिले ठीक छु। मैले राम्रो महसुस गरिरहेको छु।'
डेनमार्क टिमका डाक्टर मोर्टेन बोएसेनले ह्रदयघातको कारण एरिक्सन अचेत भएर ढलेकाे पुष्टि गरेका छन्।
'यो हृदयघात थियो। उनी गइसकेका थिए। हामीले (कार्डियो पल्मोनरी रिससिटेसन) (सीपीआर) गरेका थियौं,' उनले भने, 'हामीले उनलाई एक डिफिब्रिलेसनपछि फिर्ता ल्यायौं।'
एरिक्सनलाई झण्डै १५ मिनेट मैदानमै उपचार गरेकाे थियाे। स्वास्थ्य टोलीले सीपीआर पनि दिएका थिए। तर, उनी नउठेपछि स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो।
घटनापछि आयोजक यूईएफएले मेडिकल इमरजेन्सीको कारण देखाउँदै खेल झण्डै डेढ घण्टा स्थगित गरेको थियो। तर, दुवै टिमको छलफलपछि खेल सुरु भएको थियो।
खेल सुरु हुँदा दुवै टाेली गाेलरहित बराबरीकाे अवस्थामा थिए। यद्यपि, युरोकपमा डेब्यु खेल खेलिरहेकाे फिनल्यान्डले डेनमार्कलाई १–० ले पराजित गरेको थियाे।
अस्पतालमा एरिक्सनको निगरानी गरिरहेका मुटु रोग विशेषज्ञ सञ्जय शर्माले एरिक्सन अब कहिल्यै फुटबल खेल्न सक्षम नहुने जनाएका छन्। फुटबल एशाेसिएसन (एफए) का कार्डियोलोजी विभागका प्रमुख शर्माले एरिसक्नले अब फुटबल खेल्न सक्ने सम्भावना कम रहेको बताएका छन्।
उनले भनेका छन्, 'जे भयो धेरै गलत भयो। उनी लगभग आज मरिसकेका थिए। तर, उनीहरूले चाँडै अस्पताल ल्याएर उनको ज्यान जोगियाे। मलाई लाग्दैन कि अब उनी पुनः मैदान उत्रिन सक्छन्।'
सम्भवतः अब एरिक्सनको फुटबल करिअर समाप्त भएको उनकाे बुझाइ छ।
'उनी आफ्नो फुटबल करिअर समाप्त गर्ने प्रक्रिया नजिक छन्। अब उनले पुनः व्यवसायिक फुटबल खेल्छन् भन्ने विषयमा म केही भन्न सक्दिनँ,' शर्माले भनेका छन्।