काठमाडौं- कोभिड–१९ को सङ्क्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गरेका छन्।
ट्वीटरमार्फत् सन्देश जारी गर्दै उनले भनेका छन्, “यदि तपाई (अमेरिकी) नागरिकहरूले खोप लगाउनुभएको छैन भने बिना कुनै ढिलाई खोप लगाउनुहोस्' धेरै स्थानहरूबाट खोप सेवा उपलब्ध भइरहेको बताउँदै उनले भने, “हामीसँग यो भाइरसलाई परास्त गर्न अझ धेरै काम बाँकी छ। सङ्क्रमण दरलाई कम गर्न खोप लगाउनुको विकल्प छैन।”उनले सङ्क्रमणका कारण अमेरिकामा लगभग छ लाख व्यक्तिको मृत्यु भएको बताए।
महामारीका कारण विश्व अर्थतन्त्रमा प्रभाब परेको बताउँदै उनले भने, 'अमेरिकालगायत विश्वका कुनै पनि मुलुकले महामारीका कारण ठूलो आर्थिक क्षति व्यहोरेको छ।' संयुक्त राज्य अमेरिका खोप अभियानपछि महामारी नियन्त्रणका साथै आर्थिक वृद्धिको बाटोमा अग्रसर भइसकेको र स्वास्थ्यका हिसाबले पनि देशका अधिकांश भागमा अवस्था सामान्य भइसकेको उनको दाबी थियो।
धेरै जसो देश सामान्य अवस्थामा फर्किएको छ र आफूहरुको आर्थिक सुधारले विश्वलाई नेतृत्व गरिरहेको उनले बताए। कोभिड–१९ सङ्क्रमणका कारण भएको मृत्युको सङ्ख्या उल्लेख्यरूपमा घटिरहेको भएपनि यसैमा सन्तुष्टि लिने अवस्था भने आइनसकेको उनको भनाइ छ।