न्यूयोर्क- युनिसेफका २८ जना दुत एवं सहयोगीले जी-सेभेनका नेताहरूले अति गरिब देशहरूलाई काेराेनाविरुद्वको खोप तुरून्तै उपलब्ध गराउने प्रतिवद्वता जनाउनुपर्ने माग राखेका छन्।
युनिसेफले आज एक खुल्ला पत्रमार्फत् अनुदानमा खोप उपलब्ध गराउन तथा न्यून एवं मध्यम आय भएका देशहरूका लागि निष्पक्ष एवं न्यायोचित रुपमा आपूर्ति गर्न माग गरिएकाे छ।
जी-सेभेनका नेताहरूलाई भाइरसको थप संक्रमण तथा स्वरूप परिवर्तन भई बन्ने विभिन्न भेरियन्टको जोखिम कम गर्नको लागि २० प्रतिशत काेराेनाविरुद्धकाे खोप तुरुन्तै उपलब्ध गराउनुपर्ने युनिसेफले जनाएकाे छ। २८ जना दुत एवं सहयोगीद्वारा गरिएको आव्हानमा युनिसेफका सद्भावना दुतहरूलेसमेत ऐक्यवद्वता जनाएका छन्।
प्रियंका चोपडा जोनस, डेभिड बेकहम, केटि पेरि, ओर्लान्डो ब्रुम, वुपि गोल्डबर्ग, एञ्जेलिक किजो र लियम निसनलगायत सद्धावना दुतहरुले ऐक्यवद्वता जनाएका हुन्। बेलायतको कर्नवालमा यहि जेठ २८ गते शुक्रबार देखि ३० गते आईतबार (जुन ११ देखि १३ सम्म) जी-सेभेनका नेताहरूको शिखर सम्मेलन आयोजना हुँदैछ।
‘कोरोनाविरुद्व विश्व डेढ वर्ष अघिदेखि लडिरहेको भएतापनि थुप्रै देशहरूमा भाइरस फैलिने क्रम जारी रहनुका साथै यसले नयाँ-नयाँ स्वरूप लिइरहेकोले हामीलाई डेढ वर्ष अघिकै अवस्थामा पुर्याउने सम्भावना रहेको छ,’ पत्रमा उल्लेख गरिएको छ,‘यसको अर्थ सम्भावित विद्यालय बन्द, स्वास्थ्य सेवामा अवरोध तथा अझै ठुलो आर्थिक संकटले विश्व भरि नै बसोबास गर्ने परिवार तथा बालबालिकाको भविष्य जोखिममा पार्नसक्छ।’
गरिब देशहरूको लागि खोपको पहुँचमा सहयोग गर्नको लागि सन्चालित कोभ्याक्स कार्यक्रमसँग अहिले नै १९ करोड मात्रा अपुग रहेको उल्लेख गर्दै उक्त पत्रमा यसलाई अस्थायी रूपमा परिपूर्ति गर्नको लागि यो वर्ष जुनदेखि अगस्ट महिनासम्म जी- सेभेन देशहरूले २० प्रतिशत अर्थात् १५ करोड मात्रा खोप उपलब्ध गराउनुपर्ने कुरा उल्लेख गरिएको छ।