कार्यालयको लागि घरबाट निस्किन्छु,
सुनसान सडक देख्छु।
औषधिको पसलको सटर मात्रै खुला देख्छु।
हरेक औषधिको पसलमा भिड देख्छु।
फ्याट–फुट्ट स्कुटर, मोटर साइकल हतारमा कुदाएको देख्छु।
चौक–चौकमा टंटलापुर घाममा उभिएर ड्यूटीमा खटिएको प्रहरी देख्छु।
अफिसमा पुग्छु।
साबुनपानीले हात धुन्छु।
झ्यालबाट पर्दा हटाइ झ्याल खोल्छु।
कुर्सीमा बस्छु, अनि के देख्छु ?
लस्करै लागेर बसेको बिरामी बोक्न आतुर एम्बुलेन्स देख्छु।
पिपिई लगाएर पसिनाले भिजेको चालकलाई देख्छु।
अक्सिजन बोकेर ओहर–दोहर गरिरहेको ट्रक देख्छु।
अक्सिजन आइपुग्दा कुरुवाहरुको मुहारमा उज्यालो देख्छु।
ट्रक लिएर आएको चालक ह्यासफ्यास गर्दै गर्मी छल्न पानी खाइरहेको देख्छु।
आफ्नो ज्यानको प्रवाह नगरी, दिनरात खटिरहेका स्वास्थयकर्मीको ओहोर दोहर देख्छु।
पसिनाले रगत झै लतपत शरीरमा उनिहरुको आँखा मात्रै देख्छु।
त्यस आँखामा निरोगी बिहानीको आशा देख्छु।
फोहर व्यबस्थापन गरिरहेका स्विपर तथा सरसफाईकर्मी साथीहरुलाई देख्छु।
नेपाली सेनाको गाडीमा पिपिई लगाई तैयारी अवस्थामा बसिरहेको सुरक्षाकर्मीहरुलाई देख्छु।
निको भएर घर जाँदै गरेको बिरामी देख्छु।
बिरामी लगायत कुरुवाको अनुहारमा मुस्कान देख्छु।
बिरामीले स्वास्थ्यकर्मीहरुलाई दिइरहेको आशिष देख्छु।
स्वास्थयकर्मीको उर्जा र आत्मबल बढेको देख्छु।
स्वास्थ्यकर्मीको अथक प्रयास बाबजुद बिरामीको मृत्यु देख्छु।
मृतकको आफन्तको आँखाबाट बगिरहेको आँशुको धारा देख्छु।
एकआपसमा साहनभुती दिरहेको देख्छु।
स्वास्थ्यकर्मीको मुहारमा अफसोसका फोहरा देख्छु।
मृतकको लाश बाहिर निकालेको देख्छु।
सेनाले नचिनिने गरी पिपिई लगाइ लास बेरिरहेको देख्छु।
आफन्त शोकमा लास अन्तिम पटक हेरेर रुँदै गरेको देख्छु।
लास बोकेको गाडी बिस्तारै अँखाबाट ओझेल हुदै गईरहेको देख्छु।
आफन्तहरु रुँदै गाडीको पछाडी आफ्नो घर गईरहेको देख्छु।
यस्तो डर लाग्दो दिन बिस्तारै अन्त्य भइरहेको देख्छु।
बिस्तारै मृतकको संख्यामा कमी आएको देख्छु।
संक्रमित भन्दा बढी निको भइरहेको देख्छु।
सुन्दर स्वस्थ्य भोलि नजिक आइरहेको देख्छु।
कार्यालयको दैनिक कामकाजहरु गर्छु।
झ्याल बन्द गर्छु, पर्दाले ढाक्छु।
आफ्नो घरतिर लाग्छु।
-(झा हेटौंडा अस्पतालका सुचना अधिकारी हुन्)