अमेरिका नेपाल मेडिकल फाउन्डेसन अमेरिकामा रही नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न इच्छुक वर्गको साझा संस्था हो। फाउन्डेसनको अध्यक्ष डा भुपेश खड्का छन्। नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै फाउन्डेसनले नेपाललाई सहयोग उपलब्ध गराउँदै आइरहेको छ। फाउन्डेसनले तत्कालिन आवश्यकताका कुरादेखि दीर्घकालिन रुपमा फाइदा पुग्ने ठूला सहयोग गर्दै आइरहेको फाउन्डेसनका अध्यक्ष डा भुपेश खड्काले जानकारी दिएका छन्। उनका अनुसार फाउन्डेसनले नेपालका अस्पतालमा अक्सिजन प्लान्ट बनाउने महत्वपूर्ण काममा पनि सहयोग गरिरहेको छ।
कोरोनाको पहिलो लहरमा एक करोडभन्दा बढीको सहयोग गरेको फाउन्डेसनले दोस्रो लहरमा पनि त्यो भन्दा बढी सहयोग गर्ने भएको छ। यसका साथै फाउन्डेसनले अमेरिकी सरकारलाई नेपालमा कोभिड भ्याक्सिन उपलब्ध गराउने विषयमा पनि पैरवी गर्दै आइरहेको डा खड्काले जानकारी दिए।
फाउन्डेसनले कोभिडको समयमा गरिरहेको सहयोग र भइरहेका प्रयासका विषयमा स्वास्थ्यखबरले अध्यक्ष डा खड्कासँग कुराकानी गरेको छ। डा खड्काले दिएको जानकारी उनकै शब्दमा:
अमेरिका नेपाल मेडिकल फाउन्डेसनले कोरोना संक्रमणको दोस्रो लहर सुरुभएदेखि प्रमुख २ वटा काम गरेको छ। एउटा नेपालमा तत्कालै आवश्यक पर्ने कुरामा सहयोग गर्ने र अर्को भनेको अमेरिकामा नै रहेर नेपालमा कसरी ठूलो र महत्वपूर्ण सहयोग गर्न सकिन्छ भनेर पैरवी गर्ने काम गरेका छौं।
अमेरिकामा बसेर हामीले एड्भोकेसीका लागि आ–आफ्नो ठाउँमा बसेर विभिन्न राज्यहरुका लिडरहरुसँग तथा फरेन रिलेसन कमिटिहरुका व्यक्तिहरुलाई पत्रहरु पनि लेख्यौ। विभिन्न अफिसहरुमा पुगेर नेपालको विषयमा कुराहरु पनि राख्यौं। यसमा हामीले विशेषगरी दुईवटा विषयमा फोकस गर्यौं। नेपालमा भ्याक्सिनको अवस्था एकदमै कमजोर छ। नेपालमा देस्रो लहर फैलिरहेको र भ्याक्सिन लगाउनेको संख्या निकै कम भएकाले हामीले कसरी नेपालमा भ्याक्सिन उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा यहाँ कुराहरु उठायौँ। एस्ट्राजेनिकाको भ्याक्सिजन कसरी नेपालसम्म पुर्याउन सकिन्छ भनेर त्यसबारेमा एड्भोकेसी भइरहेको छ।
अमेरिकामा ६० मिलियन डोज एस्ट्राजेनिकाको भ्याक्सिन रहेको थाहा भएको छ। म अमेरिकाको ओहिओ राज्यमा बस्छु। यो राज्यको एउटा कम्पनीमा एस्ट्राजेनिकाका ३० मिलियन खोप प्रयोगका लागि तयारी अवस्थामा रहको कुरा न्युर्योक टाइम्सले जनाएको थियो। यो विषयमा हामीले सिनेटरसँग पनि कुरा गरेका थियौं। भ्याक्सिनको विषयमा सबै तहबाट कुरा भइरहेको छ।
अर्को कुरा नेपालमा कोरोना संक्रमणको समयमा जसरी मानविय संकट आइरहेको छ। त्यसका लागि इमिडिएट रिलिफ त्यो पनि गर्भमेन्ट टु गर्भमेन्ट विगर स्केलमा गर्नुपर्ने रिलिफ प्याकेजलाई पनि पैरवी गरिरहेका छौं। यसका लागि अमेरिकाको डिपार्टमेन्ट स्टेट, युएसएआइडी लगायत विभिन्न सरोकालवाला र गैरनाफामुलक संघसंस्थासँग पनि कुरा भइरहेको छ। आवश्यक पर्ने अक्सिजन सप्लाई, पिपिई, अस्पतालको बेड, कोभिड बेड लगायतको विषयमा कुरा भइरहेको छ। नेपाल सरकारले गत मे १० मा निकालेको एउटा लिष्ट र त्यसभन्दा अगाडि परराष्ट्र मन्त्रालयले निकालेको लेटर र हाम्रो दूतावासमा भएको पत्रलाई आधार मानेर सहयोगका लागि एड्भोकेसीको काम गरिरहेका छौं।
अर्को भनेको इमिडेट रिलिफको कामहरु हो। हाम्रो फाउन्डेसनले कोभिड क्राइसिस म्यानेजमेन्टसँग सहकार्य गरेर सामाखुसीको राधास्वामीमा २०० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर बनाएका छौं। अहिलेको अवस्थामा ८८ बेडमा अक्सिजन सहितको व्यवस्थापन गरेका छौं। त्यसमा अक्सिजन सप्लाईको लागि सिलिण्डरबाट सुरु भएको छ भने लिक्विड अक्सिजन प्लान्ट जडानको पहल भइरहेको छ।
हामीले काठमाडौं बाहिरका प्राइमरी हेल्थ केयर तथा साना अस्पतालहरुमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने काम पनि अगाडि बढिरहेको छ।
हामीले अलि अगाडि नै सुरु गरेको कोशी अस्पतालमा अक्सिजन प्लान्ट पनि आउँदै छ। यस्तै गोरखामा पनि अक्सिजन प्लान्ट जडान हुँदैछ।
त्यसबाहेक अहिले १० वटा अक्सिजन प्लान्ट पेरिसबाट एयरलिफ्ट गरेर पठाउने ग्रुप बनेको छ। त्यसमा हाम्रो फाउन्डेसनले २ वटा अक्सिजन प्लान्ट नेपाल पठाउँदै छ। हामीले पठाउने २ वटा प्लान्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरेर इन्सटल हुन्छ। एउटा प्लान्टकाे एक करवडभन्दा बढी मुल्य पर्न जान्छ। ती प्लान्टलाई नेपाल पठाउन थप खर्च लाग्छ। एयरलिफ्टको खर्चको चाँही हामीले अझै एकिनका साथ भन्न सक्ने अवस्था छैन। यसमा नेपाल सरकारले सहयोग गर्यो भने सहज हुन्छ।
यस्तै हामीले नेपाल चिकित्सक संघसँग मिलेर टेली मेडिसिन सेवा पनि सुरु गरेका छौं। नेपाल चिकित्सक संघमा ११५६ हटलाइन सेवा छ, कल फर्वाडिङको व्यवस्था सहित। नेपाल चिकित्सक संघको कार्यालयमा यसको हब छ। त्यहाँ आएको पहिलो फोन मेडिकल अफिसर तथा हेल्थ असिस्टेन्टले उठाउँछन्। अन्य प्रश्न वा विशेषज्ञको परामर्श आवश्यक परेमा संघले कल फर्वाडिङ गर्छ।
यस्तै, कम्युनिकेसन इन्फरमेसनमा अस्पतालको अवस्था के छ, बेडको अवस्था के छ, औषधिको अवस्था के छ भनेर सबै पब्लिकमा ल्याउन पर्ने र एम्बुलेन्स तथा विभिन्न अस्पतालका संचालन, डाक्टर नर्सलाई थाहा हुनेगरी बिरामीलाई तुरुन्त रेफर गर्न आवश्य हुने गरी कम्युनिकेसन सेन्टर बनाउन एचइओसीलाई पनि सहयोग गरिरहेका छौं। केही स्टाफलाई सहयोग भएको छ। यसलाई अझै कसरी प्रभावकारी बनाउने भनेर पनि योजना बनाइदै छ।
अहिलेको महामारीको अवस्थाबाट कसरी निस्कने भनेर हामी सबैले सोच्नुपर्ने अवस्था छ। त्यसको लागि धेरै भन्दा धेरै परीक्षण गर्ने, पहिचान भएकालाई आइसोलेसनमा राख्ने काम गर्नुपर्छ। त्यो भयो भने चेन अफ ट्रान्समिसन बन्द हुन्छ। त्यो भएमात्र महामारी कन्ट्रोल हुन्छ।
भ्याक्सिन भयो भने महामारी कन्ट्रोल गर्न सहयोग पुग्छ। तर भ्याक्सिन नहुँदासम्म महामारी नियन्त्रण गर्न जनस्वास्थ्यको मापदण्ड पनि पालना नहुने हो भने सम्भव छैन। त्यसैले अबका दिनहरु अलि हाम्रो रिसोर्सहरु कसरी संक्रमण पत्ता लगाउने र कन्ट्रोल गर्ने भन्ने विषयमा काम गर्ने योजना छ।
फाउन्डेसनले लिक्विड अक्सिजन प्लान्ट जडान गर्न पनि सहयोग गरिरहेको छ। यसका लागि ९० हजार डलरको फन्ड छ। अहिले अक्सिजन प्लान्ट जडान नभइसकेको अवस्थामा त्यो सबै प्रयोग भइसकेको छैन। तर हाम्रो योजना त्यसमा नै खर्च गर्ने भन्ने छ। अर्को कुरा कल सेन्टरमा हामीले आफ्नै सर्भरमा कल तथा डेटा राख्ने गरेका छौं। त्यसको टेक्निकल तथा जनशक्तिमा १५ हजार डलर खर्च छ।
यस्तै हामीले ४० हजार डलर कन्सन्ट्रेटरहरुमा खर्च गर्ने योजना बनाएका छौं। अक्सिजन कन्सन्ट्रेटरमा फोकस गर्नुको कारण अहिले कोरोना संक्रमितलाई बचाउन सबैभन्दा उपयोगी उपचार नै अक्सिजन हो। हामी आफैं डाक्टर भएकाले पनि धेरै कोरोना संक्रमित देखियो, उपचार गरियो। अक्सिजन दिएर धेरै बाँचेको देखेर नेपालमा पनि अक्सिजन सहयोग गर्न सकियो भने धेरै मानिसको ज्यान बचाउन सकिन्छ भन्ने उदेश्यले पनि यो काम गरेका हौं।
यस्तै अमेरिका नेपाल फाउन्डेसनको उद्देश्य नेपालमा अक्सिजन प्लान्ट बनाउने पनि थियो। यो महामारीको समय पनि भएकाले एउटा बनिसकेको र एउटा बन्ने क्रम हुदा कोभिडको महामारी आइपुगेको छ। हामीले सबैभन्दा धेरै के मा खर्च गर्दा धेरै मान्छेको ज्यान बचाउन सकिन्छ भनेर हेर्दा अक्सिजनले भएकाले यसमा धेरै खर्च गरेका छौं।
हामीले गर्ने खर्च सानो स्केलको भएपनि हामीले लविङ गरेर युएसएआइडी लगायतका संस्थाले पठाउने सामानमा परीक्षण किट, अक्सिजन कन्सन्ट्रेटर, पिपिइ धेरै भन्दा धेरै पठाउन पर्छ भनेर यसमा बढी जोड दिएका छौं। अहिले नेपालमा टेष्ट निकै गर्नुपर्ने अवस्था छ। त्यसैले हामीले त्यसमा नै पहल गरिरहेका छौं। स्वास्थ्य सामग्रीहरु युएसएडले पठाउने गरिरहेका छ। सामानहरुमा अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, पिपिइ लगाएका सामग्रीहरु सपोर्ट भइरहेको छ।
हामीले कोभिड रिलिफको बारेमा सिनेटरसँग कुरा गरेर नेपालमा स्वास्थ्य सामग्री पठाउने विषयमा नेपाल सरकारसँग समेत कुरा गरेर छलफल भइरहेको छ। नेपाललाई सहयोग गर्ने यहाँको सिनेटरहरु सकारात्मक छन्।
सहयोगका लागि हामीले फेसबुकमार्फत र वेभसाइटमा पनि सहयोग संकलन गरिरहेका छौं। करिब २५ सयजना जनाले सहयोग पनि गर्नुभएको छ। अहिलेसम्म नेपाली ३ करोडभन्दा बढी सहयाेग रकम उठेको छ। हामीलाई जतिपैसा आउछ त्यति काममा प्रयोग गरिरहेका छौं। नेपालमा पनि एकजना स्टाफ मात्र तलबमा हुनुहुन्छ। अरु सबैले भोलिन्टयरको रुपमा काम गरिरहेका छौं।
कोरोनाको दोस्रो लहरमा हामीले अलि बढि अक्सिजनमा फोकस भयौं। हाम्रा केही साथिहरुले पिपिइ लगायतका अन्य सामग्री पनि संकलन गरेर नेपाल पठाउने गर्नु भएको छ। प्रत्येक हप्ता पिपिइहरु गइरहेको छ। अबका फ्लाइटमा अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर र टेष्ट किटहरु नेपाल पठाइन्छ।
हालै मात्र गार्डियन हेल्थ सिस्टमले ५० वटा भेन्टिलेटर सहयाेग गरेको छ। उक्त भेन्टिलेटर नेपाल पठाइँदै छ। एएनएमएफले ती भेन्टिलेटरको उचित तरीकाले धेरैभन्दा धेरै प्रयोग होस भनेर स्वास्थ्यकर्मीलाई तालिम दिने छ। राष्ट्रिय आविस्कार केन्द्रले ती उपकरणमा प्रयोगमा ल्याउन बायोमेडिकल इन्जिनियर उपलब्ध गराउने देखि सञ्चालनमा ल्याउन सहयोग गर्नेछ।
हाम्रो फाउन्डेसनमा आवद्ध धेरैजना चिकित्सक भएकाले हामीले कोभिडका बिरामी उपचार गर्ने मौका छ त्यसैले पनि यही सुझावको आधारमा अक्सिजनमा फोकस गरेका हौं।