काठमाडाैं- चीनले हुवे प्रान्तको उहानस्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोनाबाट संक्रमित नरहेकाे पुनः स्पष्ट पारेकाे छ।
अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर चीनमा कोरोनाको संक्रमण पुष्टि हुनुभन्दा केही हप्ता पहिले उहानस्थित प्रयोगशालाका तीनजनामा मिल्दोजुल्दो लक्षण देखिएको उल्लेख छ।
प्रयोगशालामा भएको दुर्घटनाबाट चुहावट हुँदै भाइरस मानिसमा सरेको हुन सक्ने आशंका पैदा भएपछि राष्ट्रपति जो वाइडेनलेले गएको हप्ता विस्तृत अध्ययन गरि ९० दिन भित्र प्रतिवेदन बुझाउन गुप्तचर निकायलाई आदेश थिए।
पछिल्लो पटक अमेरिकी गुप्तचर निकायको सूचनापछि उहानको समुद्री खाद्यान्न बजारबाट नभई प्रयोगशालाबाट भाइरस फैलिएको हुनसक्ने आशंका गरिएकाे छ।यसैबीच, अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फाउचीले चीनसँग उहानस्थित प्रयोगशालाका तीन अनुशन्धानकर्तासहित कूल ९ जना चिनियाँ नागरिकको स्वास्थ्य सम्बन्धी विवरण जारी गर्न माग गरेका छन्।
उनले सन् २०१२ मा चीनको युनान प्रान्तको तामा खानीमा रहस्यमय रोगका कारण मृत्यु भएका ६ मजदुरको स्वास्थ्य सम्बन्धी विवरण पनि माग गरेका हुन्।
तर, चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले शुक्रबार उहान इन्स्टिच्यूड अफ भाइरोलोजीमा सन् २०१९ को डिसेम्बर ३० भन्दा पहिले कोरोनाको कुनै जानकारी नरहेको दाबी गरेका छन्।
अहिलेसम्म सो प्रयोगशालाका एक कर्मचारी वा विद्यार्थीमा कोरोना भाइरसको संक्रमण नदेखिएको पनि उनले स्पष्ट पारेका छन्। स्वास्थ्य विवरणहरु प्रयोगशालाका कर्मचारी र शोधकर्ताहरुमा मात्रै सीमित गरिने भएकाले सार्वजनिक गर्न नसकिने उनले बताएका छन्।
यता, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयोजनमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले गरेको अध्ययनमा कोरोना प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको हुनसक्ने सम्भावना अति दुर्लभ रहेको बताएका छन्। यद्यपि, थप अध्ययन भने गर्नुपर्ने बताएको थियो।