काठमाडाैं- नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पारिने भएकाे छ। दैनिक काेराेना संक्रमण दरमा गिरावट आएपछि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्न लागिएकाे हाे।
दिल्लीमा पछिल्लो साता संक्रमणदर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ। दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति संक्रमित भएका थिए। यस्तै, ५० जनाकाे मृत्यु भएको थियाे। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार एक पत्रकार सम्मेलन गर्ने बताइएको छ।
सम्मेलनमा आगामी दिनमा बन्द बजारलाई केही खुकुलो पार्ने र कोरोनाको तेस्रो लहरलाई सामना गर्नका लागि आवश्यक तयारीबारे पनि सरकारी संयन्त्र तथा नागरिकलाई निर्देशन दिने बताइएको छ।
अधिकारीका अनुसार सरकारले जून ७ देखि बजार र अन्य गतिविधिहरूलाई सञ्चालनका लागि अनुमति दिन सक्दछ। सरकारले गत हप्ता उत्पादन तथा निर्माण क्षेत्रको प्रतिबन्धलाई अन्त्य गर्दै स्वास्थ्य सावधानीका साथ नियमित काममा फर्कन अनुमति दिएको थियो।
दिल्लीमा दोस्रो लहरको संक्रमण अत्यधिक बढेको भन्दै सरकारले यसै वर्षको अप्रिल १९ देखि लकडाउन आदेश जारी गरेको थियो।