काठमाडौं– काठमाडौंको पेप्सीकोलामा भाइ र बहिनीसँगै बस्दै आएका एक युवा विदेश जाने तयारीमा थिए। बिदेश जानका लागि उनले टेकुमा पुगेर कोरोना परीक्षण गराए। कुनै लक्षण नभएकाले रिपोर्ट नेगेटिभ आउने अपेक्षा थियो उनको। तर, रिपोर्ट पोजिटिभ आयो।
एउटा किचन र एउटा रुम लिएर भाइ र बहिनीसँगै बस्दै आएका ती युवा अन्यौलमा परे, ‘आफू संक्रमित भएँ, भाइबहिनीसँगै एउटै कोठामा कसरी बस्ने?’
अस्पतालमा भर्ना भएर बस्न उनमा कुनै लक्षण थिएन, कोठामा बस्न भाइ र बहिनीलाई पनि कोरोना सर्ने जोखिम थियो।
त्यसपछि उनले फोन सम्पर्क गरी नागार्जुन नगरपालिका रानीवन–१ मा रहेको कोभिड आइसोलेसन केन्द्रमा गए।
‘विदेश जान कोरोना परीक्षण गराएँ, रिपोर्ट पोजिटिभ आयो, मसँगै कोठामा दुईना भाइबहिनी पनि थिए,’ उनले भने, ‘भाइबहिनीसँगै बस्दा उनीहरुलाई कोरोना सर्ने जोखिम भएकाले म आइसोलेसन सेन्टरमा आएर बसेँ।’
आइसोलेसनमा धेरै संक्रमित नभएकाले अस्पतालहरुमा जस्तो त्रासपूर्ण वातावरण नभएको उनले सुनाए। ती युवा सो आइसोलेसन केन्द्रमा बसेको शुक्रबार ८ दिन पुरा भइसकेको छ।
कतिपय लक्षण नभएका संक्रमितहरु घरमै असहज तरिकाले बसिरहेको हुनसक्ने भन्दै उनले सो आइसोलेसन केन्द्रमा आएर बस्न सुझाव समेत थिए।
‘यहाँ आइसोलेसन बनेको छ भन्ने थाहा थियो त्यसैले म त यहाँ आएर बसें, म यहाँ बस्दा मेरो भाइबहिनीलाई कोरोना सर्न पाएन,’ उनले भने, ‘हामीजस्तो कोठा लिएर बस्नेलाई संक्रमण भएमा गाह्रो हुन्छ, यहाँ आएपछि मलाई ढुक्क पनि भएको छ, त्यसैले अरु व्यक्तिहरु पनि घरमै जोखिम मोलेर बसेका छन् भने यहाँ आउन आग्रह गर्छु।’
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको पहलमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सर्वाङ्ग स्वास्थ्य सदन सेवा केन्द्र प्रालिको सहयोगमा नागार्जुन नगरपालिका–१ ले आइसोलेसन केन्द्र बनाएको छ।
नेपाली कांग्रेसका नेता पौडेलले सामान्य लक्षण देखिएका वा होम आइसोलेसनमा बस्न सम्भव नभएका बिरामीका लागि आइसोलेसन केन्द्र तयार गरिएको बताए।
उनले केन्द्रमा हाल २७० बेड प्रयोगमा ल्याउन सकिने अवस्था रहेको र आवश्यक परे ३०० बेड सञ्चालन गर्न सकिने बताए।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बन्दै गएकाले होम आइसोलेसनमा रहेका बिरामीका लागि उपयुक्त हुने भनेर केन्द्र सञ्चालनमा ल्याइएको बताए।
‘हामीले १०० बेडमा अक्सिजन ब्याकअप सहितको आइसोलेसन सेन्टर बनाएका छौं, यहाँ विशेषगरी होम आइसोलेसमा बस्नुपर्ने सामान्य लक्षण भएका संक्रमितहरु जो घरमा बस्न सम्भव छैन उहाँहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याएका हौं,’ नेता पौडेलले भने, ‘विशेषगरी कोठा लिएर बस्ने विद्यार्थी, मजदुरी गरेर कोठामा बस्दै आएका परिवार वा होम आइसोलेसनमा बस्न सम्भव नभएका कुनै पनि संक्रमित आएर बस्न सक्छन्।’
उनले केन्द्रमा आउने संक्रमितलाई दिनमा ४ पटक खाजा तथा खानाको निःशुल्क व्यवस्था समेत गरिएको बताए।
यस्तै, केन्द्रमा आएर बस्न चाहने व्यक्तिहरुलाई निःशुल्क एम्बुलेन्स सेवा, नर्स र डाक्टरको चिकित्सकीय परामर्श समेत निःशुल्क गरिएको नेता पौडेलको भनाइ छ।
उनले होम आइसोलेसनमा बस्न सम्भव नभएका संक्रमितलाई लक्षित गरी आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएपनि संक्रमितहरु भने अपेक्षा गरेभन्दा कम आएको बताए।
‘काठमाडौंमा होम आइसोलेसनमा संक्रमितहरु बसिरहेका छन्, हामीले केन्द्र स्थापना भएपछि धेरै संक्रमितहरु आउँछन् भन्ने अपेक्षा थियो,’ उनले भने, ‘तर केन्द्रको क्षमता अनुसार संक्रमितहरु भने आइरहेका छैनन्।’
उनले होम आइसोलेसनमा व्यवस्थित रुपमा बस्न नसक्दा परिवारका सदस्यहरुमा पनि संक्रमण फैलिने भएकाले अस्पताल जान नपर्ने अवस्थाका बिरामीले उक्त केन्द्रमा बस्न सक्ने उनले बताए।
‘आइसोलेसन भन्ने वित्तिकै अव्यवस्थित भिड होला भन्ने सोचेर संक्रमितहरु जोखिम मोलेर घरमै बस्नुभएको हुनसक्छ,’ नेता पौडेलले भने, ‘तर, यहाँको आइसोलेसन केन्द्र व्यवस्थित छ, जो कोही संक्रमितलाई होम आइसोलेसनमा बस्न सम्भव छैन भने यहाँ आएर बस्न सक्नुहुन्छ।’
नेता पौडेलका अनुसार नागार्जुन नगरपालिकामा रहेको उक्त आइसोलेसन केन्द्रमा बस्न चाहने कोरोना संक्रमितले प्रकाश ज्ञवाली ९८४७३०००३४, रामचन्द्र लामा ९८४१३४८८६५, शान्ता लामा ९८४१७७२८४२, जुजुन लामा ९८०३६२५९४४, रामेशव लामा ९८५१०६३९०२, सुदिप लामा ९८६०७११५१९ र भरत पौडेल ९८५१२०८३३८ मा सम्पर्क गर्न सकिन्छ।