काठमाडाैं- भियतनाममा भेटिएको भनिएको कोरोनाको नयाँ ‘हाइब्रिड भेरियन्ट’ नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ।
भियतनामस्थित डब्लुएचओका प्रतिनिधिले यो भाइरस भारतमै भेटिएको डेल्टा भेरियन्टको प्रकार भएको दाबी गरेका छन्।
केही दिन अगाडि भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लङ्गले भारत र बेलायतको मिश्रणयुक्त ‘हाइब्रिड भेरियन्ट’ फेला परेको दाबी गरेका थिए। उनले हाइब्रिड भेरियन्ट अत्यन्त खतरनाक भएको र हावाबाट छिट्टै मानिसमा फैलिने पनि उनले बताएका थिए।
यद्यपि, उनको यो दाबीमा कुनै सत्यता नभएको डब्लुएचओका भियतनाम प्रतिनिधि किदोङ पार्कले बताएका छन्।
‘डब्लुएचको परिभाषाअनुसार अहिले भियतनाममा कोरोनाको कुनै हाइब्रिड भेरियन्ट छैन,’ उनले भने।
सन् २०१९ को अन्तिममा चीनको उहानमा पहिलो पटक फेला परेको भनिएको कोरोना भाइरस हजारौंपटक उत्परिवर्तन भएको पाइएको छ। यसका बेलायत र भारतीय भेरियन्ट ज्यादा खतरनाक भएको वैज्ञानिकहरुले जनाएका छन्।