काठमाडौं– दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण नेपाल नराम्रोसँग प्रभावित बनेको छ। पछिल्लो पटक भाइरसको संक्रमणका कारण कयौं परिवार प्रभावित बनिरहेका छन्।
कयौं परिवारका सबै सदस्य संक्रमणको सिकार बन्दै अस्पतालको शय्यामा रहँदा कतिपयले ज्यान गुमाइसकेका छन् तर त्यसबारे उपचाररत परिवारको सदस्यलाई जानकारी दिन सकिने अवस्था पनि नरहेको चिकित्सकहरु बताउँछन्।
संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले कोरोना भाइरस संक्रमणले गिजोलेका परिवारका दृश्य भन्दै केही दृश्यहरु सामाजिक सञ्जालमा राखेका छन्।
डा सुवेदीले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्–
अस्पतालमा एकै दिन देखिएका कोभिडले गिजोलेका परिवारका दृश्य
१. हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ। वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा। अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न डा साब भन्नुहुन्छ।
२. अर्का बा बिस्तारै तङ्ग्रिंदै हुनुहुन्छ। उहाँलाई पनि भाइको भर्खर मृत्यु भएको सुनाइएको छैन।
३. अर्का बा-आमा दुवैजनालाई कोभिड। एकजना कान पटक्कै नसुन्ने, अर्कोले बुझाइदिनुपर्ने। छोराको अर्को अस्पतालको आइसियुमा मृत्यु भएको खबर कान सुन्ने चाहिँलाई सुनाइयो। उहाँले जीवनसाथीलाई बताउन सक्नुभएन। २ दिनदेखि आँसु लुकाउँदै रोइरहनुभएको छ।
४. ५-६ दिनअघि डिस्चार्ज भएर जानुभएकी आमा ओपिडीमा फलोअपमा। रातभरि सुत्नुहुन्न भनेर छोरीले भन्छिन्। अरू लक्षण छैनन्। जाँच्दा सबै राम्रै छ। म उल्लू "आमा, अझै रोगदेखि डराइरहनुभएको छ कि? अब त डराउनुपर्दैन, अब बाँचियो है" भन्छु। आमाले "खै आफू मात्र बाँचेर के गर्नु बाबु, उहाँले छोडेर गइहाल्नुभयो" भन्दै बरर्र आँसु झार्नुहुन्छ। बा उहाँ अस्पतालमै हुँदै बित्नुभएको रहेछ।
महामारीको अघिल्लो उभारको बेलाको एउटा अनुभवः
दाइ उमेरका उहाँ। खासमा झन सिकिस्त उहाँकी श्रीमतीलाई पनि हाम्रै ईमर्जेन्सीमा ल्याइएको रहेछ। तर आइसियुमा बेड नभएकोले भाउजूलाई चाहिं अर्को अस्पतालमा रेफर गरिएको रहेछ। हरेक दिन राउन्डमा उहाँ मलाई लौन मेरी श्रीमतीलाई पनि यहीं आइसियुमा सार्न बेड मिलाइदिनोस् न भन्नुहुन्थ्यो। अन्यत्र बेडै नपाएका अरू सिकिस्त बिरामी पनि धेरै आइरहेका छन्, तिनलाई आइसियुमा प्राथमिकता दिनु परिहाल्छ, उता पनि तपाईंकी श्रीमतीको उपचार गर्ने राम्रो टिम होला, चिन्ता नलिनुहोस् भन्थें। निको भएर डिस्चार्ज हुने दिन दाइले भर्खर भाउजूको मृत्युको खबर पाउनुभएको रहेछ। रुँदै भन्नुभोः डा साब, तपाईंले उसलाई यहाँ आइसियुमा सारिदिनुभएको भए ऊ पक्कै बाँच्थी।
यस्ता बेलामा ती अथाह वेदनामा रहेकालाई के भन्ने? समवेदना- जुन "सम" कसैगरी हुनै सक्दैन- पनि कसरी दिने? त्यसको केही भेउ नपाएको, त्यस्ता अवस्थामा पूरै निरीह मजस्ताले कहिलेसम्म यस्तो सधैं फेल भइने, सधैं भाग्न मन लाग्ने जाँचमा परिरहनुपर्ने होला?
महामारीमा मेरा बिरामीका जस्ता कथा कति होलान्? स्वास्थ्यकर्मीहरूका फुकाउन मिल्ने नमिल्ने मनका गुजुल्टा कति होलान्? मैले त्यस बेला त्यसो गरेको भए पो बचाउन सकिन्थ्यो कि भन्ने कति कति थान "गिल्ट" सँगालिनेछन् होला महामारी सकिंदासम्म?