दिल्ली- भारतको दिल्लीराज्य सरकारले संक्रमितको उपचारको क्रममा कोरोना भाइरसबाट निधन भएका चिकित्सकका परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिने घोषणा गरेको छ।
दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवालले आइतबार पत्रकार सम्मेलनमार्फत् यस्तो घोषणा गरेका हुन्। उनले हालै कोरोना संक्रमणबाट निधन भएका डा अनास मुजाहिदको परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिएको समेत जानकारी दिएका छन्।
‘कोरोना महामारीमा दिनरात काम गर्ने स्वास्थ्यकर्मीहरू हाम्रो नायक हुन्। मुजाहिद जीटीबी अस्पतालका डाक्टर थिए। कोरोना संक्रमितको उपचारको क्रममा आफैं संक्रमित भएर उनले २६ वर्षको उमेरमा ज्यान गुमाए। उनको परिवारको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। आज उनको परिवारलाई भेटे र १ करोड सहयोग दिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
यस्तै, कोरोना संक्रमण नियन्त्रणमा नआएको दिल्लीमा लकडाउन फेरि एक हप्ताका लागि थप गरिएको छ। केजरीवालले मे ३१ बिहान ५ बजेसम्मका लागि लकडाउन थप भएको घोषणा गरेका हुन्।
दिल्लीमा लकडाउनले राम्रो प्रभाव पारेको उनको दाबी छ। लकडाउनकै कारण संक्रमणदर ३६ प्रतिशतबाट २।५ प्रतिशतमा आएको उनले जानकारी दिए।
‘अवस्था सुधार भए पनि कोरोनासँगको युद्ध जित्न बाँकी नै छ। त्यसका लागि अनुशासन कायम गर्नुपर्ने छ,’ उनले भने। यसैबीच केजरीवालले दिल्लीमा कोरोनाविरुद्धको खोपको अभाव रहेको पुनः दोहोर्याएका छन्।
‘दिल्लीसँगै देशभर नै खोप अभाव छ। पर्याप्त खोप पाएमा हामीले तीन महिनाभित्रै दिल्लीका सबै बासिन्दालाई खोप लगाउने योजना बनाएका छौँ,’ उनले भने।
दिल्लीमा खोप अभावकै कारण १८ देखि ४४ वर्षका मानिसलाई खोप दिने अभियान प्रभावित बनेको छ। यसअघि केन्द्र सरकारसँग पर्याप्त खोप उपलब्ध गराउन केजरीवालले अपील गरेका थिए।