लण्डन- कोरोना भाइरसको भारतीय भेरियन्ट B.1.617 विरुद्ध बायोएनटेक र फाइजर तथा अक्सफोर्ड र एस्ट्राजेनिका कम्पनीले बनाएको दुई खोप प्रभावकारी रहेकाे दावी गरिएकाे छ।
बेलायतमा गरिएको अध्ययनमा दुवै खोप भारतीय भेरियन्टविरुद्ध प्रभावकारी देखिएको बीबीसीले जनाएको हाे।
भारतीय भेरियन्टविरुद्ध फाइजर तथा बायोएनटेकको खोप ८८ प्रतिशत प्रभावकारी भएको देखिएको छ। साथै एस्ट्राजेनिका र अक्सफोर्ड खोप सोही अवधिमा ६० प्रतिशत प्रभावकारी देखिएको छ।
अध्ययनको नतीजाका अनुसार यीमध्ये कुनै पनि खोपको दुईवटा डाेज लगाएका व्यक्तिमा प्रभावकारी देखिएकाे बताइएकाे छ। दोस्रो डोज लगाएको दुई हप्तामा यो मात्राको प्रभावकारीता देखिएको समाचारमा उल्लेख छ।
यी दुवै खोपको दुवै डोज लगाइएका व्यक्तिमा डबल म्युटेन्ट मानिएको भारतीय भेरियन्ट सर्ने सम्भावना अत्यन्तै कम हुन्छ।
यद्यपि यस भेरियन्टविरुद्ध यी खोपहरूको एक डाेज तीन हप्तापछि मात्र ३० प्रतिशत प्रभावकारी देखिएकाे छ।
बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले यसलाई ठूलो उपलब्धि भएको बताएका छन्। ‘खोप लिने व्यक्तिहरुलाई अस्पतालमा भर्ना गरिएको थियो र हालसम्म कसैको मृत्यु भएको छैन,’ उनले भने।
५ अप्रिलदेखि १६ मेबीच भएकाे याे अध्ययनमा लगभग १२ हजार ६७५ संक्रमित सहभागि थिए।
यी मध्ये एक हजार ५४ जनामा B.1.617 भेरियन्ट पाइएकाे थियाे।