अछाम- जिल्लाको बयालपाटा अस्पतालमा हाइफ्लो अक्सिजनको ५ वटा बेड संचालनमा आएका छन्। कोरोना संक्रमण भएका जटिल खालका बिरामीको लागि चाहिने उच्च मात्राको अक्सिजन सहितको थप ५ बेड संचालनमा आएका हो।
कोरोना संक्रमित भई जटिल अवस्थामा रहेका बिरामीको लागि ५ र अन्य १५ वटा गरेर २० वटा बेड संचालनमा ल्याइएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा मन्दिप पाठकले बताए।
'बयालपाटा अस्पतालमा आफ्नै अक्जिन प्लान्ट छ,' निर्देशक पाठकले भने 'तर ति सबै आकस्मिक कक्ष, शल्यक्रिया कक्ष र अन्तरंग विभागमा प्रयोग हुँदै आएको थियो।'
अहिलेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै आकस्मिक कक्षलाई उच्च जोखिम जसको शरीरमा अक्सिजनको मात्रा कम छ ति कोरोना संक्रमितका बिरामीको लागि प्रयोग गरिने उनले बताए।
अस्पतालमा कोरोना संक्रमितको लागि रहेका अन्य १५ वटा आइसोलेसन बेडमा भने अक्सिजन कन्सन्टेटरको प्रयोग गरेर बिरामीलाई अक्सिजन दिने काम भइरहेको उनको भनाइ छ। बिरामीको अवस्था हेरेर कसलाई कुन मात्रामा अक्सिजन आवश्यक पर्छ त्यही आधारमा बेडहरु प्रयोग गरिने अस्पतालले जनाएको छ।
साँफेबगर नगरपालिकाको सहयोगमा अस्थायी आकस्मिक कक्ष निर्माण
बयालपाटा अस्पतालमा अस्थायी आकस्मिक कक्ष निर्माण गरिएको छ। हालको आकस्मिक कक्षलाई कोरोना उच्च जोखिम भएका बिरामीको लागि प्रयोग गरिने भएपछि अस्थायी आकस्मिक कक्ष निर्माण गरिएको अस्पतालले जनाएको छ।
अछाम जिल्लामा कोरोना संक्रमणको अवस्था हेरेर अक्सिजन प्लान्टबाट अक्सिजन जडित बेड भएको आकस्मिक कक्षलाई कोरोना संक्रमितको लागि प्रयोग गर्नुपर्ने भएकाले अस्थायी आकस्मिक कक्ष निर्माण गरिएको हो।
साँफेबगर नगरपालिकाको आर्थिक सहयोगमा अस्थायी आकस्मिक कक्ष निर्माण गरिएको अस्पतालले जनाएको छ।