काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड-१९)को महामारीसँग जुध्न नेपाललाई आपत्कालीन सहयोगको खाँचो रहेको जनाएको छ।
शुक्रबार नियमित प्रेस सम्मेलनमा बोल्दै डब्लूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले पछिल्लो समय नेपालसहितका अन्य केही मुलुकमा पनि संक्रमण र अस्पताल भर्ना दर ह्वात्तै बढेको बताए।
महानिर्देशक गेहब्रेयससले नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाईल्याण्ड र इजिप्टमा पनि आपत्कालीन सहयोगको खाँचो रहेको बताए।
‘भारतमा मात्रै हैन, नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाईल्याण्ड र इजिप्टमा पनि आपत्कालीन सहयोगको खाँचो छ,’ महानिर्देशक गेहब्रेयससले भने, ‘यी देशहरुमा अहिले संक्रमण र अस्पताल भर्ना हुने दर ह्वात्तै बढेको छ।’
पछिल्लो समय डब्लूएचओले भारतमा अक्सिजन कन्सनट्रेटर, घुम्ती अस्थायी अस्पताल निर्माणका लागि टेन्ट लगायतका स्वास्थ्य सामग्री पठाएको पनि महानिर्देशक गेहब्रेयससको भनाइ छ।
कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३३ लाखभन्दा बढीले ज्यान गुमाइसकेको उल्लेख गर्दै उनले पहिलोभन्दा दोस्रो लहर झन् घातक रहेको बताए।
महानिर्देशक गेहब्रेयससले केही अमेरिकी मुलुकमा अझै पनि कोरोना संक्रमण दर उच्च रहेको र गतहप्ता कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ४० प्रतिशत अमेरिकी क्षेत्रका रहेको बताए।
कोरोना संक्रमण बढ्दै जाँदा खोप आपूर्ति र व्यवस्थापन अहिले मुख्य चुनौतीको रुपमा रहेको पनि उनले बताए। न्यून आय र मध्यम आय भएका मुलुकहरुमा अहिले पनि खोप आपूर्ति सहज नभएको उनको भनाइ छ।
न्यून र मध्यम आय भएका मुलुकमा कोरोना संक्रमितको जीवन बचाउन दिनरात खटिरहेका स्वास्थ्यकर्मीले अहिले पनि खोप लगाउन नपाएको महानिर्देशक गेहब्रेयससले बताए।
यस्ता मुलुकमा अहिलेसम्म ०.३ प्रतिशत मात्रै खोप आपूर्ति हुनसकेको उनको भनाइ छ।