।१।
मेरो प्यारो साथी
तँलाई कोभिड-१९ लाग्यो भन्ने सुनें
अस्पताल भर्ना भइस् भन्ने पनि सुनें
मैले यत्रतत्र सबैलाई फोन गरें र भनें
ऊ मेरो बालसखा हो, राम्ररी हेरिदिनु है !
अनि पुकारें मनमनै तँलाई गाह्रो नहोस्
किनकी तँलाई साह्रो भयो भने,
म अहिले तेरो बेड छेउ जान सक्दिन
ए रुठे यता हेर भन्न सक्दिन
नभन्दै तीन दिनपछि तँ गइस्, अनि बल्ल
तेरो शरीरको तीन मिटर नजिक म गएँ
ट्वाल्ल परेका गुच्चा जस्ता आँखा हेर्दै
बचपनमा तँसँग गुच्चा खेलेको सम्झिएँ
मलाई माफ गर है ।
।२।
ए पल्लाघरे जीबा
स्कूल पढ्दा मलाई सधैं डाक्टर बनेस्
भन्नुहुन्थ्यो,
`बासँग पैसा छैन नि´ भन्दा `केहि त बन्छस्´ भन्नुहुन्थ्यो,
तर म डाक्टर भएको खुसीयालीमा
यो कोरोना कालमा, बिरामी नभईदिनुस् है !
हेर्नुहोस् न,हजुर बिरामी भएपनि
म हजुरको छेउमा आएर हात समात्दै अहिले `जीबा´ भन्न सक्दिन
हजुरको देहलाई केहि भयो भने
त्यो आशीर्वादको सराप लाग्नेछ
कृपया यो मासमा बिरामी नभईकन `जीबा मलाई कृपा गरिदिनोस्´ ।
।३।
ए मेरी माइली आमा
सधैं छोरो धेरै पढेर मास्टर भएस्
भन्नुहुन्थ्यो,
ट्यूसन पढाएर धेरै पैसा कमाएस्
भन्नुहुन्थ्यो
हिजो सुनें तपाईंलाई नि कोभिड भयो रे
सोधें अस्पतालहरुमा आइसियु वेड छैनन्
सम्झेँ तपाईँको धुवाँ र चुरोटले फुलाएको फोक्सो
सबैतिर चक्कर लगाएँ भेन्टिलेटर छैन
हुन त मास्टर भएस् भनेको डाक्टरै भा थें
तर माइलीआमाको लागि म केहि पनि भइन
तपाईँको अगाडि उभिने मसँग अब हिम्मत पनि छैन
किन यस्तो बेला बिरामी भयौ माइलीआमा
मलाई माफ गर ।
।४।
अस्पतालमा कोरोना रोगको ओथारो छ
बाहिर यत्रतत्र बिरामीको पसारो छ
वृद्ध बाआमा घरमा विश्वस्त छन् म भएकोमा
भाइबैनी मख्ख छन् दाइ डाक्टर भएकोमा
यता यो कोहोलोमा मसँग केहि छैन
औंसीका रातझैं कालरात्रिहरु देख्छु
हर बिहान बिरामीका आँसुले ओझिला छन्
हर साँझ मृतकका खबरले बोझिला छन्
बाआमा कृपया घरभित्रै थुनिनुस् है
कोभिडकालमा ज्यान रहे पनि
ज्यान गए पनि
म घरिघरि हजुरहरुको वरिपरि गर्न पाउने छैन
मलाई माफ गरिदिनुस् ।
।५।
डाक्टर हुनु र नहुनुको दोसाँधमा
नर्स हुनु र नहुनुको दोसाँधमा
किंकर्तव्यविमुढ छन् हाम्रा आवाज र लवजहरु
हे मेरा आफन्तजन, हे मेरा इष्टमित्रहरू
यो कोभिड कहरमा
मनको रहरमा यताउता नगर्नुस् है
कसैलाई केही भए हेर्नुस् न
मेरो फोनले काम नगर्न सक्छ
तपाईंले हितैषी सोचेकोले केही नगर्न सक्छ
मेरो अस्पतालले सेवा नगर्न सक्छ
हाम्रो देशले बाँच्ने अक्सिजन नदिन सक्छ
मलाई माफ गर्नुस् है ।
(डाक्टर पौडेल भरतपुर अस्पतालमा कार्यरत छन्।)