नयाँ दिल्ली- भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले ड्रग २-डीआँकसी-डी ग्लुकोज (२-डीजी) औषधिलाई कोरोनाविरुद्ध आपत्कालीन प्रयोगको अनुमति दिएको छ।
२-डिजीलाई डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ)को ल्याब इन्सिटिच्यूट अफ न्यूक्लियर मेडिसिनले डा रेड्डीज ल्याबरेटोरीको मद्दतमा तयार गरेको हो। यो औषधी धुलोको रुपमा पाइन्छ। जसलाई पानीमा घोलेर संक्रमितलाई पिउन दिइने छ।
यो औषधि कोरोना संक्रमितका लागि वैकल्पिक उपचार हुनेछ। सुरुवाती परीक्षणमा यसको प्रयोगले संक्रमितमा अक्सिजनको लेभलमा सुधार हुने पाइएको थियो।
यस्तै, पीसीआर रिपोर्ट चाँडो नेगेटिभ आएको थियो। यो औषधि मानिसको कोषिकासम्म पुगेर संक्रमणलाई फैलन रोक्ने बताइएको छ।
मे २०२० मा कोरोना संक्रमितमाथि २-डीजीको दोस्रो चरणको क्लिनिकल ट्रायल शुरु गरेको थियो। अक्टोबर २०२० सम्म चलेको ट्रायलमा २-डीजी सुरक्षित पाइएको थियो।
दोस्रो चरणको ट्रायल ए र बी फेजमा गरिएको थियो। यसमा ११० जना संक्रमित सहभागी थिए। फेज २-ए मा ६ अस्पताल थिए भने फेज २-बीमा ११ अस्पतालका संक्रमित सहभागी थिए।
त्यसपछि डिसेम्बर २०२० देखि मार्च २०२१ सम्म २२० जना संक्रमितमा तेस्रो चरणको ट्रायल गरिएको थियो।
यो परीक्षण दिल्ली, उत्तरा प्रदेश, पश्चिम बंगाल, गुजरात, राजस्थान, महाराष्ट्र, आन्ध्र प्रदेश, तेलंगाना, कर्नाटक र तमिलनाडुका २७ अस्पतालमा गरिएको थियो।
परीक्षणको तेस्रो दिनमा नै संक्रमितको अक्सिजनमाथिको निर्भरता ४२ प्रतिशतबाट घटेर ३१ प्रतिशत भएको थियो। यो औषधिले ६५ वर्षमाथिका बिरामीमा पनि सकारात्मक प्रतिक्रिया दिएको दाबी गरिएकाे छ।