अछाम - जिल्लाको बयालपाटा अस्पतालमा कोभिड १९ का बिरामीको समेत उपचार भइरहेको छ। नियमित अछाम, बाजुरा, डोटी लगायतका सुदूरपश्चिमका अन्य र कर्णाली समेतका केही जिल्लाका बिरामीलाई नि:शुल्क स्वास्थ्य सेवा दिइरहेको अस्पतालमा हाल कोभिड १९ का बिरामीको पनि उपचार भइरहेको अस्पतालले जनाएको छ।
सकारले कोभिड वषिेश अस्पताल नतोके पनि जिल्लाबाट उपचारका लागि आएका बिरामीमा कोरोना संक्रमण पाइएपछि अस्पतालमै उपचार सेवा दिइएको अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा मन्दिप पाठकले बताए।
'अन्य उपचारका लागि बिरामी अस्पताल आउँछन् तर लक्षण हेर्दा कोरोनासँग मिल्दोजुल्दो हुन्छ,' डा पाठकले भने 'उनीहरुको एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टी हुन्छ, ति बिरामीहरुलाई अस्पतालमै आइसोलेसन बनाएर उपचार गरिरहेका छौँ।'
केही दिन पहिले मात्र डोटीको दिपायल सिलगढी नगरपालिका-४ का ४७ वर्षीय बिरामीको खुट्टको सफल शल्यक्रिया भएको छ। उनी खुट्टामा घाउ पाकेपछि उपचारको लागि बयालपाटा असपताल पुगेका थिए। उनको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा पोजिटिभ देखायो। डा मन्दीप पाठकको टोलीले उनको सफल शल्यक्रिया गरे।
'उनको खुट्टमा संक्रमण फैलिएर रगतनली बन्दभई खुट्टा मरिसकेको अवस्थामा थियो,' डा पाठकले भने, 'हामीले जोखिममोलेर भएपनि उनको शल्यक्रिया गर्यौँ।' छुट्टै अप्रेशन कक्ष बनाएर उनको शल्यक्रिया गरिएको र हाल उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको डा पाठकले बताए ।
डोटीबाट उपचारकै लागि अछाम पुगेका ती बिरामीले सफल शल्यक्रिया भएपछि आफू निको हुनेमा विश्वस्त रहेको बताए।
हाल जिल्लामा कोरोनाको संक्रमण बढेपछि अस्पतालमा बहिरंग सेवा बन्द भएपनि फिबर क्लिनिक, आकस्मिक र अन्तरंग सेवा सुचारु छ। अस्पतालले आकस्मिक सेवासंगै कोरोना बिरामीको पनि उपचार गरिरहेको छ। अस्पतालमा हाल १० जना कर्मचारीसंगै ४ जना कोरोना संक्रमित र ३ जना कोरोनाकै संकास्पद बिरामीको उपचार भइरहेको छ।
सरकारले देशका सिमित मात्र अस्पताललाई कोभिड विशेष अस्पताल भनेर घोषणा गरेको छ। तर बयालपाटा अस्पताललले भने आफ्नै स्रोत साधन र साँफेबगर नगरपालिकाको सहयोगमा कोरोनाका बिरामीलाई उपचार गरिरहेको छ।