नयाँदिल्ली- भारत सरकारले तीव्र गतिमा काेराेना संक्रमण बढ्नुमा डबल म्युटेन्ट भेरियन्ट मुख्य कारण रहेकाे बताएकाे छ। यसअघि भने सरकारले बी १६१७ भेरियन्टको संक्रमण त्यति नरहेको बताएको थियो।
नेशनल सेन्टर फर डिजिज कन्ट्रोलका प्रमुख सुजीत कुमारले विभिन्न राज्यमा काेराेना संक्रमण बढ्नुमा बी १६१७ भेरियन्ट कारक रहेको बताए। यद्यपि, याेभन्दा पहिले सरकारका शीर्ष वैज्ञानिकले दोस्रो लहरमा त्यसको सम्बन्ध नरहेको दाबी गर्दै आएका थिए।
भारतमा सुरुको केही समय युके भेरियन्ट देखिएको थियो। तर अहिले धेरै राज्यमा कोरोनाको स्थानीय भेरियन्टको संक्रमण देखिएको छ,' उनले भने। तर, याे सम्बन्ध थप स्पष्ट पार्न अनुसन्धानको खाँचो रहेको उनी बताउँछन्।
यस्तै उनले भारतमा कोरोना संक्रमणको तेस्रो लहर पनि आउन सक्ने बताए। भारतमा अहिले युके, ब्राजिल र दक्षिण अफ्रिका भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ।
कोरोना महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ। सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९८० जनाको मृत्यु भएको हो।
योसँगै भारतमा मृत्यको संख्या दुई लाख ३० हजार १६८ पुगेको छ। भारतमा पछिल्लो एक दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएको पाइएको छ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा देशभरी गरेर कुल चार लाख १२ हजार २६२ जना संक्रमित भएको जानकारी दिएको छ। एकै दिनमा यति धेरै संक्रमित भएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले जनाएका छन्।
भारतमा अहिलेसम्म कुल दुई करोड १० लाख ७७ हजार ४१० जना संक्रमित भएका छन्।
पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २९ हजार ११३ जना संक्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या एक करोड ७२ लाख ८० हजार ८४४ पुगेको छ।
भारतमा अहिले पनि ३५ लाख ६६ हजार ३९८ जना संक्रमित भइरहेकै अवस्थामा रहेका छन्। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार यही मे ५ तारिखसम्ममा भारतमा २९ करोड ६७ लाख ७५ हजार २०९ कोभिडको नमुना परीक्षण गरिएको छ। ती मध्ये १९ लाख २३ हजार १३१ जनाको बुधबार परीक्षण गरिएको हो।
भारतमा अहिलेसम्म १६ करोड २५ लाख १३ हजार ३३९ मात्राको खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ। भारतमा कोरोनाको परीक्षण र खोप अभियान एकातिर चलिरहेको छ भने अर्कोतिर संक्रमित भएका र मृत्यु भएकाहरुको संख्या पनि दिन प्रतिदिन बढ्दो छ।